दाङ–‘जय देवी भैरबी, दर्शन देऊ है माता’ बडा दसैंमा सारंगीको धुनसँगै गाइने दुर्गा स्तुति ‘मालश्री’ आजभोलि बज्न छोडेको छ। नवदुर्गा सुरु भएपछि घरटोल, शक्तिपीठ तथा देवीस्थलहरुमा गुन्जिने मालश्री गीतले सबैलाई मन्त्रमुग्ध बनाउँथ्यो।
_x000D__x000D_
असत्यमाथि सत्यको विजय भएको मान्यताअनुसार परापूर्वकालदेखि नै शक्तिपीठ तथा हिन्दु धर्मालम्वीहरुको घरआँगनमा बज्ने मालश्री गीत र मंगलधुन आजभोलि बिरलै सुन्न पाइन्छ ।
_x000D__x000D_
गन्धर्वहरुहरुले सारंगी बजाउने पेसा छोडेसँगै मालश्री धुन पनि लोप हुँदै गएको हो। सारंगी बोकेर गाँउटोलमा घुम्ने गन्धर्व अहिले पेसाबाटै टाढिंदै गएका छन्।
_x000D__x000D_
अहिले हरेक नेपालीको घरआँगनमा वडा दसैं भित्रिसकेको छ। दसैंको घटस्थापनादेखि नवमीसम्म घरघरमा मालश्री गाउन आइपुग्ने गन्धर्वहरु अहिले देख्न पनि मुस्किल छ।
_x000D__x000D_
पहिले–पहिले दसैंका बेला मात्र गाँउ घुमेर उठाएको अन्नले महिनांै खान पुग्ने भए पनि अहिले समय र परिस्थितिले पेसा नै परिवर्तन गर्नुपरेको गन्धर्वहरुको भनाइ छ।
_x000D__x000D_
केही वर्ष अघिसम्म दाङका विभिन्न स्थानमा गन्धर्वहरु मालश्री गाउँदै गाउँ–सहर डुल्ने गर्थे। अहिले परम्परा र संस्कृति जोगाउँदै केही गन्धर्वले मालश्री गाउने गरेको भेटिए पनि सुन्नेले चासो नदिने भएकाले पेसा छोड्दै गएको घोराही– ११ का ५२ वर्षीय पदम गन्धर्वको अनुभव छ।
_x000D__x000D_
ग्रामीण क्षेत्रमा सारंगी र यसको महत्व बुझ्ने मानिसको कमी हुनु र युवापुस्ता आयआर्जनका लागि बाहिरिनु यसको प्रमुख कारण भएको गन्धर्व अगुवाहरुको बुझाइ छ।
_x000D__x000D_
पदम भन्छन्, ‘बाबु–बाजेले सिकाएको जेजस्तो थियो, त्यसैले काम चलाउँदै आइरहेका थियौं। अहिले आधुनिक बाजागाजा आइसके, रेडियोमा सुन्छन्, त्यही भएर परम्परा लोप हुँदै गएको छ।’
_x000D__x000D_
_x000D__x000D_
आधुनिक सञ्चारका साधनको पहुँच नहुने बेलासम्म गाउँका मानिसलाई समाचार र मनोरञ्जन दिने माध्यम बनेका गन्धर्व अहिले विद्युतीय मनोरञ्जनका साधनको विकाससँगै हराउन थालेका छन्।
_x000D__x000D_
मज्गै नयाँगाउँका चित्रसिंह गन्धर्वलाई आफ्नो परम्परागत पहिचान हराउन थालेको चिन्ता लागेको बताउँछन्। ‘हाम्रो पालासम्म मालश्री गाउन जाने, गाँउघरमा सारंगी बजाउने थियो। तर अहिले धेरै फेरिएको छ।’ समाजमा आएको परिवर्तन र गाउँका युवाहरु रोजगारीका लागि बाहिरिन थालेपछि पेसा जोगाउन मुस्किल परेको उनी बताउँछन्।
_x000D__x000D_
‘गाँउका धेरै युवाहरु कमाइ गर्न कालापहाड (विदेश) गइसके, गाउँमै बस्नेहरुले पनि सारंगी बोक्न पनि लाज मान्छन्, अनि कसरी र कसले बजाउने सारंगी?’ चित्रसिंहले भने, ‘केही केटाहरु काठमाडौंमा होटल र गीत रेकर्ड गर्ने ठाँउमा बजाउँछन्, तिनैले इज्जत धानेका छन्।’
_x000D__x000D_
दाङको घोराही उपमहानगरपालिका वडा नं. १४ मा रहेको नयाँ गाँउमा मात्र ७५ घरपरिवार गन्धर्व बस्दै आएका छन्। प्रायः घरमा सारंगी भए पनि बजाउने मान्छे भने पाउन मुस्किल हुन्छ।
_x000D__x000D_
दाङका विभिन्न स्थानमा रहेका केही गन्धर्व युवाहरु दोहरीसाँझ, रेकर्डिङ स्टुडियोहरुमा आफ्नो पेसा बचाए पनि अधिकांश युवाहरु अन्य पेसामा लागिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।