काठमाडौं– सबैतिर दसैंको रमझम छ। काठमाडौं कर्मथलो हुनेहरू दसैं मनाउन घर फर्किरहेका छन्। जागिर गर्नेहरूको लागि घर जाने उपयुक्त समय दसैं हो। राजधानी बसेर व्यापार व्यवसाय गर्नेको लागि भने दसैं आम्दानीको सिजन बनेको छ। व्यापारको आसमा नवमीको दिनसम्म उनीहरू व्यवसायमा तल्लीन हुन्छन्। ठमेलमा कपडाको व्यापार गरिरहेका काभ्रेका राजेश सापकोटा भन्छन्,‘दसैंमा अन्य समयभन्दा बढी आम्दानी सकिन्छ।’
_x000D__x000D_
यही आयस्रोतले दसैं खर्च टार्न समस्या नहुने सापकोटा जस्ता व्यवसायी बताउँछन्।
_x000D__x000D_
आम्दानी हुनेका लागि यो उत्सवको समय नै हो। तर, ठमेलको भित्री बजारमा रिक्सा चलाइरहेका रिक्सा चालकलाई भने दसैं आतंकले सताइरहेका छ।
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
निजगढ घर भएका ५८ वर्षीय धनबहादुर खत्री ३८सालदेखि ठमेलमा रिक्सा चलाइरहेका छन्। जब हरेक साल दसैं आउँछ उनी कुनै गह्रुंगो भारीले थिचेको महसुस गर्छन्। ‘रिक्सा चलाएर आफैंलाई खान नपुग्ने अवस्था आएको छ। यस्तो बेलामा दसैं कसरी मान्नु,’ उनी भन्छन्,‘हामीजस्ताको लागि दसैं नआएको बेस।’
_x000D__x000D_
पछिल्लो समय रिक्साबाट हुने कमाइ घट्दै गएको उनी बताउँछन्। उनी दिनको १८ घन्टा रिक्सा लिएर डुल्छन्, हरेक रात अनिँदो बसी यात्रुको प्रतीक्षामा हुन्छन्। ‘कहिलेकाहीँ त रिक्सा साहुलाई भाडै बुझाउने पैसा पनि उठ्दैन,’उनी दुःखेसो पोख्छन्।
_x000D__x000D_
केही वर्षपहिले रिक्सा चढ्नेहरू प्रशस्त हुन्थे। त्यो समयमा उनले राम्रै कमाएका पनि थिए। तर, पछिल्लो समय सवारीसाधनहरूको संख्या बढ्दै गएपछि भने रिक्साको कमाइ शून्य भएको उनी बताउँछन्। ठमेलमा चौबीसै घन्टा मानिसको भिड हुन्छ। त्यसमाथि साना गाडी र मोटरबाइक गुडिरहँदा रिक्सा गुड्ने ठाउँ हुँदैन। अझ ट्राफिक प्रहरीको अत्याचार भने वर्षौँदेखि भोग्दै आएको उनको गुनासो छ। उनी भन्छन्, ‘ट्राफिकहरूले त रिक्सा चलाउनै दिँदैनन्, अझ बाहिरी रोडमा निस्क्यौँ भने पेसिन्जर पनि ओरालिदिन्छन्।’ ट्राफिककै कारणपनि रिक्सा चलाउन झन्झन् कठिन बन्दै जाने उनको दुखेसो छ।
_x000D__x000D_
_x000D__x000D_
रातको समय रिक्सा चलाउँदा ठूलो जोखिम मोल्नुपर्छ। उनी पट पटक पकेटमारबाट लुटिएका छन्। धेरैपल्ट आक्रमणको सिकार भएका छन्। ‘केही समयअघि मेरो चाबी र पैसा लुटियो, मलाई आक्रमण हुँदा कान र नाकमा घाउ भयो। पुलिसलाई भन्दा कुनै उद्धार हुँदैन’, उनी रातको विभत्स पीडा सुनाउँछन्,‘त्यतिबेला पनि ठमेलमा मानिसको आवतजावत भइरहन्छ, कमाइ हुन्छ भन्ने आशले रिक्सा चलाउँदा आफू लुटिनुपर्छ।’
_x000D__x000D_
दसैं आइरहँदा आफूलाई भने गुजाराकै समस्याले पोलिरहेको उनी सुनाउँछन्।
_x000D__x000D_
उसो त यो उनको मात्र दुःख होइन। यहाँको ४ सय ७२ रिक्सा चालकको साझा दुःख हो।
_x000D__x000D_
ओखलढुंगा घर भएका ४२ वर्षीय राम बुढाथोकीको पनि उस्तै पीडा छ। ५० सालदेखि रिक्सा चलाइरहेका उनी केही वर्षयता भने आजित छन्। रिक्सा चलाउन सुरु गर्दाताका रिक्सा चढ्नेहरूकै भिड हुन्थ्यो। ट्राफिकको हेपाइ पनि सहनु पर्दैन थियो। अन्य सवारी निकै कम थिए, त्यतिबेला पार्किङको पनि समस्या थिएन। तर, अहिले यी सबै समस्याको थुप्रोले उनलाई सताउने गर्छ।
_x000D__x000D_
‘बल्लबल्ल पाएको यात्रुलाई पनि ट्राफिकले झार्न लगाउँछ, उनीहरूको कुनै नियम छैन,बाहिरी रोडहरूमा चल्न दिँदैनन्, राम्रो पार्किङको व्यवस्था पनि छैन। कतै रोक्न दिँदैनन्,’उनी गुनासो गर्छन्,‘हामीजस्ता गरिबको पीडा न प्रहरीले बुझ्न न सरकारले नै।’
_x000D__x000D_
नेपालमा गाडी आउनुभन्दा पहिले रिक्साको प्रचलन थियो। तर, अहिले प्रशस्त गाडी हुनाले रिक्सालाई सरकारले विस्थापित गर्न खोजेको उनको गुनासो छ। एकदिन उनले बौद्धबाट गेस्ट लिएर आउँदा बीच बाटोमा ट्राफिकले रोकेर रिक्सा चल्न दिएन। यात्रुलाई अलपत्र बनायो। वरपरका पसल, ट्राफिक प्रहरी, अन्य गाडी मोटरबाइक यी सबैको चेपाइमा आफूहरू परेको उनको अनुभव छ।
_x000D__x000D_
रिक्साचालकहरूको समिति भएपनि आफूहरूको पीडालाई बेवास्ता गरेको उनी बताउँछन्। भन्छन्,‘समिति छ तर हाम्रो हितमा कुनै काम गरेको छैन।’
_x000D__x000D_
देशमा संघीयता आयो, स्थानीय सरकार पनि आयो। तर, उनको दुःखमा भने कमी आएन, झन् बढिरह्यो। बरु कति पटक रिक्सा प्रहही चौकीबाट ल्याउनुपर्यो, कतिपल्ट प्रहरीको भाटा खानुपर्यो। तर पनि हुन्छ भन्ने आशले पेसालाई निरन्तरता दिन उनी बाध्य छन्।
_x000D__x000D_
रिक्सामा चढ्ने पर्यटकको संख्या बढी हुन्थ्यो। तर, पछिल्लो समय पर्यटक पनि कम चढ्नाले दानापानी नै बन्द हुने अवस्था आएको छ। ‘धेरै सवारी भित्रिए, त्यसमाथि भित्री गल्ली हिँड्नुपर्दा पहिले हामीलाई सोधेर जानुपर्ने ठाउँमा जान्थे, तर अहिले त इन्टरनेटले कता जाने हो सबै बताउँछ।’उनी पर्यटक यात्रु घट्नुको कारण बताउँछन्।
_x000D__x000D_
दसैंको माहोलमा पनि उनी चिन्तित छन्। किनकि कमाइ नहुनु उनको प्रमुख चिन्ता हो। ‘कमाइ नहुनेका लागि दसैं दशा हो,’उनी भन्छन्।
_x000D__x000D_
नुवाकोट घर भएका ४० वर्षीय कृष्णबहादुर तामाङको पनि पीडा उस्तै छ। पुलिसले लखेट्ने र रिक्सा चलाउन नदिने सबैको प्रमुख समस्या हो। अरुजस्तै कृष्णलाई पनि यसपालि दसैं मनाउन समस्या छ। कमाइ नहुनाले छोराछोरीलाई कसरी चित्त बुझाउने भन्ने उनको पिरलो छ।
_x000D__x000D_
अर्का चालक विष्णु कार्की पनि दसैंबाट तर्किरहेका छन्। ३२ वर्षदेखि रिक्सा चलाइरहेका ५६ वर्षका उनी रिक्साबाट बाँकी आशा देख्दैनन्। ‘पेसा छाडेर अरु गर्ने सिप पनि छैन। यही पेसामा पनि कमाइ खान नदिने भए,’ उनी पीडा सुनाउँछन्।भन्छन्, ‘सरकारले हामीलाई काम गर्ने वातावरण मात्र दिए हुन्थ्यो। हामी खुसी साथ काम त गर्न पाउँथ्यौँ।’
_x000D__x000D_
उनी दसैंमा रमझम गर्ने अवस्था नभएको बताउँछन्। दसैंमा खर्च गर्नपनि ऋण गर्नुपर्ने उनको बाध्यता छ।‘यसपालि परिवारलाई केही किनिदिनुपर्छ भनेर ८ हजार सापटी मागेको छु। दसैं यसै ऋणले मनाउनुपर्ला,’ निराश हुँदै उनले सुनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।