ad

प्रदेश १ को नाम र राजधानी संसदकाे हिउँदे अधिवेशनबाट तय हुने

नेपाल लाइभ

Nepal Live

विराटनगर– प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नाम र राजधानी प्रदेश संसदको हिउँदे अधिवेशनबाट तोकिने बताएका छन्। मुख्यमन्त्री राईले भने, ‘प्रदेशको नाम र स्थायी राजधानी सबै राजनीतिक दलको सहमतिमा संविधानको मर्मअनुसार आगामी हिउँदे अधिवेशनबाट निर्णय गरिने छ।’

प्रदेशको यातायात पूर्वाधार विकास मन्त्रालयअन्तर्गत यातायात पूर्वाधार विकास निर्देशनालयको सुनसरीको इटहरी–४ हलगाँडामा स्थापित कार्यालयको आज उद्घाटनका क्रममा राईले प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणमा यस वर्ष ६ अर्ब खर्च गर्ने बताए।

उनले प्रदेश सरकारले आफ्नो बजेटको ४० प्रतिशत प्रदेशको पूर्वाधार निर्माणमा खर्च गर्ने बताए। उनले फराकिलो र गुणस्तर सडक एवम् मोटर चल्ने र झोलुङ्गे पुल निर्माण गरी जनताको सेवासुविधामा ध्यान दिनुपर्नेमा प्रदेश सरकारको विशेष जोड रहने पनि स्पष्ट पारे।

मुख्यमन्त्री राईले प्रदेशलाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त बनाउन सबैको सहयोग आवश्यक रहेको बताउँदै निर्देशनालयलाई प्रदेश सरकारको बजेट र नीति तथा कार्यक्रमअनुसार जनतालाई केन्द्रविन्दुमा राखी कार्य गर्न निर्देशन दिए।

सो अवसरमा प्रदेशसभाका सदस्य सर्वध्वज साँवा र कार्यालयका निमित्त प्रमुख राजेशप्रसाद घिमिरेले सङ्घीयताबाट जनताले आफ्नै घरदैलामो सेवा प्राप्त गर्न सकेकामा खुसी व्यक्त गरे।

प्रदेशका मुख्यसचिव केदार न्यौपानले धुले, हिले र असारे विकासबाट प्रदेश सरकार मुक्त हुने विश्वास दिलाए।

इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरी र प्रदेश यातायात पूर्वाधार भौतिक मन्त्रालयका सचिव सागर राईले प्रदेशका २ सय ५० र सङ्घीय १ हजार योजना तयार भई प्रदेशभित्र निर्माण सुरु हुने जानकारी दिए।

नवस्थापित निर्देशनालयले प्रदेशका १४ जिल्लामा सडक तथा मोटर सञ्चालन हुने पक्की र झोलुङ्गे पुल निर्माणका लागि योजना स्वीकृति, बजेट निकासा, अनुगमन, निरीक्षण र नियमन आदि कार्य गर्नेछ। रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


पढ्नै पर्ने