काठमाडौं– चर्चामा रहेको काठमाडौं क्षेत्र नम्बर ७ को उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य बामदेव गौतमको उम्मेदवारी पार्टी र स्वयम्का लागि आत्मघाती हुने भएपछि अन्ततः उनी पछि हटेका छन्।
_x000D__x000D_
तल्लो तहको पार्टी एकीकरणको प्रक्रिया टुंग्याउनका लागि सोमबार बसेको सचिवालय बैठक विषयान्तर भएर गौतमको उम्मेदवारीमा केन्द्रित भएको थियो। काठमाडौं ७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले गौतमका लागि बाटो खाली गर्दै दिएको राजिनामाको पत्र सचिवालयमा प्रवेश भएपछि पार्टी एकताको प्रक्रियामा छलफल नै नगरी बैठक टुंगिएको थियो।
_x000D__x000D_
प्रचण्ड स्वार्थ
_x000D__x000D_
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गौतम र मानन्धरको पूर्व तयारी पार्टीका शीर्ष तहका नेताहरुलाई जानकारी नै थिएन। अन्ततः प्रचण्ड–वामदेवको स्वार्थ असफल सिद्ध भयो। पूर्व एमालेमा तुलनात्मक रुपमा प्रचण्डको सम्बन्ध अन्य नेतामा भन्दा बामदेवसँग निकट रहेको छ। जनयुद्धकालमा प्रचण्डले वामदेवसँग युद्ध प्रभावित जिल्लामा पटक–पटक भेटेका पनि थिए।
_x000D__x000D_
पार्टी एकिकरणको समयमा भएको ४ बुँदे भद्र सहमति अनुरुप प्रधानमन्त्रीको पालो प्रचण्डले कुरिरहेका छन्। प्रधानमन्त्रीको पदमा पुग्नका लागि पनि उनले गुट बलियो बनाउनुपर्ने अवस्था छ। एकीकरण प्रक्रिया टुंगिएपछि उत्पन्न हुने समूहमा उनले गौतमको साथ खोजेका छन्। पूर्व मालेका अध्यक्षसमेत रहेका बामदेवसँग पार्टीको एउटा खेमा रहेकाले प्रचण्ड उनलाई नजिक बनाउन चाहन्छन्।
_x000D__x000D_
पूर्व एमालेमा संस्थापन र इतर समूहको आ–आफ्नै अस्तित्व रहेकाले बामदेवलाई आफ्नो पक्षमा ल्याई आफ्नो समूह बलियो बनाउने तयारीमा प्रचण्ड देखिन्छन्।
_x000D__x000D_
सर्वत्र आलोचना
_x000D__x000D_
एकाएक सचिवालय बैठकमा नयाँ विषयले प्रवेश पाएपछि रक्षामन्त्री ईश्वर पोखरेलले आपत्ति जनाएका थिए। पार्टीको मूल नेतृत्वको जानकारीबिनै मानन्धरको राजीनामा आएपछि पार्टीमा तरंग पैदा भएको थियो। गौतमको रहरले पार्टीलाई क्षति पुग्ने निचोड निकाल्दै बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल र पोखरेलले खुलेर विरोध नै गरे। पार्टीका अर्का नेता भिम रावलले पनि वर्तमान परिस्थितिमा गौतमका लागि उपनिर्वाचन गर्न अनुपयुक्त रहेको अभिव्यक्ति दिए।
_x000D__x000D_
निर्वाचनमा सँगसँगै खटिएका निर्वाचन परिचालन कमिटिका सदस्य तथा विजयी प्रदेश सदस्यहरुलाई जानकारी नै नदिई मानन्धरले हठात् निर्णय गरेका थिए। मानन्धरसँग रुष्ट प्रदेश सदस्यहरुले उप–निर्वाचनमा बामदेव पराजित हुने स्थानीय परिवेश प्रधानमन्त्रीलाई जानकारी गराएपछि घटनाले नयाँ मोड लिएको थियो। प्रदेशसभा सदस्य वसन्त मानन्धर र प्रकाश श्रेष्ठले आफूहरुसँग मानन्धरले परामर्श नगरेको प्रधानमन्त्रीलाई बिफ्रिङ गरेसँगै बामदेव पछि हट्न बाध्य हुनुपरेको थियो। प्रदेश सदस्यद्धयले बुधबार प्रधानमन्त्रीलाई भेटेका थिए।
_x000D__x000D_
सचिवालयमा असन्तुष्टि, निर्वाचन क्षेत्रमा पराजय हुने तथ्य प्रस्तुत तथा स्थानीय नेताहरुले असहयोग गर्ने निचोड निकाल्दै बामदेवले आत्मघाती कदम चालेनन्। पार्टीसँगै आम सर्वसाधारण र सामाजिक सञ्जाल गौतमका विरुद्धमा खरो उत्रिएको थियो।
_x000D__x000D_
पराजयलाई असहज लिएका गौतमको पहलले राम्रो संकेत नगरेको महासचिव पौडेलको तर्क छ। गौतमलाई प्रतिनिधिसभामा ल्याउन चाहेपनि समय अनुकूल नभएको पौडेलले बताएका छन्।
_x000D__x000D_
मानन्धरलाई राजीनामा गराउने क्रममा भएका अदृश्य सहमतिको पनि पार्टीमा विरोध भएको थियो। मानन्धरलाई केन्द्रीय सदस्य, राष्ट्रियसभा सदस्य र मन्त्री बनाउने आश्वासन दिएको बताइएको थियो। प्रचण्ड र बामदेवसँग भएको सहमतिको आडमा मानन्धरले पूर्ण आत्मविश्वासका साथ सांसद पद त्याग्न तयार भएका थिए। पद त्यागको घोषणा गर्दा पनि उनी खुसी देखिन्थे।
_x000D__x000D_
नेवार समुदायको मतले निर्वाचन जित्न सकेका मानन्धरलाई स्थानीय मानन्धर गुठीले सम्मान फिर्ता गर्ने निर्णयसमेत गरेको थियो। नेवार समुदायको मतले निर्वाचन जित्ने आशामा रहेका गौतमलाई स्थानीयले असहयोग गर्ने देखेपछि बामदेवको असफल प्रयासलाई रोकिएको हो।
_x000D__x000D_
बामदेवको ‘बालहठ’
_x000D__x000D_
बर्दिया–१ बाट अप्रत्यासित पराजय भोगेका बामदेवलाई हार स्विकार्न कठिन भएको थियो। बामदेवले सचिवालयको बैठकमा पनि पटक–पटक उक्त विषयलाई उठाइरहेका थिए। बामदेवको प्रतिनिधिसभामा आउने ‘जिद्धी’लाई कुनै न कुनै रुपमा सम्बोधन गर्ने मनस्थितिमा पार्टी पनि पुगेको थियो। पार्टी उपयुक्त स्थान र समयको प्रतिक्षामा थियो।
_x000D__x000D_
बामदेवको ‘हठ’का कारणले उनको चर्चा सुरुमा डोल्पाको लागि भएको थियो। डोल्पाका सांसद धनबहादुर बुढालाई राजीनामा गर्न लगाई बामदेव निर्वाचित हुन चाहन्थे। डोल्पाको चर्चा बामदेवको लागि चलेपनि बुढाले राजीनामा दिन इन्कार गरे। डोल्पामा स्थान पाउन नसकेपछि उनको आँखा गृह जिल्ला बर्दियाको २ नम्बर क्षेत्रमा पुग्यो।
_x000D__x000D_
थारु बाहुल्य रहेको स्थानबाट निर्वाचित भएका सन्तराम थारुले स्थान खाली नगरिदिएपछि गृहजिल्लाबाट सांसद बन्ने उनको आशा पनि मरेको थियो। बामदेव त्यसपछि रोकिएनन्। उनले उपनिर्वाचनका लागि अर्को स्थानमा आँखा पुर्याए, स्थान थियो–पूर्वी रुकुम। तर, यसपटक पनि उनको पोल्टामा निर्णय आउन सकेन। पूर्वी रुकुमबाट कमला रोकाले छोड्न चाहिनन्।
_x000D__x000D_
उपनिर्वाचनका लागि उनलाई क्षेत्र निक्र्यौल हुन नसके पनि गति भने रोकेनन्। बाँके, नवलपरासी र दैलेखमा पनि उनले इच्छा देखाए। ति स्थानका सांसदहरुले उनलाई महत्व नदिएपछि बामदेव राजधानीमै भिड्ने मनसायमा पुगेका थिए।
_x000D__x000D_
बामदेवका लागि पद त्याग्ने घोषणा गरेका मानन्धरप्रति आफू नतमस्तक भएको उनले बताएका थिए। कुराकानीका क्रममा मानन्धरको अभिव्यक्तिले आफ्नो कद थप उचो भएको उनले जनाएका थिए। तर, मानन्धरले बढाइदिएको कद दुई दिन पनि टिक्न सकेन। बिहीबार उनले काठमाडौं ७ का प्रदेशसभा सदस्य वसन्त मानन्धरलाई सम्पर्क गरी निर्वाचनमा नलड्ने निष्कर्ष सुनाएका थिए।
_x000D__x000D_
प्रतिनिधिसभा सदस्यलाई राजीनामा गराउन सफल भएर पनि बामदेव उम्मेदवार बन्न त सकेनन् नै, उनले आफ्नो र मानन्धरको राजनीतिक भविष्य पनि धूमिल बनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।