‘छोरीको घर मात्र ५ मिनेटको दुरीमा छ। तर, माइतीको काख नजिकै भएपनि शत्रु लागेपछि कसैको केही लाग्दो रहेनछ।’, यो भनाइ नवलपरासी पूर्वस्थित कावासोती नगरपालिका–१६, डन्डाबजारकी कल्पना परियार, ४६, को हो। बिहीबार महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको सघन उपचार कक्षअघि पुग्दा उनी कालो रङको झोला बोकेर उभिइरहेकी भेटिइन्। गम्भीर तथा पीडा खेपेर बसिरहेझैं लाग्ने कल्पनाको अनुहारमा छोरी छिट्टै पहिलेकै अवस्थामा आउने आशासमेत सञ्चार भएको अनुभुत हुन्थ्यो।
_x000D__x000D_
खासमा उनी गत भदौ ८ गते चक्कु तथा एसिड प्रहारबाट गम्भीर घाइते भएकी छोरी वसन्ती परियारलाई भेट्न अस्पताल आएकी हुन्। तर, सघन उपचार कक्षमा उपचार भइरहेकोले छोरीलाई बरोबर भेट्न पाएकी छैनन् कल्पनाले। ‘जसरी अहिले नजिकै भएर पनि भेट्न पाएकी छैन। उसैगरी छोरीलाई आक्रमण भएको पनि धेरैबेर पछि मात्रै थाहा पाएकी हुँ।’, कल्पनाले घटना भएको दिन सम्झिइन्।
_x000D__x000D_
वसन्तीमाथि आक्रमण हुँदा कल्पना घटनास्थल नजिकै रहेको हाटबजारमा तरकारी बेच्दै थिइन्। तर, उनलाई थाहा थिएन की त्यो आक्रमण आफ्नै जेठी छोरीमाथि भएको हो भनेर।
_x000D__x000D_
आक्रमण हुनुअघि साँझ करिब ५ बजेतिर सोही हाटबजारमा आमाछोरीको भेट पनि भएको थियो। करिब डेढ घण्टा लामो सम्वादमा समेत जोडिएका थिए उनीहरु। ‘ए आज त आमा पनि तरकारी बेच्न आउनु भएको रैछ।’, वसन्तीले भेट भएपछि भनेको कुरा सम्झिँदै कल्पनाले भनिन्, ‘मैले पनि घर बस्न अल्छी लागेकाले तरकारी बेच्न आएको बताएँ। केहीबेर उसले तरकारी बेच्न पनि सघाएकी थिई।’
_x000D__x000D_
_x000D__x000D_
लामै भलाकुसारीपछि कल्पनाले साँझ पर्न लागेकोले वसन्तीलाई घर फर्किन भनेकी थिइन्। ‘वसन्तीले पनि ज्वाइँले तरकारीका बेर्ना लिएर आउनु भन्नुभएको बताइन् र ढिलो हुने भन्दै त्यहाँबाट हिँडेकी थिइन्।’, कल्पनाले छोरी छुट्टिँदै गर्दाको वार्तालाप सुनाइन्।
_x000D__x000D_
छोरी फर्किसकेपछि कल्पना भने तरकारी बेच्नमै अध्यस्त भइरहिन्। केहीबेरमा नै उनले डन्डाबजारमा एक महिलामाथि छुरी र एसिड छ्यापिएको खबर सुनिन्। तर, ती महिला आफ्नै छोरी हुन् भन्ने उनलाई थाहा थिएन, नत कुनै शंका नै। आफ्नी छोरी घर गइसकी भनेर ढुक्क भएकी कल्पनाले सामान बेच्दाबेच्दै वरपरका साथीहरुसँग कसले हान्यो, कसलाई हानियो भन्दै सोधखोज गर्न लागिन्।
_x000D__x000D_
आडमै पसल थापेकी नाताले बुहारी पर्ने एक महिलाले उनलाई ‘हाम्रै भाइ बुहारीलाई हान्यो रे’ भन्ने अपुष्ट खबर सुनाइन्। कल्पनाले त्यो क्षण सिम्झिँदै भनिन्, ‘सोचें साइँलो बुबाको बुहारीलाई हानेछ।’ घाइतेलाई मध्यबिन्दु अस्पतालमा लगेको थाहा पाएपछि उनीहरु दुबैजना हाटबजारमा तरकारी अलपत्र छोडैर त्यतैतर्फ लागे। तर, अस्पताल पुग्दा मात्र उनले चाल पाइन् की आक्रमणको शिकार त केहीबेर अघिमात्रै कुराकानी गरेर घर पठाएकी छोरी नै भएकी रहिछन्।
_x000D__x000D_
‘हामी हतार–हतार अस्पताल पुग्यौं। अस्पताल पुग्दा त आफ्नै छोरीलाई एसिड खनाइएको रैछ। केहीबेर अघिमात्रै हासीखुसी गफ गरी घर हिँडेकी थिई। अब यस्तो होला भनेर कसरी विश्वास गर्नु?’, एकाएक काँपेको स्वरमा कल्पनाले भनिन्, ‘थाहा पाएपछि म आफैं अचेत भएछु। मलाई कतिखेर, कसरी घर ल्याए? केही थाहा पाइन।’
_x000D__x000D_
_x000D__x000D_
एक सातादेखि कल्पना छोरीलाई सुधार भएको हेर्न र सुन्न शिक्षण अस्पतालको आइसियूअगाडि कुरेर बस्दै आइरहेकी छन्। ४६ वर्षिया आमाको छोरीलाई पहिलेको जस्तै तन्दुरुस्त बनाएर घर लैजानु बाहेक अरु कुनै चाहना छैन। ‘एउटी आमालाई रहर लाग्दो उमेरकी छोरीको यस्तो हालत देख्नु र अस्पतालमा कुरेर बस्नु कति अप्ठेरो हुन्छ होला?’, साडीको सप्कोले आँशु पुछ्दै कल्पनाले भनिन्, ‘घरी–घरी मन भक्कानिन्छ। उसको यसपछिका दिन कस्तो होला भनेर मन पोल्छ।’
_x000D__x000D_
छोरीलाई यस्तो हालतमा पुर्याएकोमा कल्पना अहिले अपराधीलाई भन्दा आफैंलाई बढी धिक्कार्न थालेकी छन्। तीन छोरीकी आमा कल्पनालाई लाग्छ की उनका छोरा नभएको भएर नै यसरी आक्रमण भएको हो। ‘मेरा छोरा भने पनि तीन छोरी मात्र हुन्। छोरा नभएकै कारण हेपेर मेरी छोरीमाथि आक्रमण भएको हो। यदि मेरा एक/दुई भाई छोरा मात्रै भइदिएको भए त्यसले यसरी आक्रमणको आँट गर्ने थिएन।’
_x000D__x000D_
दुःख गरेर हुर्काएकी छोरीमाथि अपराधीले सजिलै एसिड र चक्कु प्रहार गरेकोप्रति कल्पनाले आक्रोश पोख्दै भनिन्, ‘छोरीमाथि आक्रमण गर्नेलाई कि फाँसी, कि जन्मकैद होस्।’
_x000D__x000D_
छोरीको अम्भीर अवस्थाका कारण कल्पनालाई चाडपर्वको कुनै उल्लास छैन। ‘तीज पनि रुँदारुँदै अस्पतालमै बित्यो।’, कल्पनाले पीडा सुनाइन्, ‘ठूलो ज्वाइँ विदेशबाट आउनुभाथ्यो। सबै छोरीज्वाइँ मिलेर दसैं मनाउँला भन्ने थियो। अब, अस्पतालमै बित्ने भो। यस्तोमा हामीलाई केको हर्ष रह्यो र?’ छोरीमाथि भएको गम्भीर आक्रमण र हालको उनको अवस्थाले गर्दा यसपाला कल्पना र उनको परिवारलाई चाडपर्वको रसरङ्ग छैन।
_x000D__x000D_
_x000D__x000D_
तर, नवदुर्गा भवानीसँग छोरीलाई छिट्टै सन्चो होस् भन्ने कामना छ कल्पनाको। ‘छिट्टै सन्चो भएर घर लिएर जान पाउँ। मेरी छोरीलाई नवदुर्गा भवानीले सही, सत्य राखुन्।’, साहस मिसाउँदै कल्पना बोलिन्, ‘के भनौं र अरु, मलाई जस्तो पीडा संसारमा कोहीकसैलाई नपरोस् भन्ने भगवानसँग मेरो प्राथना छ।’
_x000D__x000D_
हिजोआज वसन्तीलाई बेलाबेला ज्वरो बल्झिन्छ। उता छोरी पीडामा हुँदा आइसियूको ढोकाबाहिर आमाको मनमा पनि छटपटी चल्छ। भन्छिन्, ‘डाक्टरहरुले नआत्तिनु भन्छन्, तर आफ्नो मन मान्दैन। उता घरमा साना नातिनातिनी आमाको बाटो पर्खेर बसेका छन्। यता छोरीको यस्तो हालत त, अनि कसरी मन बुझाउनु र नानी?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।