ad

संसदीय उपसमितिले भन्यो- गाडीको भाडावृद्धि तत्काल फिर्ता लिइयोस्

नेपाल लाइभ

Nepal Live

काठमाडौं- संघीय संसद अन्तर्गतको सार्वजनिक लेखा समितिद्धारा गठित उपसमितिले पछिल्लाे पटक गरिएको गाडीभाडा वृद्धि तत्काल फिर्ता हुनुपर्ने ठहर गरेको छ। समितिद्धारा चाडपर्वको समयमा बजारमा चिनीलगायत उपभोग्य वस्तुको बजारमूल्य नियन्त्रण गर्ने विषयमा गठित उपसमितिले यस्तो ठहर गरेको हो। 

समितिका सदस्य सांसद लेखराज भट्टको संयोजकत्वमा गठित उपसमितिले समितिसमक्ष आफ्नो प्रतिवेदन पेस गरेको छ। उपसमितिले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई समितिबाट जारी हुनुपर्ने निर्देशनमा भनेको छ, ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै बस भाडा वृद्धि असान्दर्भिक रहेकाले तत्काल फिर्ता लिई जनताको सुलभ यात्राका लागि सरकारी तवरबाट व्यवस्था गर्ने नीति तय गर्न तत्काल गृहकार्य गर्नुपर्नेछ।’ 

उपसमितिले वृद्धि भएको सार्वजनिक सवारीको भाडा लागू भए/नभएको प्रभावकारी अनुगमन गरी तोकिएको भन्दा बढी भाडा असुल गर्नेलाई कारबाही गर्न पनि सुझाएको छ। 

सुरक्षित यातायातका लागि सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, बसको यान्त्रिक परीक्षण गर्ने, २० वर्ष पुराना सवारी साधनमा बन्देज लगाउने तथा सडकको अवस्था सुधार गर्ने जस्ता कार्य तत्काल गर्न निर्देशन दिन पनि समितिलाई सुझाएको छ। 

दुर्घटना बिमाको रकम वृद्धि गर्न र स्वास्थ्य बिमाको योजनाभित्र दुर्घटनालाई पनि समावेश गर्नका साथै सोहीअनुसार तत्काल कार्यान्वयन गर्न आवश्यक नीति निर्माण गर्ने विषयलाई पनि उपसमितिले सो प्रतिवेदनमा समेटेको छ। 

चाडपर्वको समयमा कालोबजारी, सवारीको टिकट वितरणमा धाँधली हुन नदिन केन्द्र, प्रदेश र स्थानीय सरकारको सहयोगमा हेल्प डेक्स संख्या वृद्धि गरी प्रभावकारी बनाउने निर्देशन दिन पनि उपसमितिले समितिलाई सुझाव दिएको छ। 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


पढ्नै पर्ने