दसैं बिदामा घुम्ने योजना छ? यी हुन सक्छन् नेपालका १० मनोरम गन्तव्य

Nepal Live

तस्बिर : sevensummittreks.com


काठमाडौं- घुम्ने मान्छेका लागि कुनै खास मौसम हुँदैन। अथवा प्रत्येक मौसममा घुम्नुको मज्जा नै बेग्लै। तर कुन गन्तव्य कुन मौसममा घुम्दा खोजेकै आनन्द लिन सकिन्छ, यसबारे भने थाहा पाउनैपर्छ।

नेपालको आन्तरिक पर्यटन धार्मिक स्थलहरुमा मात्र केन्द्रित रहेकोले मौसम अनुसारको गन्तव्य छनोट गरेर घुम्न निस्कनेहरुको संख्या त्यस्तो धेरै छैन। तर पछिल्लो समय ‘चुजी’ पर्यटकहरुको ट्रेन बढ्दो रहेको नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशी बताउँछन्। पहाडी क्षेत्रका गन्तव्यहरुमा पूर्वको माइपोखरीदेखि पश्चिमको खप्तडसम्मका विभिन्न गन्तव्य उपयुक्त हुने पर्यटनसँग सरोकार राख्ने सरोकारवालाहरुको सुझाव छ। त्यस्ता  क्षेत्रहरुमा पारिलो घाम लाग्ने, हुस्सु,बादल नलाग्ने भएकोले पर्वतीय शृंखहलाहरुको दृश्यावलोकन सहज हुने हुँदा यो मौसम पहाडी क्षेत्रको घुमघामको लागि उपुक्त छ।

पहिलेपहिले घुमघाममा विदेशीहरु मात्रै निस्किने गरे पनि पछिल्ला वर्ष विभिन्न योजना र प्याकेज बनाएर विभिन्न ठाउँ घुम्ने क्रम बढेको छ। ट्राभल र ट्रेकिङ एजेन्सीहरुले पनि आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरी विभिन्न प्याकेज बनाउने थालेका छन्।

नेपालको पर्यटन विकासमा आन्तरिक पर्यटनकै हिसा सबैभन्दा बढी छ। पर्यटन  बजारमा हुने कुल हिसाको ६० प्रतिशतभन्दा बढी आन्तरिक पर्यटक नै छन्।

दसैं बिदाको मौकामा यी हुन सक्छन् उपयुक्त गन्तव्य

१. खप्तड
खप्तड राष्ट्रिय निकुञ्ज पश्चिम नेपालको ४ पहाडी जिल्ला बझाङ, बाजुरा डोटी र अछामको संगम स्थलमा छ। आन्तरिक तथा बाह्य पर्यटकले बढी मन पराउने गन्तव्य हो खप्तड।

यसको क्षेत्रफल २२५ वर्ग किमि छ। यो निकुञ्ज संसारकै राम्रो स्थानमा पर्दछ। समुद्र सतहबाट २४०० देखि ३७०० मिटर उचाइमा फैलिएको खप्तड क्षेत्रको बीचमा उभिएको छ, १२ हजार फिट अग्लो खप्तड लेक। ५० वर्षपहिले खप्तडबाबाले तपस्या गरेको पवित्र यो ठाउँलाई सुदूरपश्चिमको भूस्वर्ग पनि भनिन्छ। खप्तड बाबाको कुटी त्रिवेणी नदी खापर दह शिव मन्दिर सहश्रलिंग गणेश मन्दिर, नागढुंगा, केदारढुंगा जस्ता धार्मिकस्थल निकै प्रख्यात छन्। सदियौंदेखि खप्तडमा लाग्ने विविध सांस्कृतिक मेलामध्ये गंगा दसहरामा हजारौं तीर्थयात्री भेला हुन्छन्। त्रिवेणी नदीमा स्नान गर्नुका साथै सुदूरपश्चिमकै प्रसिद्ध हुड्के नाच हेर्न स्थानीयवासी जम्मा हुने गर्छन्।

तस्बिर : आरके अदिप्त गिरि


सुदूरपश्चिमको सबैभन्दा प्रसिद्ध गन्तव्यस्थल खप्तड घुम्नका लागि जेठ, असारदेखि मङ्सिरसम्मको समय उपयुक्त मानिन्छ। यहाँ २५ मैदान मात्र छैनन्  वरिपरि ५३ वटा थुम्काहरू छन्, जसलाई स्थानीय भाषामा झोती भनिन्छ। किंवदन्ती अनुसार दोस्रो नम्बरका पाण्डव भीमले हलो जोत्दा फाली फ्याँकेको माटोबाट यी थुम्का बनेका हुन्। खप्तड पुग्ने धेरै बाटो भए पनि डोटीको सिलगढीबाट जाने बाटो धेरै चल्तीमा रहेको छ। सिलगढी पुग्नका लागि पूर्व–पश्चिम राजमार्गको अत्तरिया, कैलालीबाट ९ घन्टाको बस यात्रा गर्नुपर्छ। अत्तरिया र नेपालगन्जबाट सवारीमार्फत सिलगढी पुग्न सकिन्छ। नेपालगञ्जबाट हवाईजहाजबाट पनि डोटी उत्रिन सकिन्छ। 

तपाई हेलिकोप्टरको व्यवस्था गर्न सक्नुहुन्छ भने सोझै खप्तड अवतरण गर्न सकिन्छ। सिलगढी-साँफेबगर सडकखण्डको शान्तिनगरबाट खप्तड क्षेत्र जोड्ने सडक निर्माण सुरु भएकाले केही वर्षमा खप्तडको बाहिरी क्षेत्रसम्म गाडी पुग्ने आशा गरिएको छ। गन्तव्यस्थलका रूपमा खप्तड चर्चित भए पनि यो निकै अप्ठ्यारो गन्तव्य मानिन्छ। खप्तड जानुभन्दा अघि पाल, स्लिपिङ ब्याग, खाना पकाउने सामान लिएर जानु बेस हुन्छ। साथै, ड्राइफुड पनि बोक्नु राम्रो। यहाँ बास बस्नका चार धर्मशाला भए पनि तिनको उचित व्यवस्थापन अभाव छ। दुई साना होटल मेलामा मात्रै खुल्छन्। सिलगढीबाट बग्लेक हुँदै झिगराना चेकपोस्ट पूग्ने, त्यसपछि सिधा उकालो गएपछि बीचपानी र त्यसपछि ३ घन्टाको सिधा बाटोबाट खप्तड पुगिन्छ।

२. शे–फोक्सुण्डो ताल
फोक्सुण्डो ताललाई शे–फोकसुण्डो तालको नामले पनि चिनिन्छ। यो नेपालको सबैभन्दा गहिरो तालमा पर्छ। भौतिक भौगोलिक हिसाबले अति विकट ठाउँमा रहेको यो ताल जाने बाह्य पर्यटकको संख्या भने अति न्यून छ। पछिल्लो सयम भने यहाँ जाने आन्तरिक पर्यटकको संख्या बढ्दोछ। शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र अवस्थित हिमाली सफापानीको ताल हो। यो ताल ३६११.५ मिटरको उचाइमा डोल्पामा  अवस्थित छ। यो ताल समुद्री सतहभन्दा करिब ३९०० मिटरको उचाइमा छ। तालको लम्बाइ  ४.८ किमि, चौडाइ १.६ किमि र गहिराइ ६५० मिटर छ। कान्जिरोवा हिमालको काखमा अवस्थित यो ताल ’वाई’ आकारको छ। फोक्सुण्डो तालबाट सुलिगाँड झरना निस्केको छ। फोकसुण्डो तालको पानीको घनत्व ४० करोड घनमिटर रहेको छ भने पानीको बहाव ३.७१५ घनमिटर प्रतिसेकेन्ड छ।

रिंग्मो गाउँमा ३० हजारदेखि ४० हजार वर्षपहिला भएको पहिरोको कारण यस तालको उत्पति भएको देखिन्छ। डोल्पा जानका लागि रुकुम जिल्लाको चौरजहारी हुँदै जाजरकोट–डोल्पाको निर्माणाधीन सडकबाट पनि डोल्पा पुग्न सकिन्छ। जाजरकोटबाट डोल्पा सम्मको ११७.७ किलोमिटर सडकमध्ये जाजरकोट, रुकुम र डोल्पा गरी ११४.७ किलोमिटर सडकको ट्रयाक खोलिएको छ। सडक निर्माण भएपछि हिउँदमा ट्रयाक्टर र जिप चल्न थालेका छन्। तर खोलामा पुल नबन्दा राडीज्युला, तल्लु, त्रिवेणी, खवाङ हरियाली, करग्गा आदि ठाउँमा गाडी फेर्दै यात्रा गर्नुपर्छ दुनै पुग्नुअघि ३ किलोमिटर बाटोमा भने पैदल हिँड्नुपर्ने हुन्छ। अहिले धाउन्ने-त्रिपुरा सुन्दरी सडकखण्डमा नेपाली सेनाले निर्माण कार्य गर्दै छ। यो ट्रयाक खुल्नको लागि केही समय कुर्नपर्ने भएको छ। 
पैदल यात्रामा डोल्पा जाने कतिपय पर्यटक पोखरा–बाग्लुङ–बुर्तिवाङ बसमा यात्रा गरी ढोरपाटन दृश्यावलोकन गरी रुकुमको टकसेरा, हुकाम, मैकोट, रन्मामैकोट हुँदै ७ दिनको पैदल यात्रापछि दुनै बजार पुगेर पनि शे–फोक्सुण्डो तालसम्म जाने गरेका छन्।

३. रारा
 नेपालकै सबैभन्दा ठूलो र प्रसिद्ध तालको रुपमा रारा ताललाई लिइन्छ। मुगु जिल्लामा रहेको रारालाई राजा महेन्द्रले  २०२० सालमा 'स्वर्ग कि अप्सरा' भनेर नामकरण गरेका थिए। समुद्र सतहबाट २९ सय ९० मिटरको उचाइमा रहेको रारा ताल जान अहिले सहज छ। राराको लम्बाइ ३.२ किलोमिटर र गहिरा १ सय ६७ मिटर छ। यो कुल १०.८ किलोमिटरमा फैलिएको छ। रारा तालले  विदेशी पर्यटकको खासै मन तान्न सकेको छैन। आन्तरिक पर्यटकले पनि सिजनको बेला सहजै बास पाउने अवस्था छैन। रारा तालको छेउमै डाँफे होटल लगायत दुई वटा मात्रै बास बस्ने ठाउँ छ। भएका होटलमा पनि प्रशस्त मात्रामा कोठा छैन। तालको पूरा आकृति हेर्नका लागि समुद्री सतहबाट करिब ४ हजार मिटर उचाइमा रहेको मुर्मा टप नै उपयुक्त स्थल हो। घामको किरण अनुसार राराले आफ्नो रङ  फेर्ने गर्दछ। रारा जान अहिले हवाइ तथा स्थलमार्ग दुवै प्रयोग गर्न सकिन्छ। स्थल मार्ग हुँदै आफ्नै सवारी साधनमा जाने हो भने ताल नजिकैको सल्लाघारीमा गएर रोकिन्छ। अहिले बढीजसो मोटरसाइकल प्रयोग गरेर आन्तरिक पर्यटक रारा पुग्ने गरेका छन्।


 
हवाई मार्गबाट जाँदा भने मुगुको ताल्चा विमानस्थलबाट करिब २ घन्टा हिडेपछि रारा पुगिन्छ। केही वर्ष अगाडिसम्म सुर्खेतबाट हिँडेर १० दिनमा रारा पुगिन्थ्यो। अहिले रारा जान १० दिन हिँड्नुपर्ने अवस्था छैन। सार्वजनिक सवारीमा जानेका लागि काठमाडौंबाट दैनिक कर्णाली यातायातको बस जुम्लासम्म जान्छ। काठमाडौंबाट हिँडेको करिब ३० देखि ३२ घन्टामा बसबाट जुम्ला सदरमुकाम खलंगा पुग्न सकिन्छ। जुम्ला सदरमुकामबाट भने लोकल बस राराका लागि छुट्दैन। सवारीमै जानेहरुले साना गाडी रिजर्भ गर्नुपर्छ। तर, खलंगबाट सिन्जा उपत्याका हुँदै मुगु सदरमुकाम गमगढी जाने बस पाइन्छ। गमगढीबाट हिडेर ४-५ घन्टामा रारा पुग्न सकिन्छ। तर, जुम्लाबाट हिँडेर नै रारा जानका लागि २ दिनको समय लाग्छ।

रारा जान पैदल यात्रुले सबैभन्दा पहिले जुम्ला सुदरमुकाम खलंगा पुग्दा राम्रो हुन्छ। तर, खलंगा नपुगी नाग्माबाट पनि सिञ्जा उपत्यका हुँदै जान सकिन्छ। सदरमुकामबाट डाँफेलेक ३ घन्टामा पुग्न सकिन्छ।

डाँफे लेकबाट करिब एक घन्टाको हिँडाइमा जुम्लाको खालीचौर पाटन पुग्न सकिन्छ। खालीचौरबाट बिस्तारै हिँड्दै काभ्रा पुग्न सकिन्छ। त्यहाँबाट एक घन्टाको पैदल यात्रापछि जुम्लाको चौथा भन्ने ठाउँमा पुगिन्छ। त्यहाँबाट पनि एक घन्टाको उकालो हिँडेर जुम्लाकै भुलभुले पुगिन्छ।

भुलभुलेपछि रारा राष्ट्रिय निकुन्जको चेकपोस्ट सुरु हुन्छ। त्यहाँबाट करिब एक सय मिटर अगाडि बढ्ने बित्तिकै २ वटा बाटाहरु आउँछन्। जहाँबाट गए पनि रारा पुगिन्छ। बायाँपट्टि लाग्दा अग्लाअग्ला डाँडा पार गर्दै रारा पुग्न सकिनछ। तर, अर्को बाटो लाग्दा भने झ्यारी भने ठाउँ पुग्न सकिन्छ। झ्यारी पुग्न भने सहज बाटो छैन। जंगलको बाटो सिधै ओरालो झर्नुपर्छ। 

काठमाडौंबाट २७ सय रुपैयाँ बस भाडा लाग्छ। बाटोमा खाजा खानाका लागि एक हजार भए पुग्छ। जुम्ला सदरमुकाम बसाइका लागि एक हजार रुपैयाँका खानासहित बास पाइन्छ। त्यहाँबाट रारातालसम्म हिँडेर दुई दिनमा पुग्नका लागि ३ हजार रुपैयाँ भए पुग्छ।
 
रारा तालमा घोडा चढ्नदेखि एक रातको बसाइ र खानामा २ हजारले पुग्छ। फेरि सोही रुटमा फर्कंदा करिब १७ हजारमा काठमाडौं आइपुगिन्छ। फर्कंदा हवाई यात्रा गर्छु भने पनि बढी रकम लाग्दैन। किनकि ताल्चाबाट नेपालगञ्जको राजा विमानस्थल करिब ५ हजार रुपैयाँमै आउन सकिन्छ। नेपालगन्जमा २ हजारमा एक रात मज्जाले बिताएर काठमाडौं आइपुग्दा पनि १७ हजारभन्दा बढी खर्च हुँदैन। तर, नेपालगज्ज तथा सुर्खेत वा जुम्ला सदरमुकाम खलंगाबाट गाडी रिजर्भ गरेर जाँदा भने ३ हजार रुपैयाँसम्म बढी लाग्न सक्छ। रारा भ्रमण गर्न उपयुक्त समय सेप्टेम्बरदेखि अक्टोबर र अप्रिलदेखि मे महिनामा उपयुक्त हुन्छ। डिसेम्बरदेखि मार्च महिनासम्म १ मिटरसम्म हिउँ पर्ने हुँदा यहाँको तापक्रम शून्यभन्दा पनि तल हुने भएकोले यो समयमा उपयुक्त हुँदैन।

४. बर्दिया
थारु भाषामा गोरू चराउनेहरुलाई बर्देवा भनिन्छ। १२ बर्देवा अर्थात् १२ जना गोरू चराउनेहरुले पदनाहाको मुडुवामा आध्यात्मिक विश्वासका कारण सामूहिक आत्मबलिदान गरेको किंवदन्ती सुनिन्छ। यही आधारमा बर्देवा अपभ्रंश भई  बर्दियाको नामकरण भएको मानिन्छ।  मान खोला पश्चिमको १,६०८ वर्ग किमि भौगोलिक इकाइलाई आधुनिक बर्दियाको रुपमा लिन थालियो। 

भारतमा अंग्रेजको शासन चलिरहेको थियो। नेपालमा पनि राणा शासनको हालीमुहाली थियो। एंग्लो नेपाल लडाइ, सुगौली सन्धि, भारतको पहिलो सिपाही विद्रोह, गदर अर्थात् स्वतन्त्रता संग्राम दबाउन अंग्रेजलाई जंगबहादुरले सहयोग गरे। सोही स्वरुप १८६० नोभेम्बर १ को बगौडा ताल सन्धिले गुमेको नेपाली भूभाग फिर्ता र नयाँ मुलुकको रुपमा जंगबहादुरले आफना ८ भाइलाई बनाएको बिर्ताले पनि चिनिन्छ, बर्दिया जिल्ला।

घना जंगल, जगंली हिस्रक जनावार र विषालु सर्पबिच्छीसँग प्रतिरोध गर्दै निरन्तर मानव आवादी भएको थलो बर्दिया हो। काठमाडौंबाट सडक मार्ग हुँदै जाँदा ६ किलोमिटरको दुरीमा पर्छ। तराई क्षेत्रकै सबैभन्दा ठूलो बर्दिया राष्ट्रिय निकुन्ज पनि यही जिल्लामा फैलिएको छ। निकुञ्जले विगतमा सामान्य पर्यटकलाई मात्रै होइन, विश्वकै चर्चित व्यक्तिहरुलाई स्वागत गरिसकेको छ। विषेश गरेर बाघ, माछा, गोहीको प्रत्यक्ष अवलोकनका लागि आकर्षक गन्तव्य मानिने बर्दियामा बेलायती राजकुमार प्रिन्स हृयारीदेखि टाइटानिकका हिरोसम्म पुगेका छन्। सम्भावना र  पर्यटकीय गन्तव्यले भरिपूर्ण जिल्ला बर्दिया भौतिक पूर्वाधार र दुरीकै कारण ओझेलमा छ। ‘बर्दिया राष्ट्रिय निकुन्ज’ बर्दिया जिल्लाको करिब ४३ प्रतिशत भू–भागमा फैलिएको छ। तर, सरकारी उपेक्षाकै कारण यो निकुन्ज ओझेलमा छ। यो निकुन्ज ९ सय ६८ वर्ग किलोमिटर भू–भागमा फैलिएको छ।  भौतिक पूर्वधारको अभावमा तराईको पर्यटकीय गन्तव्य ओझलेका परेको त्यस क्षेत्रमा लामो समयदेखि पर्यटन प्रवर्द्धनमा लागेको व्यवसायीहरु बताउँछन्।

यहाँ जंगली हात्ती, गैंडा, डल्फिन लगायत ५४ प्रजातिका स्तनधारी वन्यजन्तु, ४५० भन्दा बढी प्रजातीका चरा, ४३ भन्दा बढी प्रजातीका घस्रिने जनावर र १२१ प्रजातिका माछाको बासस्थान रहेको छ। यसबाहेक सरकारले अध्यावधि नगर्ने हजारभन्दा बढी प्रजातिका वन्यजन्तु तथा किटपतंग प्रजातिका किराहरु छन् बर्दिया निकुन्जमा। योसँगै अर्को रमाइलो पक्ष भनेको मानिसलाई बढी आक्रमण गर्ने अन्धो गैंडा, चितुला, गोही प्रजनन केन्द्रमा रहेको सयौं गोहीका बच्चाले समेत पर्यटकको मल लोभयाउने गरेको छ।
बर्दिया देशका ठूला नदीहरु कर्णाली, भेरी, बबई र मान नदीबाट घेरिएको मनोरम जिल्लाको रुपमा लिन सकिन्छ। अझ बर्दिया राष्ट्रिय निकुञ्ज त जैविक विविधताले भरिपूर्ण निकुञ्ज हो।

यहाँ आउने विदेशी तथा स्वदेशी पर्यटकले जंगल ड्राइभिङ, हात्ती सफारी, र्याफटिङ र क्याम्प फायरसमेत गर्न पाउनेछन्। त्यति मात्र नभई एकै पटकमा बाघ, जंगली हात्तीसमेत हेर्न पाइन्छ। अर्को प्रमुख विशेषता भनेको  पहिलोपटक गैंडा स्थान्तरण भएको निकुन्ज समेत हो बर्दिया। 

बर्दियाको अर्को पर्यटकीय गन्तव्य मानवनिर्मित सतखलुवा ताल हो। ताल वनको ६० हेक्टर क्षेत्रमा छ। तालभित्र बोटविरुवा समेत देख्न सक्निछ। बर्दिया जिल्लाको अर्को  पर्यटकीय गन्तव्य कर्णालीको पुल अर्थात् ‘चिसापानी’ हो।  यो ठाउँको पनि आफ्नै विशेषता छ। जहाँ बिहान ८ बजेदेखि  ११ बजेसम्म र दिउँसो २ देखि साँझ ५ बजेसम्म चल्ने चिसो हावा हो। यहाँ स्वदेशी तथा विदेशी पर्यटक आन्नद लिइरहेका हुन्छन्। बर्दिया जानेले खैरापुरमा कृष्णसारको नाच पनि हेर्न पाउँछन्।
 
५. पाथिभरा
पाथिभरा ताप्लेजुङको प्रसिद्ध धार्मिक तीर्थस्थल हो। पाथिभरा मन्दिर हिन्दु एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो। यो ताप्लेजुङको १२ हजार फिट उचाइमा छ। सदरमुकाम फुङलिङबाट १९.४ किमि पूर्वोत्तरतर्फ ३७९४ मिटरमा छ मन्दिर।

फुङलिङ बजारबाट एक दिन पैदल हिँडेर यहाँ पुगिन्छ। मन्दिरमा वर्षभरि भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ। त्यसमा पनि दसैं तिहारको लामो बिदामा घुम्न जानेका लागि यो सहज पर्यटकीय गन्तव्य हो।

ताप्लेजुङका रैथाने लिम्बू समुदाय पाथिभरालाई ‘मुक्तुवुङ’भनेर चिन्दछन्। यहाँ जान हवाइ, सडक तथा पदैलमार्ग जनसुकै तरिकाबाट पुग्न सकिन्छ।

पाथिभरा देवीलाई दैनिक सयौंको संख्यामा भेडा, बोका, पाठीको बलि चढाइन्छ। तर बलिस्थलमै रगत हराएको, सीमित रहेको जो कोही दर्शनार्थीले प्रत्यक्ष अनुभव तथा अवलोकन गर्न सक्दछन्। देवीमा चढाइएको बलि संख्यालाई हेर्दा यहाँ रगतको पोखरी जम्नुपर्थ्यो तर त्यसो हुँदैन। यसैकारण पनि रक्तकाली देवी पाथिभराले भक्तजनहरूले चढाएको बलि स्नेहपूर्वक ग्रहण गर्छिन् भन्ने जनधारणा छ।

तल्लो फेदीबाट लेकाली अंगेरी, गोब्रेसल्लो, धुपी, गुराँसको जंगल मालिंगोघारीको बाटो हुँदै लगभग २ घन्टा ठाडो उकालो हिँडेपछि तपाईं पाथिभरा देवीको मन्दिर रहेको डाडाँको पश्चिमपट्टिको मुखमा फुत्त आइपुग्नुहुन्छ। त्यसबेला टक्र्याकटुक्रुक बसेका कुम्भकर्ण हिमाल आफ्नो सम्पूर्ण हिमशृंखला साथै लिई स्वागतका लागि हतारहतार आएझैं भान हुन्छ। पाथिभरा मन्दिर ३७९४ मिटर उचाइमा रहेकाले यहाँको तापमान हमेशा शून्यको हाराहारीमा झर्ने गर्दछ। अतः तीर्थयात्री तथा पर्यटकहरूले लेकबाट जोगिन घरेलु उपचारको सामग्री तातोपानी, भुटेको मकै, अदुवा, लसुन, गरम खाद्य तथा पेय पदार्थ र न्यानो कपडाहरू साथै लगे झनै बेस हुन्छ। 

पाथिभरा यात्राका लागि फागुनदेखि कात्तिकसम्म उपयुक्त हुन्छ। झापाको बिर्तामोडबाट इलाम–फिदिम हुँदै २ सय ७० किलोमिटर  मेची राजमार्गमा यात्रा गरी फुङलिङबाट सुकेटार-तल्लो फेदी-उपल्लो फेदी हुँदै पैदल पाथिभरा पुग्न सकिन्छ। अन्य मार्गमा धरानबाट धनकुटा–हिले हुँदै कोसी राजमार्गमा एक सय किलोमिटर यात्रा गरी वसन्तपुरबाट गुफापोखरी, गोर्गा दोभान हुँदै पैदल यात्रामा पनि पुग्न सकिन्छ।
 
६. सिन्धुलीगढी
सिन्धुलीगढी प्राकृतिक सुन्दरता एवं ऐतिहासिक दृष्टिले महत्वपूर्ण स्थान हो। यो ठाउँ काठमाडौंबाट करिब १ सय ५० किलोमिटर पूर्वमा रहेको छ। ४ हजार ६ सय ४८ फिट उचाइमा रहेको यो क्षेत्र प्राकृतिक रूपमा पनि सुन्दर छ। बनेपादेखी बर्दिबाससम्म बिपी राजमार्ग सञ्चालनमा रहेकाले केहीअघिसम्म दुर्गम रहेको सिन्धुलीगढी सुगम भएको छ।


 
सिन्धुलीगढी नेपाल–अंग्रेज युद्धको जीवित दस्तावेज हो। त्यस क्षेत्रमा निर्माण गरएिका अप्ठ्यारा खाल्डा, शत्रुलाई आक्रमण गर्न बनाइएका आड तथा दुर्गहरू अहिले अचम्मलाग्दा देखिन्छन्। यो क्षेत्र घुम्दा त्यसबेला नेपाली योद्धाले गर्ने युद्ध रणनीतिको अनुमान लगाउन सकिन्छ। सिन्धुलीगढी दरबारलाई पुनर्निर्माण गरी थप आकर्षक बनाइएको छ। यो दरबार हेरेपछि ’सिन्धुलीगढी घुमेर हेर्दा सुन्तली माई कति न राम्रो दरबार’ गीतको सम्झना आउँछ।
 
सिन्धुलीगढी सिन्धुली जिल्लाको राजनीतिक, ऐतिहासिक तथा धार्मिक महत्व बोकेको स्थान हो। यस स्थानको अवस्थिति जिल्लामा करिब १०५ किलोमिटर तन्काइमा रहेको महाभारत पर्वतको झन्डै मध्यमागमा करिब ५९ किलोमिटर बिन्दुमा रहेको छ। यो स्थान जिल्ला सदरमुकाम सिन्धुलीमाढीबाट बिपी राजमार्गको सिन्धुलीमाढी–खुर्कोट खण्डको करिब २० किलोमिटरको दुरीमा छ। सिन्धुलीगढीले इतिहासको कालखण्डमा निकै कुख्यात घटनाको रूपमा परिचित डोयहरूको काठमाडौं आक्रमण अर्थात् १३६७ देखि मात्र होइन राणाकाल तथा शाहकालीन समयसम्म राजनीतिक, प्रशासनिक, सामरिक तथा ऐतिहासिक महत्व बोकेको छ।

७. मुस्ताङ
आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य स्थल हो माथिल्लो मुस्ताङ। मुस्ताङ पछिल्लो समय आन्तरिक पर्यटकले भरिभराउ हुने एक चर्चित गन्तव्य पनि हो। जोमसोमदेखि माथिल्लो मुस्ताङसम्म सवारीसाधन चल्न थालेपछि आन्तरिक पर्यटकको पनि चाप बढेको छ। विशेष गरी दसैं तथा तिहारको समयमा मुस्ताङ घुम्न जानको लर्को लाग्न थालेको छ। यतिखेर मौसमका कारण माथिल्लो मुस्ताङ घुम्न लायक गन्तव्य हो। जोमसोमबाट सवारी साधनमार्फत एक दिनको यात्रा गरेपछि माथिल्लो मुस्ताङ पुगिन्छ भने पैदल यात्रा गर्दा ३ दिन लाग्छ।

माथिल्लो मुस्ताङमा जीवनशैली अन्य जिल्लाहरुको भन्दा फरक भएकोले पनि यो क्षेत्रमा पर्यटकको आगमन बढी हुने गर्छ। यति मात्र नभएर देशमा गणतन्त्र आइसक्दा पनि त्यहाँ गरिने मुस्ताङी राजाको सान र सम्मान नमुना नै रहेको छ। यस क्षेत्रमा नौतले गुफा, मौलिक संस्कृति, जीवनशैली, मनमोहक प्राकृतिक दृश्य तथा कोरला नाका प्रख्यात छन्। मुस्ताङ जान पहिलको जस्तो असहजता छैन। पैदल तथा सवारी साधन मार्फत पनि मुस्ताङ सहजै जान सकिन्छ। काठमाडौंबाट नै निजी सवारीसाधनमा माथिल्लो मुस्ताङसम्म पुग्न सकिन्छ। काठमाडौंबाट जोमसोमसम्म हवाई यात्रा पनि गर्न सकिन्छ। जोमसोमदेखि छुसाङसम्म जिपको यात्रा गर्नुपर्छ। बाटोमा पर्ने खोलामा मोटरेबल पुल नभएकोले पैदल पुल तरेपछि फेरि अर्को गाडी चढेर माथिल्लो मुस्ताङ ६ घन्टामा पुग्न सकिन्छ।

८. पोखरा
पोखरा पर्यटकको प्राथमिकताको रोजाइ हो। यहाँ सबै खालको पर्यटकीय आकर्षण भएकाले यो क्षेत्र पहिलो रोजाइमा परेको हो। यो क्षेत्रमा पुगेपछि आँखैअगाडि हिमाल हेर्न मात्र नभएर तालमा बोटिङ गर्न सकिन्छ। यति मात्र नभएर यहाँ गुफा हेर्न चाहनेले गुफा तथा साहसिक खेल रुचाउनेले प्याराग्लाइडिङ, अल्ट्रा, बन्जी, जिप फ्लाएर जस्ता सिसीक खेलको आनन्द लिन सक्छन्। यसका साथै धर्मप्रति रुचि राख्ने पर्यटकहरुको विभिन्न धार्मिक महत्वका मन्दिरहरू बिन्ध्यबासिनी, बाराही मन्दिरसमेत रहेको छ। यो क्षेत्रमा एक रातदेखि ३ रातसम्म बिताउन सकिन्छ। 

९. सुर्खेत/दैलेख
सुर्खेत कर्णाली प्रदेशको राजधानी हो। यहाँ दोस्रो लुम्बिनीको रुपमा परिचित काँक्रेबिहार छ। यसैगरी देउती बज्यै, बुलबुले ताल जस्ता आकर्षक पर्यटकीय स्थल पनि छन्। काँक्रेबिहार निर्माणको क्रममा छ। देउती बज्यै मन्दिर मध्यपश्चिमको शक्तिपीठमध्ये एक हो। त्यस्तै, वैश्वानरपुराण अनुसार, दैलेखमा अवस्थित शिरस्थान, नाभीस्थान, धुलेश्वर, पादुका र तल्लो डुगेश्वरलाई पञ्चकोशी तीर्थस्थलका रुपमा पुजिन्छ। चलनचल्तीमा भने कोटीकालालाई पनि त्यही श्रेणीमा राखिएको छ। जसमध्ये शिरस्थान र नाभीस्थानमा अविरल बल्ने ज्वाला धार्मिक आस्थाका केन्द्र हुन्।

श्रीस्वस्थानी व्रतकथा अनुसार महादेवले सतीदेवीको मृत शरीर बोकेर हिँड्दा शिर पतन भएको ठाउँलाई शिरस्थान र नाभी पतन भएको ठाउँलाई नाभीस्थान भनेर पुज्न थालिएको हो। नेपालगन्जबाट ३ घन्टाको बसयात्रापछि सुर्खेत पुगिन्छ। सुर्खेतबाट दैलेख पुग्न थप ३ घन्टा लाग्छ।

१०. राइनासकोट
लमजुङको राइनासकोट नगरपालिका वडा नं ९ स्थित ऐतिहासिक राइनासकोट यतिखेर घरबास (होमस्टे) कार्यक्रमसँगै पर्यटकीय गन्तव्यका लागि परिचित हुँदै गएको छ। २०७२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त पूर्वी लमजुङको ऐतिहासिक र धार्मिक महत्व रहेको यस पर्यटकीय गाउँमा अमेरिकी नागरिक नातासा ओजानायकको विशेष सहयोगमा पुनःनिर्माणसँगै घरबास सुरु भएको हो। यहाँ पुग्ने विदेशी तथा आन्तरिक पर्यटकले कोदाको सेलरोटी तथा मकै, गेडागुडीसहित तामा, गुन्द्रुक, भटमासको अचारका परिकारको स्वाद लिने पाउँछन्।

राइनासकोट पुग्ने पर्यटकलाई प्रतिकोठा रु ६ सय, मासुसहितको खाना रु ३ सय राखिएको छ भने नास्ताका लागि रु ६० तिर्नुपर्छ। गाउँको शिरमा रहेको राइनासकोटबाट लमजुङ हिमालसहित मनास्लु, अन्नपूर्ण, माछापुच्छ्रेका साथै धवलागिरि जस्ता हिमालको एकसाथ अवलोकन गरी पर्यटक रमाउने पाउँछन्।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार