३८ सय किलो सुन तस्करी प्रकरण : सुन मालिकको मुद्दामा अनुसन्धान टोलीलाई सर्वोच्चले सोध्यो– किन गरियो शिलबन्दी?

Nepal Live

काठमाडौं– ३८ सय किलो सुन तस्करी प्रकरणमा मुछिएका आरके ज्वेलर्सका मालिक राजेन्द्रकुमार शाक्यले आफ्नो पसलको सुन फिर्ता पाउनुपर्ने माग गर्दै दायर गरेको निवेदनमा अनुसन्धान टोलीको शिलबन्दी गर्ने निर्णयप्रति सर्वोच्चले प्रश्न उठाएको छ। उक्त प्रकरणको मुद्दा मोरङ जिल्ला अदालतमा विचाराधीन छ।

न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठको इजलासले शिल गर्ने निर्णय मगाउन सोमबार आदेश गरेको हो। यसअघि सर्वोच्चले सरकारी पक्षलाई छलफलमा बोलाउने निर्णय गरेको थियो। सर्वोच्चले साउन २३ गते नै उक्त निर्णय मगाउने आदेश गरेको थियो। तर सरकारले पेश नगरेपछि दोस्रो पटक निर्णय मगाएको हो।

राजेन्द्रमान शाक्यले न्युरोड र दरबारमार्गमा सञ्चालन गरेको आरके ज्वेलर्समा गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको विशेष अनुसन्धान टोलीले छापा मारेर सबै सुनचाँदी लगायतका गरगहनासहित सबै सामग्री जफत गरेको थियो । समितिले पसलमा जेठ २९ गते शिलबन्दी पनि गरेको थियो।

न्युरोड विशालबजारमा रहेका दुई पसल र दरबारमार्गमा रहेको आरके ज्वेलर्समा अनुसन्धान टोलीले विभिन्न निकायको रोहबरमा छापा मारेको थियो।

समितिको उक्त निर्णयलाई चुनौती दिँदै साउन ८ गते सर्वोच्चमा उनले रिट निवेदन दायर गरेका थिए। उनको निवेदनमा न्यायाधीश मीरा खड्काको इजलासले छलफलमा बोलाउने आदेश गरेको थियो।

जिल्ला अदालतमा शाक्यलाई पनि सुन तस्करीमा विपक्षी बनाइएको थियो। उनी हाल जिल्ला अदालतको आदेशले थुनामा रहेका छन्। जिल्ला अदालतमा सुन तस्करी अभियोगमा ६३ जनाविरुद्ध बैसाख १९ गते संगठीत अपराध, कर्तव्य ज्यान र सुन तस्करीको मुद्दा दायर गरेको थियो।  मुद्दा दायर भएको एक महिनापछि उनको पसलमा समितिले छापा मारेको थियो ।

करिब २० करोड बराबरको सुनसहित ३५ प्रकारका धातु उनको पसलबाट जफत गरिएको थियो।

जिल्ला अदालतमा मुद्दा चलिरहेको र तस्करी भएको सुन सबै आरके ज्वेलर्समा रहेको रुपमा छापा मारेर पेसा व्यवसाय गर्न पाउने हकसमेत हनन भएको जिकीर निवेदनमा गरिएको थियो। छापा मार्न पुगेको टोलीमा विशेष अनुसन्धान समितिसहित कर कार्यालय, आपूर्ति व्यवस्थापन विभाग, सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधि तथा वडाका जनप्रतिनिधि पनि सहभागी थिए ।

ज्वेलर्सका सञ्चालक शाक्य यसअघि नै पक्राउ परी पुर्पक्षका लागि मोरङ कारागारमा थिए। त्यसअघि प्रहरीले सुनका मुख्य लगानीकर्ता मोहनकुमार अग्रवालको घरमा छापा मारेको थियो।

चुडामणी उप्रेती गोरेको समूहले भित्राउने गरेको अवैध सुनमा शाक्यको पनि लगानी रहेको र उक्त पसलवाट विक्री गरेको समितिको आरोप थियो। 

माघ ९ गते दुबईबाट नेपाल ल्याइएको भनिएको अवैध साढे ३३ किलो सुन एकाएक गायब भएपछि यो विषय सार्वजनिक भएको थियो। त्यसैसँग जोडेर सनम शाक्यको हत्या भएपछि गृह मन्त्रालयले अनुसन्धान टोली बनाएको थियो।

संगठित अपराधका प्रतिवादीको परिवारका सदस्यहरुको नाममा रहेको चलअचल सम्पत्ति तथा कारोबार समेत रोक्का राख्ने कानुनी ब्यवस्था अनुसार छापा मारिएको समितिले दाबी गरेको थियो।

समितिले दरबारमार्ग, विशालबजार र न्युरोडमा रहेका तीनवटा पसलमा छापा मारेको थियो। नियन्त्रणमा लिइएको सबै सामग्री मोरङ जिल्ला अदालतमा बुझाइएको छ।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार