ad

स्वास्थ्यमा आकस्मिक समस्या आए के गर्ने?

डा नारायण गुरुङ

Nepal Live

यस्तो कुनै पनि अवस्था, जहाँ तुरुन्तै उपचार नगरिए बिरामीको ज्यान जान सक्छ वा सधैँका लागि अपाङ्ग हुन्छ, त्यसलाई मेडिकल इमर्जेन्सी भनिन्छ।

यस्तो अवस्थामा स्वास्थ्यलाई प्राथमिकतामा राखेका देशहरुले आकस्मिक चिकित्सा सेवा प्रणाली लागू गरेका हुन्छन्। ती देशमा ९११ नम्बरमा फोन गर्नासाथ सुविधासम्पन्न एम्बुलेन्स आइपुग्छ। एम्बुलेन्समा उपचार सुरु  गरेर अस्पताल तत्काल पुर्‍याइन्छ। सकेसम्म बिरामीको ज्यान जोखिममा पार्न दिइँदैन। तर हाम्रो देशमा यस्तो प्रणालीको विकास गर्ने योजना त के सोचसमेत परिपक्व भइसकेको छैन।

विकसित देशहरुमा यस्तो सुविधा छ, उस्तो सुविधा छ भनेर मात्र हामी बस्न सक्दैनौँ। हाम्रो स्रोत-साधनले भ्याएसम्म आपतकालीन अवस्थामा उपचार गर्नुपर्छ। त्यसैले जनिकै उपलब्ध एम्बुलेन्स, अस्पताल, चिनेजानेका चिकित्सक वा स्वास्थ्यकर्मीहरुको सम्पर्क नम्बर राखिरहनुपर्दछ। कुनै आकस्मिक अवस्था आइलागे तुरुन्तै सम्पर्क गरेर नजिकैको आकस्मिक सेवा प्राप्त हुने अस्पतालमा बिरामीलाई पुर्‍याउनुपर्छ।

निम्न अवस्था आइपरे त्यसलाई इमर्जेन्सी ठानेर जतिसक्दो चाँडो आकस्मिक सेवासम्पन्न अस्पताल पुर्‍याउनुपर्दछः

  • छाती तथा माथिल्लो पेटको  दुखाइसँगै  खलखली पसिना आउने, बान्ता आउने, सास फेर्न गाह्रो हुने, रिङ्गाटा लाग्ने, छातीको दुखाइ गर्धन्, कुम हुँदै हाततिर सर्न थाले।
  • पेट, छाती तथा अन्य अंगमा अचानक जोडले दुखे।
  • सास फेर्न गाह्रो भए।
  • खाने कुरा वा अन्य बाह्यवस्तु   घाँटीमा अड्किए।
  • अनियन्त्रित रक्तस्राब भए।
  • खोक्दा वा बान्ता हुँदा रगत निस्किए।
  • गर्ववती महिलाको पेट दुखे वा योनीबाट असामान्य रगत बगे।
  • रिङ्गटा लागे वा वेहोस भए।
  • एक्कासी बोल्न नसक्ने, हिँड्न नसक्ने, शरीरको कुनै अंग चलाउन नसक्ने भए, मुख बाङ्गो भए।
  • आँखा पल्टाएर जिउ दह्रो पारेर काँप्न थाले।
  • एक्कासी आँखा धमिलो देख्ने वा देख्दै नदेख्ने भए ।
  • ठूलो चोटपटक लागे, हाड भाँचिए।
  • सवारी दुर्घटनामा परेर गम्भीर घाइते भए।
  • आगोले वा अरु तातो वस्तुले पोले वा ठूलो भोल्टेजको करेन्ट लागे।
  • वीष सेवन गरे।
  • आत्महत्याको प्रयास भए।

यस्तो बेला के गर्ने?

  • आफू सुरक्षित रहने। इमर्जेन्सी अवस्थामा कहिलेकहीँ परिस्थिति अचानक बदलिन सक्छ। जस्तोः बेहोस भएको व्यक्ति होसमा आउने, नबोलेको मानिस बोल्ने आदि। यस्तो बेला नआत्तिने।
  • आफूले के सहयोग गर्न सकिन्छ निर्णय गर्ने। नजानी-नजानी सहयोगको नाममा बिरामीलाई हानी नपुर्‍याउने।
  • सहयोग लिन सकिने अन्य व्यक्तिको सहयोग लिने, हारगुहार माग्ने।
  • बिरामी बेहोस भएर ढलेको ठाउँ सुरक्षित छैन भने आफूलाई सुरक्षित राख्दै, बिरामीलाई सुरक्षित स्थानमा सार्ने।
  • बिरामीलाई पल्टेको अवस्थाबाट उठाएर बसाउने प्रयास नगर्ने।
  • गर्धनमा चोट लागेको अवस्थामा बाहेक बिरामीलाई कोल्टे पारेर सुताउनु उपयुक्त हुन्छ ताकि श्वासनली खुला होस्, बान्ता वा अन्य बाह्य वस्तु श्वासनलीमा जान नपाओस्।
  •  गर्भवती महिलालाई बाँया कोल्टे सुताउने।
  • रक्तस्राब वा झाडापखालाले सिकिस्त भएको बिरामीको गोडामुनि सिरानी राखिदिने।
  • बिरामीलाई अस्पातल लैजाँदा घाँटी निहुरिने गरी नराख्ने, सास फेर्न गाह्रो नहुने गरी  लैजाने।
  • टाउको, गर्धन वा ढाडमा चोट लागेका बिरामीलाई  ढाड तथा गर्धन नहल्लिने गरी अस्पातल पुर्‍याउने।
  • बिरामीलाई न्यानो राख्ने। तर नाक, मुख नछोप्ने, नगुम्स्याउने।
  • चोट लागेको, भाँचिएको अंगमा काम्रो बाँध्ने।
  • छोटो तथा सुरक्षित बाटोबाट नजिकको  अस्पताल पुर्‍याउने।
  • आकस्मिक अवस्थामा मानिसको ज्यान जानुको प्रमुख कारण शरीरका प्रमुख अंग मस्तिष्क, फोक्सो तथा मुटुमा पर्याप्त अक्सिजन पुग्न नसक्नाले हो। त्यसैले श्वासनलीमा अवरोध हुन नदिने तथा प्रमुख अंगहरुमा रक्त सञ्चालन बढाउने उपाय अपनाउने।

(गुरुङ गण्डकी मेडिकल  कालेज, पोखरामा प्राध्यापन गर्छन् साथै उनी आकस्मिक सेवा विभागका प्रमुख हुन्)

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


पढ्नै पर्ने