काठमाडौं- विदेशी मुद्रा अपचलको आरोप लागेका नेपाल वायु सेवा निगमका वरिष्ठ पाइलट सुवर्ण अवालेको उडान अनुमति रोकिएको विषयमा सर्वोच्च अदालतले सरकारसँग कारण मागेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले गत साउनमा पाइलट अवालेलाई जहाज उडानमा रोक लगाउने निर्णय गरेको थियो।
_x000D__x000D_
प्राधिकरणको निर्णयको विरोधमा अवाले सर्वोच्च अदालत पुगेका थिए। उनले असोज २२ गते प्राधिकरणले कानुनविपरीत आफ्नो उडान अनुमति लाइसेन्स नै खारेज हुने गरी निर्णय गरेको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए। उनको रिटउपर मंगलबार सर्वोच्चका प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको एकल इजालसले उडान अनुमति रोक्ने निर्णय, आधार र कारण खुलाउन भन्दै लिखित जवाफ माग गरेको हो।
_x000D__x000D_
सर्वोच्चले १५ दिनभित्र लिखित जवाफ पेस गर्न नेपाल वायुसेवा निगम र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नाममा यस्तो आदेश जारी गरेको हो। अवालेलाई उडान अनुमति रोक्ने निर्णयविरुद्ध अन्तरिम जारी गर्ने वा नगर्ने विषयमा अर्को छलफलमा निर्णय गर्ने भन्दै बहसमा सहभागी हुन समेत सर्वोच्चले आदेश दिएको छ।
_x000D__x000D_
वरिष्ठ क्याप्टेन अवाले २०७३ चैत २८ गते जहाज कमान्ड गरेर दुबई उड्न लाग्दा ९३ हजार ६ सय अमेरिकी डलरसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका थिए। उनीमाथि विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ को दफा १७ (१) बमोजिम बरामद भएको डलरको नेपाली बिगो ९६ लाख ९० हजार ४ सय ८ रुपैयाँ बराबरको रकम जरिवाना हुने ठहर गरिएको थियो।
_x000D__x000D_
अवालेविरुद्ध एक वर्षभन्दा बढी चलेको मुद्दामा काठमाडौं जिल्ला अदालतले २०७४ चैत २२ गते उक्त रकम राजस्व अनुसन्धान विभागमा धरौटी राखेको देखिँदा त्यही रकम यस अदालतमा झिकाई जरिवानाबापत फरफारक गर्नु भनी फैसला गरको थियो । त्यसपछि निगमले पाइलट अभाव भएको भन्दै विदेशी मुद्रा अपचलनको आरोप लागेका आवलेलाई पुनः उडानमा ल्याउने गरी प्राधिकरणमा लाइसेन्स नवीकरणका लागि पत्रचार गरेको थियो। निगमको पत्रचारपछि प्राधिकरणले अवालेको लाइसेन्स नवीकरणका लागि मेडिकल टेस्ट गराउने निर्णय गरेको थियो। त्यसका लागि प्राधिकरणका स्वास्थ्य सुपरिवेक्षक डाक्टर खगेन्द्र श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको थियो। फौजदारी अभियोगपछि क्याप्टेन अवालेको स्वास्थ्य अवस्था जाँच गरी सिफारिससहित प्रतिवेदन बुझाउने जिम्मेवारी उक्त समितिलाई दिइएको थियो। अवालेको स्वास्थ्य तथा मनोवैज्ञानिक परीक्षणपछि समितिले उनलाई उडान गर्न दिन नमिल्ने निष्कर्ष सहितको प्रतिवेदन प्राधिकरण महानिर्देशक सञ्जीव गौतमसमक्ष बुझाएको थियो ।
_x000D__x000D_
सोही प्रतिवदेन अनुसार गौतमले अवालेको लाइसेन्स नवीकरणको विषयमा निर्णय गर्न मन्त्रालयका सचिव कृष्ण देवकोटासँग पनि राय लिएका थिए। देवकोटाको निर्देशनलगत्तै प्राधिकरणले अवालेलाई उडान अनुमतिमा रोक लगाउने निर्णय गरेको थियो।
_x000D__x000D_
करिब ३० वर्षअघि ट्विनअटर जहाज उडाएर निगममा जागिर सुरु गरेका ५६ वर्षीय अवालेले त्यसपछि प्रशिक्षक पाइलट हुँदै ‘बोइङ ७५७’ जहाज उडाउन थालेका थिए। पछिल्लो दुई वर्षदेखि भने उनी ‘एयरबस ३२०’ जहाजको वरिष्ठ क्याप्टेनका रूपमा काम गरिरहेका थिए।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।