उर्जामन्त्री र क्यानडाली प्रतिनिधिमण्डलबीच भेट, जलासययुक्त आयोजना निर्माणमा चासो

Nepal Live

काठमाडौं– क्यानडाले नेपालको जलविद्यूत क्षेत्रमा लगानी गर्ने सन्दर्भमा चासो राखेको छ। क्यानेडियन प्रतिनीधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका सांसद ब्रेड ट्रोस्टले बुधबार उर्जा, जलस्रोत तथा सिचाइँमन्त्री वर्षमान पुनसँगको भेटमा यस्तो चासो राखेका हुन्। सांसद ट्रोस्टले जलासययुक्त आयोजना निर्माणबारेसमेत चासो राखेको उर्जा, जलस्रोत तथा सिचाइँ मन्त्रालयले जनाएको छ।

सांसद ट्रोस्टसहितको क्यानडाली प्रतिनिधीमण्डलसामु मन्त्री पुनले नेपालको जलस्रोत क्षेत्रमा हालसम्म भएको लगानी र सम्भावनाका बारेमा प्रकाश पारेका थिए। मन्त्री पुनले सरकारले १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको बताएका थिए।

भेटमा मन्त्री पुनले देशभित्रै १० वर्षमा १० हजार मेगावट बिजुली आवश्यक रहेको भन्दै त्यसका लागी सरकार क्षेत्रीय बजारको निर्माणमा लागिरहेको प्रष्ट पारे। उनले हाल नेपालमा लगानीको वातावरण बनेको भन्दै त्यसका लागि क्यानडाली लगानीकर्तालाई प्रेरित गरिदिन सांसद ट्रोस्टलाई आग्रह समेत गरे।

‘उर्जा मन्त्रालयले ५ वर्षमा ५ हजार र १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्न तीब्र गतिमा काम गरिरहेको छ। यो लक्ष्य निकै महत्वकांक्षी पनि मानिएको छ।’, मन्त्री पुनले भने, ‘यो लक्ष्य पूरा गर्न वैदेशिक लगानीको समेत आवश्यकता छ। यसका लागि नेपाल सरकार क्यानडा र त्यहाँका लगानीकर्तालाई आग्रह गर्दछौं।’

उनले आगामी वर्ष ४ सय ५६ मेगावाटको तामाकोशी जलविद्युत आयोजना निर्माण सम्पन्न हुने भन्दै त्यसपछि उर्जामा नेपाल आत्मनिर्भर बन्ने जानकारी दिए।

मन्त्री पुनले भारत, चीन र बङ्गलादेशसँग उर्जा सहकार्यका लागि हस्ताक्षर भएको बताए। भेटमा उनले बङ्गलादेशले नेपालबाट ५ सय मेगावाट र भारतले १५ सय मेगावाट बिजुली नेपालबाट किन्ने जानकारीसमेत दिए।

भेटमा मन्त्री पुनले नेपाल र क्यानडाबीच निकै पुरानो सम्बन्ध रहेको भन्दै आगामी दिनमा दुई देशको सम्बन्ध मजबुत बन्ने विश्वास व्यक्त गरे।

मन्त्री पुनले नेपालमा क्यानडाको राजदूतावास खोल्न समेत भेटमा आग्रह गरेको उर्जा मन्त्रालयले जनाएको छ। उनले नेपालको प्रजातान्त्रिक र शान्ति प्रक्रियामा क्यानडाले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुका साथै आगामी दिनमा समेत नेपालको विकासमा क्यानडाले निरन्तर सहयोग पुर्याउनेमा विवास व्यक्त गरे।

उनले राष्ट्रसंघ महाशभाको ७३औं महाअधिवेसनका दौरानमा दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा निर्माण भएको द्धिपक्षीय परामर्श संयन्त्रले आगामी दिनमा दुवै देशबीच सम्बन्ध र सहकार्य अझ प्रगाढ हुनेमा आशावादी रहेको धारणा राखे।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार