ad

फैलिँदै मुस्ताङी स्याउको बजार, कृषि आधुनिकीकरण परियोजनाले किसान उत्साहित

वासुदेव पौडेल/नीरज थकाली

Nepal Live

पोखरा- मुस्ताङको घरबजोङ गाउँपालिका–५ ठिनीका कर्म गुरुङ ५ हजार बोटमा स्याउ फलाउँछन्। स्याउको व्यावसायिक खेतीबाट निकै रमाएका छन् उनी। 

गतवर्ष उनले रु एक करोडको स्याउ बिक्री गरेका थिए। सिँचाइको राम्रो प्रबन्ध हुनसके अरु ५ हजार बोट थप्ने तयारीमा छन्। मुस्ताङको स्याउ पोखरा लगायतका बजारमा अत्याधिक माग हुने गरेको उनले बताए।

नामझैं कर्मशील ५३ वर्षीय उनको बगैंचामा स्थायी रुपमा १२ जनाले रोजगारी पाएका छन्। मुख्य याममा दैनिक काम गर्नेहरु नै ५० जनाभन्दा बढी हुन्छन्। 

विशेषगरी पोखरा, काठमाडौं लगायतका सहरमा असोज, कात्तिक र मङ्सिरसम्म मुस्ताङको स्याउ बिक्री हुने गर्दछ। मुस्ताङका स्थानीयवासीले अन्य सिजनमा बिक्रीका लागि स्याउको चाना काटेर सुकुटी बनाउँछन् भने यसबाट रक्सी पनि तयार गर्छन्।  तर, मुस्ताङमा स्याउखेतीको धेरै सम्भावना रहे पनि अझै त्यसको उपयोग हुन नसकेको उनको भनाइ छ। 'यसतर्फ आकर्षण बढाउन सके बढ्दो युवा विदेश पलायन रोकिन्छ,' गुरुङले भने।

यतिखेर पोखराको बजारमा मुस्ताङका स्याउ भित्रिइसकेको छ, माग पनि निकै छ। फलफूल बिक्री केन्द्रका साथै डोकोमा स्याउ बोकेर बेच्न हिँड्ने व्यापारी पनि मुस्ताङको स्याउ भन्दै ग्राहकलाई आकर्षित गरिरहेका देखिन्छन्। 

मुस्ताङका स्याउ प्रतिकिलो रु १५० देखि १८० सम्म बिक्री भइरहेको  पोखराको चिप्लेढुङ्गास्थित लेखनाथ भरतपोखरी फलफूल सेन्टरकी सञ्चालिका शान्तिमाया पौडेलले बताइन्। 'मुस्ताङका स्याउ पाएसम्म सर्वसाधारणले अरु खोज्दैनन्,' उनको भनाइ छ।

उच्च हिमाली भेगमा पाइने स्याउ मुस्ताङको मुख्य खेती हो। स्याउबाट यहाँका धेरै स्थानीयवासी राम्रो आयआर्जन गरेका छन्। 

कश्मीरबाट ल्याइएको थियो बिरुवा
जिल्लामा स्याउ खेतीको व्यावसायिकता भने २०२२ पछि मात्र सुरु भएको पाइन्छ। २०२२ सालमा तत्कालीन कृषि मन्त्रालयअन्तर्गतको फल उद्यान विभागले भारतीय राजदूतावासको सहयोगमा भारतको कश्मीरबाट स्याउका बिरुवा ल्याएर वितरण गरिएको थियो। 

मार्फाका स्याउ उद्यमी ७५ वर्षीय विष्णु हिराचनका अनुसार सरुमा प्रत्येक घरमा तीनतीन वटा स्याउका बेर्ना बाँडिएको थियो। मार्फामा सबैभन्दा पहिले एक रोपनी जग्गामा १५ वटा बेर्ना लगाएर आफूले व्यवसाय सुरु गरेको बताउने हिराचनले त्यसयता निरन्तर स्याउको बिक्री गर्दै २०३६ सालदेखि त्यसबाट रक्सीसमेत बनाउन थालेको जानकारी दिए।

हिराचनको स्याउबाट रक्सी बनाउने नीलगिरि डिष्टीलरी सञ्चालनमा छ। सो डिष्टीलरीबाट वार्षिक रु एक करोड २५ लाखको स्याउको रक्सी बिक्री हुने गरेको छ। नीलगिरि जस्तै स्याउको रक्सी उत्पादन गर्ने सात-आठ उद्योग जिल्लामा सञ्चालनमा आइसकेका छन्। 

स्याउका व्यापारी साउन महिनामा मुस्ताङ पुगी बगैँचा हेरेर बैना गर्ने गर्दछन्। सामान्यतः तीजदेखि नै यहाँका बगैँचामा स्याउ टिप्ने काम सुरु हुन्छ। यसवर्ष तीजदेखि नै स्याउ पोखरा लगायतका बजारमा पुग्न थालेको स्थानीयवासीले बताए। जिल्लामा लगभग एक हजार २ सय हेक्टर क्षेत्रफलमा स्याउ लगाइए पनि हाल ४१५ हेक्टर क्षेत्रफलबाट मात्र उत्पादन हुन थालेको छ। 

स्याउ जोन घोषणा
जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण तल्लो मुस्ताङका कोवाङ, लेते, टिटी लगायतका स्थानमा स्याउखेती विस्तारै कम हुँदै उपल्लो भेगतर्फ बढ्दै गएको पाइन्छ। जिल्लाको सम्भावनालाई दृष्टिगत गरी नेपाल सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्लालाई स्याउ जोन घोषणा गरी यसको विकास एवं विस्तारमा पहल थालेको छ। 

थासाङ गाउँपालिका–३, ४ र ५ वडाबाहेक जिल्लाका सम्पूर्ण क्षेत्र समेट्ने गरी स्याउ जोनको कार्यक्रम सुरु गरिएको परियोजना कार्यालय मुस्ताङका वरिष्ठ कृषि अधिकृत शम्भुबहादुर देवले जानकारी दिए।

मुस्ताङका घरबजोङ, लोमन्थाङ, ल्हो घेकर दामोदर कुण्ड, बारागुङ मुक्तिक्षेत्र र थासाङ गरी पाँच गाउँपालिका छन्। उनका अनुसार अघिल्लो वर्ष जिल्लामा ५ हजार ३ सय मेट्रिक टन स्याउ फलेकामा यसवर्ष ५ हजार ८ सय मेट्रिक टन फल्ने अनुमान गरिएको छ। 

परियोजना कार्यालयले स्याउका लागि उपकरण औजार अनुदानमा दिने, बजारीकरण लगायतमा कृषकलाई सहयोग गर्ने भएको कृषि अधिकृत शिवपुजन गुप्ताले जानकारी दिए। मुस्ताङमा पाँच चुच्चे, गोल्डेन, फुजी, गल्लेगल्ले जस्ता प्रजातिका स्याउ फल्ने गरेकामा त्यसमध्ये सुनौला र पाँच चुच्चेको बजारमा बढी माग भएको व्यवसायी बताउँछन्। 

केही वर्षयता स्याउको व्यापार गर्दै आएका घाँसाका युवा व्यापारी सम्राट गौतमले मुस्ताङको स्याउको बजारमा अत्यधिक माग रहेको बताए। बजारमा ग्राहकलाई झुक्याउँदै मुस्ताङको स्याउ भन्दै अन्य स्थानका स्याउ बिक्री हुँदै गएको स्थानीय उत्पादकको गुनासो छ।रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


पढ्नै पर्ने