‘यत्रो पैसा खर्च गरेर पढाउँदा पनि राम्रो गर्न नसक्ने भनेर बाबा रिसाइरहनुहुन्थ्यो, त्यसैले सरकारीमा आएको।’ एक किशोरीको यस्तो भनाइ सुनेर मन चसक्क भयो। उनी काठमाडौंको निजी विद्यालय छाडेर सामुदायिक विद्यालयमा पढ्न आएकी विद्यार्थी हुन्।
_x000D__x000D_
निजीबाट सामुदायिक विद्यालयका माथिल्लो कक्षामा भर्ना हुने धेरैजसो विद्यार्थीको जवाफ प्रायः एउटै हुन्छ– उच्च शिक्षामा छात्रवृत्ति पाइन्छ, सरकारी जागिरमा प्राथमिकता पाइन्छ। तर, ती किशोरीको जवाफ हामी अभिभावकलाई झस्काउने खालको थियो।
_x000D__x000D_
कक्षा ९ पुगेपछि प्राविधिक शिक्षा पढ्न मन लागेर उनी त्यही सामुदायिक विद्यालयमा प्राविधिक धारतर्फ भर्ना भइन्। तर, गाह्रो लागेर केही महिनापछि छाडिन् र साधारण धारतर्फ नै फर्किइन्। ‘पढाइ बिग्रियो भने बाबालाई नराम्रो लाग्ला भनेर प्राविधिक शिक्षा छाडें,’ मलिन स्वरमा उनले भनिन्।
_x000D__x000D_
धेरै बालबालिका यस्तो दबाब र त्रासमा हुर्किरहेका हुन्छन्। हामी अभिभावक आफ्ना केटाकेटीलाई यस्तै व्यवहार गरिरहेका छौँ। तेरो शिक्षामा यति पैसा खर्च भइरहेको छ, तर पढाइ खत्तम। जे भन्यो त्यही किनिदिएको छ, पुर्याइदिएको छ। त्यही पनि पढाइमा जिरो। फलानोलाई हेर त कस्तो अवस्थामा पनि कति राम्रो गरेको छ, उसबाट सिक्। उसकाे .... खा। हामी के भन्न मात्र बाँकी राख्छौँ होला।
_x000D__x000D_
अझ स्कूलबाट पढाइमा ‘केयरलेस’ गरेको कुनै गुनासो आउनुपर्छ– फलानोको आउँदैन त। तेरो नै गल्ती होला। यसरी दोष थोपर्दै आफ्नो बच्चा निर्दोष हुनसक्ला भन्ने सोच्दै नसोच्ने पनि छौँ हामी कतिपय अभिभावक। यत्रो खर्च गरेर ʻटपʼ स्कूलमा पढाउँदा पनि राम्रो पढिनस्। अब कि नराम्रो स्कूल कि चाहिँ सरकारी स्कूलमा हालिदिन्छु भनेर तर्साउँछन् कति अभिभावक।
_x000D__x000D_
यसो गर्यो भने बालबालिकाले पढाइमा प्रगति गर्छन् भन्ने बुझाइ र विश्वास छ धेरै अभिभावकको। तर यसबाट उनीहरुको आत्मसम्मानमा चोट पुगिरहेको हुन्छ। उनीहरु आफू अपमानित भइरहेहो ठान्छन्। उनीहरुमा आत्मविश्वास घट्न थाल्छ। तनाव उत्पन्न हुन थाल्छ। अपरिपक्व उमेरमा यसको व्यवस्थापन गर्न सक्दैनन् र उनीहरुको मनमा आत्महत्यासम्मको सोच आउन सक्छ। अब पनि राम्रो रिजल्ट ल्याइनस् भने निकालेर सरकारी स्कुलमा हाल्छु भनेर अभिभावकले बारम्बार भनेपछि केही समयपहिले आफन्तकी छोरीले सुसाइड गर्छु भनेकी थिइन्।
_x000D__x000D_
_x000D_किशोरावस्थाका छोराछोरीलाई पढाइ खर्चको कुराले कोसिरहने, अरुसँग तुलना गरिरहने, आफूले भनेजस्तै यो–यो गर्नैपर्छ, यो गर्न नपाउने भनेर घेरा हाल्दै जाने हो भने उनीहरुलाई आफ्नो कुनै महत्व नभएको महसुस हुन थाल्छ।
_x000D_
_x000D__x000D_
राम्रो स्कुलमा राखिदिएको छ, भनेको कुरा सबै पूरा गरिदिएको छ, त्यसैले जसरी भए पनि राम्रो ग्रेड ल्याउनुपर्छ भनेर किशोरावस्थाका छोराछोरीलाई पढाइ खर्चको कुराले कोसिरहने, अरुसँग तुलना गरिरहने, आफूले भनेजस्तै यो–यो गर्नैपर्छ, यो गर्न नपाउने भनेर घेरा हाल्दै जाने हो भने उनीहरुलाई आफ्नो कुनै महत्व नभएको महसुस हुन थाल्छ। खाली गाली खाने वा दोष आउने त हो नि भनेर विस्तारै उनीहरु पचाउन थाल्छन्। यसले शैक्षिक उपलब्धिमा त नकारात्मक असर पर्छ नै। चिन्ताजनक कुरा चाहिँ के हो भने उनीहरु आमाबुबाको नजिक जान पनि मन गर्दैनन्। टाढिन थाल्छन्।
_x000D__x000D_
जब दूरी बढ्न थाल्छ, उनीहरु समस्या व्यक्त गर्दैनन्, डराउँछन् । परीक्षाको नतिजा बिग्रियो भने लुकाउन थाल्छन्। कुनै गल्ती भयो भने अपराध गरेसरह लुकाउँछन्। यसकारण कुलतमा फस्ने वा मानसिक समस्यामा पर्नसक्ने जोखिम हुन्छ। उनीहरुको पनि आफ्नै विचार र चाहना हुन्छ। उनीहरु पनि ठूलाबाट माया अनि सम्मान चाहन्छन् भनेर जब बालबालिकालाई भावनात्मक रुपमा बुझ्न कोसिस गरिँदैन, ठूलो भएपछि त्यही भोगाइअनुसार उनीहरुको अभिभावकसँग सम्बन्ध हुन्छ। लाख कोसिस गर्दा पनि त्यो संबन्ध सुमधुर हुन सक्दैन।
_x000D__x000D_
ʻस्कूलको फी तिरिदिनुहुन्थ्यो। भनेजति पैसा दिनुहुन्थ्यो। तर मेरो भावनात्मक कुरा बुझ्ने प्रयास कहिल्यै गर्नुभएन। आजसम्म म आफ्नो बुबासँग नजिक हुन सकिनँ,ʼ गएको शुक्रबार मेरो छोराको स्कुलमा आयोजित अभिभावक शिक्षा कार्यक्रममा प्रशिक्षकले यसरी आफ्नो अनुभव सुनाए।
_x000D__x000D_
मेरो व्यक्तिगत भोगाइको कुरा गर्ने हो भने, मेरो सुखद बाल्यकालको श्रेय आमा बुबा दुवैलाई दिन्छु। बढी चाहिँ बुबालाई नै। धनकुटाको सरकारी स्कुलबाट निकालेर धरानको मेरो पालाको टप बोर्डिङ स्कूलमा भर्ना गर्नुभयो। तर, न कहिल्यै खर्चको कुरा सुनाउनुभयो। न कहिल्यै मनमा ठेस लाग्नेगरी कुनै शब्द बोल्नुभयो। न त कहिल्यै आफ्नो रिस वा कुन्ठा म र भाइहरुमाथि पोख्नुभयो। उहाँलाई पनि जागिरको सिलसिला वा घर परिवारको मामिलामा कति तनाव हुन्थ्यो होला। यस्तो लगाऊ, त्यस्तो नलगाऊ वा यो गर त्यो नगर, कहिल्यै कुनै लक्ष्मणरेखा कोर्नुभएन। यस्तो व्यवहारले आफूमाथि कत्रो विश्वास छ भनेर नराम्रो काम गर्न हुँदैन वा पढाइमा मिहिनेत गर्नुपर्छ भनेर जिम्मेवार बनाउँदो रहेछ।
_x000D__x000D_
केटाकेटीलाई हुर्काउने र सही वातावरण दिने कुरामा सबै बुबा र आमा उत्तिकै संवेदनशील नहुनु सायद उनीहरुको शैक्षिक, सामाजिक कारणसँगै फरकफरक भोगाइ पनि हो। त्यसैले आमा बढी वा बुबा कम संवेदनशील हुन्छन् भन्ने जस्तो लाग्दैन। मेरी साथीकी छोरी पढाइलेखाइमा मात्र होइन, अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ट हुन्छिन्। उनले छोरीका लागि घरमा साह्रै राम्रो वातावरण बनाएकी छिन्। कतिसम्म भने छोरीको लेखपढका बेला उनी आकस्मिक बाहेक अरु फोन कल उठाउँदिनन्।
_x000D__x000D_
यस्तै शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहाल बेलाबेला असल अभिभावकका रुपमा अनुसन्धानकर्ता डा प्रत्युष वन्तको उदाहरण दिइरहनुहुन्छ। विद्यालय तहको पढाइ नसकुन्जेल बच्चालाई लिन आफैँ विद्यालय पुग्ने र घरमा उनीहरुसँग समय बिताउने नियम उहाँले बनाउनुभएको रहेछ। यसका लागि दिउँसो ३ बजेपछि अरु कामका लागि कतै समय नदिने गरी व्यवस्थापन गर्नुभएको रहेछ। हामी कतिजना अभिभावकले यसरी समय दिएका छौँ? कति त चिया र कफीमै व्यर्थै समय फालिरहेका हुन्छौँ।
_x000D__x000D_
_x000D_शैक्षिक उन्नतिका लागि अभिभावकले सन्तानलाई दिने सार्थक समय तथा सकारात्मक वातावरण पनि एउटा महत्वपूर्ण पाटो हो।
_x000D_
_x000D__x000D_
हो त है भनेर हामीमध्ये केही कम्तीमा महसुस त गर्छौं। तर कति चाहिँ तिनकै भविष्यका लागि त हो नि यति दुःख गरेको भनेर स्वीकार्नै मान्दैनन्। शैक्षिक उन्नतिका लागि अभिभावकले सन्तानलाई दिने सार्थक समय तथा सकारात्मक वातावरण पनि एउटा महत्वपूर्ण पाटो हो। साथै अभिभावकको शैक्षिकस्तर, आर्थिक अवस्था, गतिला शिक्षक, शिक्षण विधि, विद्यार्थीको रुची र क्षमता जस्ता मुख्य पक्षले विद्यार्थीको सिकाइ उपलब्धिमा असर पारिरहेको हुन्छ।
_x000D__x000D_
जब केटाकेटीको शैक्षिक वा अन्य सवालमा समस्या आउन थाल्छ, उनीहरुसँग सार्थक समय बिताउन जोड दिनुपर्छ। सार्थक समय यस्तो होस् कि उनीहरुसँग नजिक भएर साथीजस्तै व्यवहार गरेर विस्तारै उनका कथाव्यथा खोतल्न सकियोस्। साथ समर्थन दिन सकियोस्।
_x000D__x000D_
हामी ठूलालाई त आफ्ना व्यथा मन मिल्ने वा कुरा बुझ्नेसँग पोख्दा र उसबाट भावनात्मक साथ पाउँदा अब संसार नै जित्छु जस्तो लाग्छ नि हैन। आफूले गरेको व्यवहारबाट चित्त दुखाएको भए केटाकेटीसँग माफी माग्न पनि सकिन्छ। यसो गर्दा मन हलुका हुन्छ। सानो भइँदैन। बरु उनीहरु नजिक आउन थाल्छन्।
_x000D__x000D_
यसरी मायालु वातावरणमा कुराकानी हुन थालेपछि सबल र दुर्बल पक्ष पत्ता लगाएर आवश्यकताअनुसार उनीहरुलाई सहयोग गर्न सकिन्छ। शारीरिक र मानसिक रुपमा आइरहेको परिवर्तनका कारण उनीहरुलाई सम्झाउन बुझाउन सजिलो त पक्कै छैन। कम्ता रिस उठाउँछन् र कहिलेकाहिँ। तर पनि उनीहरुलाई के समस्या परेको छ? भनेर धीरतापूर्वक बुझ्ने प्रयास गर्नैपर्छ। हुर्कंदै गरेका वा किशोरावस्थाका बालबालिकासँग कसरी व्यवहार गर्ने भनेर हामीले सिक्नैपर्छ। त्यसैले छोराको स्कुलमा हुने अभिभावक शिक्षासम्बन्धी कार्यक्रममा सहभागी हुन थालेकी छु।
_x000D__x000D_
त्यसो त हामीलाई आमाबुबा महान हुन् भनेर भनिँदै सुनाइँदै आएको छ। जन्म दिएपछि हुर्काउनु त आमाबुबाको कर्तव्य नै हो। तर बाल्यकालमा जसले केटाकेटीको भावना बुझ्छन्, सुखद बालापनको अनुभूति दिलाउँछन्, तिनै साँचो अर्थमा अभिभावक हुन्। सकारात्मक वातावरण बनाइदिएर आफ्ना सन्तानलाई उनीहरुको क्षमतामा विश्वास गर्न सिकाउने नै असल आमाबुबा हुन्।
_x000D__x000D_
गल्ती कमजोरी बर्बादीको शुरुवात् होइन, यसबाट सिक्दै जीवनमा अघि बढ्न सकिन्छ भन्ने विश्वास केटाकेटीमा जगाउने अभिभावक नै महान् हुन्। यस्तो अनुभव संगाल्न पाए तिनले पनि तिनका केटाकेटीलाई त्यस्तै व्यवहार गर्न सिक्छन्। यसका लागि हामीले बाल्यकालमा उनीहरुमाथि भावनात्मक रुपमा प्रशस्तै लगानी गर्नुपर्छ। यसो ग¥यौं भने मात्र आर्थिक लगानीको प्रतिफल आउँछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।