बालगोपालेश्वरको शैली विवाद : कसरी पुनर्निर्माण गर्ने रानीपोखरीको मन्दिर?

Nepal Live

२०७२ सालको भूकम्पले विभिन्न पुरातात्विक सम्पदामा ठूलो क्षति पुर्‍यायो, तिनको पुनर्निर्माण हुने क्रममा छ। तर, रानीपोखरीको संरचना पुनर्निर्माणमा देखिएको विवादले यसको काम कहिले सकिने टुंगो छैन।

नेपाल संवत् ७९० अर्थात् विसं १७२७ मा कान्तिपुरका राजा प्रताप मल्लले रानीपोखरी निर्माण गराएका थिए। ३ सय ४५ वर्षपछि सो मन्दिर मन्दिर २०७२ सालको भूकम्पमा परी पूर्ण क्षति भयो। ४ वर्ष हुन लाग्दा पनि धरहरा र रानीपोखरी खण्डहरकै रुपमा छन्। अझै पनि पुनर्निर्माण गर्नुपर्ने हतारो सम्बन्धित पक्षले महसुस गर्न भ्याएकै छैन। 

पुननिर्माण गर्नु त परकै कुरा, रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर कस्तो स्वरुपमा बनाउने भन्ने समेत टुंगो लागेको छैन। संयुक्त राष्ट्रसंघीय शिक्षा, विज्ञान तथा संस्कृति संगठन (युनेस्को) ले विश्वसम्पदा सूचीमा राखेको काठमाडौंको रानीपोखरी पुनर्निर्माणमा परम्परागत निर्माण सामग्री प्रयोग नगरी कंक्रिट प्रयोग गरिएको भन्दै सो काम तत्काल रोक्न २०७३ भदौमा पत्र लेखेको थियो। 

रानीपोखरीको मन्दिर कुन शैलीमा निर्माण गर्ने?
रानीपोखरी र त्यसबीचको बालगोपालेश्वर मन्दिर कुन शैलीमा निर्माण गर्ने भन्ने टुंगो नै नभई सेनालाई निर्माण गर्न जिम्मा लगाउने समेत चर्चा यदाकदा चल्ने गरेको छ। ऐतिहासिक सम्पदा रानीपोखरी पुनर्निर्माण सम्बन्धमा हामीबीच विवादैविवाद देखिन्छ।  

विसं १७२५ माघ शुक्ल त्रयोदशीका दिन रानीपोखरीको प्राणप्रतिष्ठा गरी निर्माण सुरु गरिएको थियो। १७२७ आश्विन पूर्णिमा अर्थात् २ वर्षभन्दा कम समयमै पोखरी परिसर र मन्दिरको निर्माणकार्य सम्पन्न भएको पाइन्छ। जंगबहादुर र जुद्ध शमशेरले पनि दुई वर्षभन्दा कम समयमै निर्माण सम्पन्न गरेका कमै मात्र उदाहरण छन्। अहिलेकै जस्तो सुस्त गतिमा काम हुने हो भने अझै एक दशकमा पनि रानीपोखरी र धरहरा लगायतका क्षतिग्रस्त सम्पदाको पुनर्नि‍र्माण हुन सक्ने देखिँदैन। 

विसं १८९० को भूकम्पबाट क्षतिग्रस्त रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर पछि गएर जंगबहादुरको पालामा गुम्बज शैलीमा बनाइएको थियो। 

जंगबहादुरको पालामा गुम्बज शैलीमा बनेको बालगोपालेश्वर मन्दिर सहितको रानीपोखरीको चित्र। यो तस्बिर विसं १९९० सालको भूकम्प आउनुभन्दा अगाडिको हो। सौजन्य : कान्तिपुर


१९९० सालको भूकम्पमा भत्किएपछि जुद्ध शमशेरले सो मन्दिर गुम्बज शैलीमै पुनर्निर्माण गराए। 

२०७२ सालको भूकम्पभन्दा पहिलेको रानीपोखरीबीचमा रहेको बालगोपालेश्वर मन्दिर


तत्कालीन प्रुसिया (हालको जर्मनी, पोल्यान्ड, रुस, डेनमार्क, बेल्जियम, चेक, स्विट्जरल्यान्डका केही भूभाग) का राजकुमार नेपाल भ्रमणमा आउँदा सन् १८४५ फेब्रुअरीमा बनाइएको चित्रमा रानीपोखरीको बीचमा ग्रन्थकुट अर्थात् शिखर शैलीमा मन्दिर निर्माण गरिएको देखिन्छ। १ सय ७३ वर्ष पुरानो सो चित्रमा दरबार हाइस्कुल बन्नुपूर्वका भवनहरु बायाँतिर देखिन्छन्। बायाँपट्टिकै भवनमाथि स्वयम्भू र त्यसभन्दा पछाडि अर्को डाँडो पनि देखिन्छ। स्वयम्भू डाँडामा स्वयम्भूको स्तूप र प्रतापपुर तथा अनन्तपुर मन्दिरहरु स्तूपको दायाँबायाँ देखिन्छन्। 

सो चित्रलाई उनीभन्दा १ सय २४ वर्षअगाडि नेपाल आएका इटालीका जे स्विट् इ पोलिटो डेसिडेरी तिब्बतबाट भारत फर्कने क्रममा गरेको यात्रा विवरणले पनि पुष्टि गर्दछ। 

प्रुसियाका तत्कालीन राजकुमार नेपाल भ्रमणका क्रममा त्यहाँका कलाकारले तयार पारेको चित्र। उक्त चित्रमा रानीपोखरीबीचमा रहेको मन्दिरको पृष्ठभूमिमा देखिएको अहिले नागार्जुन भनिने डाँडो देखिन्छ।


बालाजुदेखि तेर्सो भएर अग्लो हुँदै गएको हालको नागार्जुन दरबार भएको डाँडोको बनावट सो चित्रमा भएजस्तै अहिले पनि तस्बिरमा उस्तै देखिन्छ। करिब १ सय ७३ वर्ष पुरानो चित्र र अहिलेको स्वरुपमा कुनै परिवर्तन देखिँदैन। मैले यो कुरा आफैं परीक्षण पनि गरेर हेरेको छु। रानीपोखरीबाट कही दिनपहिले मैलै आफैं लिएको तस्बिर र त्यो पुरानो तस्बिरबीच खासै ठूलो तात्विक भिन्नता देखिँदैन। अहिले लिइएको तस्बिरमा पनि नागार्जुन डाँडो उही रुपमा रहेको पाइयो।  

२०७५ असोज १ मा लेखक आफैंले रानीपोखरीबाट लिएको नागार्जुन डाँडोसहितको तस्बिर।


पुरानो चित्रको स्वरुपलाई काल्पनिक चित्र भनेर व्याख्या गरिएको छ। राजकुमार स्वदेश फर्केपछि कल्पनाकै आधारमा बनाउन लगाइएको भन्ने पुरातत्व विभागका पूर्वमहानिर्देशक डा साफल्य अमात्यको भनाइ मेल अहिले आएर खाएको पाइँदैन। पुरानो चित्रमा देखाइएको र अहिलेको तस्बिरको अवस्था अध्ययन गरे यो कुरा थप प्रस्ट हुन्छ। 

चित्रकला भनेको अगाडि देखिएका जीवन्त दृश्यलाई कागजमा उतारिने कला हो। काल्पनिक चित्र नै बनाएको भए त रानीपोखरी मन्दिर र पछाडि पृष्ठभूमिका चित्रहरु स्वयम्भूनाथ स्तूपका दायाँबाया गजुर देखिने चित्र नमिल्नुपर्ने हो। नागार्जुन डाँडाको बनावट अहिले पनि तस्बिर खिचेजसरी ठ्याक्कै मिल्ने थिएनन्। 

पुरानो चित्रमा देखिएको रानीपोखरीबीचमा रहेको बालगोपालेश्वर मन्दिर जाने बाटो पनि अहिलेकै रुपमा देखिन आउँछ। यसकारण रानीपोखरी र बीचको मन्दिर त्यसबेला कल्पनाका आधारमा मात्र कोरिएको अथवा सो तस्बिर नै काल्पनिक हो भन्न मिल्दैन। 

तीन भागमा लेखिएको पुस्तक ‘आर्किटेक्चर अफ नेवर्स, अ हिस्ट्री अफ बिल्डिङ टाइपोलोजिज एन्ड डिटेल्स इन नेपाल’का लेखक डा निल्स गुस्चोले यी सबै पेन्सिल स्केचको मूलप्रति बर्लिन संग्रहालयमा हेरेका थिए। उनले यी स्केचका बारेमा टिप्पणी गरेका छन्। ‘यी स्केच न कुनै स्केल (मापन, मान परिमाण) अनुसारको छन्, न त कुनै विस्तृत विवरण नै छ। कसले बनाएको भनेर पनि उल्लेख छैन। यी स्केच कुनै वास्तुकलात्मक विवरण भने होइनन्, तर अतीतको मिठो सम्झना मात्र हुन्’ भनी गुस्चोले उल्लेख गरेका छन् भनेर डा साफल्य अमात्यले यो चित्रलाई प्रमाणिक मान्न नसकिने बताएका छन् (नागरिक, अक्षर, ३० भदौ २०७५)।

पुराना भेटिएका मल्लकालीन चित्रको आधारमा नेपाली शैलीमै बनाइनुपर्छ भन्ने भक्तपुर नगरपालिको आग्रह बमोजिम नै मल्लकालीन शैलीमा बनाउन महिना दिन अगाडिमात्र पुरातत्व विभाग सहमत भएको छ।

राजकुमार स्वदेश फर्केपछि सो टोलीका कलाकारले पहिले अपरिस्कृत स्केच कोरेर जर्मनी फर्केपछि काल्पनिक दृश्यहरु समेत राखी तयार गरेका थिए भन्न सकिने थुप्रै आधार छन्। किनभने रानीपोखरीका उत्तर–पश्चिमतिरका घरहरु, उत्तरतिरको सानो डाँडा र पोखरीको डिलमा पुरुष बसी कुराकानी गरिरहेको दृश्य सबै काल्पनिक नै हुन्। राजकुमारका भ्रमण वत्तान्तमा पाइएका १५ वटै स्केचमा धेरै काल्पनिक कुरा मिसिएका छन्। राजकुमारको भ्रमणका बेला सोही ठाउँमा बसी बनाएका चाहिँ होइनन्। कलाकारले स्केचहरु सम्झनाको भरमा आफ्नो देशमा फर्केपछि बनाएका हुन्। कल्पना र वास्तविकता मिश्रित यी स्केचलाई कुनै पनि हालतमा कसैले ठोस र बलियो प्रमाण मान्न मिल्दैन भनी डा अमात्यले लेखेको पाइन्छ। प्रुसियाका राजकुमारको तस्बिरको प्रामाणिकता पुष्टि गर्ने प्रमाण छैनन् भन्नेमा पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल र पूर्व महानिर्देशक अमात्यको विचार मिलेको छ। 

सन् १८४५ अर्थात् १९०२ सालमा नेपाल भ्रमणबाट स्वदेश फर्केपछि राजकुमारको देहान्त भएको ९ वर्षपछि सन् १८५३ (१९१०) मा छापिएको भ्रमण वृत्तान्तमा पेन्सिलले कोरिएका १५ चित्र छापिएका छन्। रत्न पुस्तक भण्डारले प्रकाशन गरेको कैलाश म्यागेजिनको वर्ष ७ अंक १, १९७९ (२०३६) मा यो कुरा प्रकाशित छ। जसमा सम्पादक हाभार्ड के कुलोयले टिप्पणी लेखेका छन्, ‘राजकुमारले काठमाडौं उपत्यका र नुवाकोटको भ्रमण गरेका थिए।’ बर्लिनमा प्रकाशित यो भ्रमण वृत्तान्त २ भागमा प्रकाशित छ। बृहत् आकार अर्थात् १८ केजी तौलको २२ह्१६ इन्च साइजमा पहिलो भागमा १ सय २ पृष्ठ छन्। जसमा ६५ चित्र र ३ नक्सा छन् भने दोस्रो भागमा १ सय ३४ पृष्ठ, ४१ चित्र र ३ नक्सा भएको उल्लेख गरेका छन्। 

राजकुमार जहाँजहाँ पुगे त्यो स्थानको चित्र बनाएको भ्रमण वृत्तान्तमा उल्लेख छ। कलकत्ता, पटना भई नेपाल आउँदा हेटौंडा, भीमफेदी, टिस्टुङ, स्वयम्भूनाथ, हनुमानढोका, नागार्जुनको चित्र बनाएको पाइन्छ। चित्र कसले बनाएको भन्नेमा विवाद छैन। नुवाकोट अर्थात् ककनीबाट देखिने धौलागिरी, धादिङको हाल गणेश हिमाल, गोसाइँथान अर्थात् गोसाइँकुण्ड नजिकको लाङटाङ हिमाललाई त्यतिबेला गोसाइँथान भनी चित्रमा औंल्याएका छन्। बाघ सिकारको चित्र, नुवाकोट दरबारको चित्र अहिले पनि मिल्दोजुल्दो देखिन्छ। काठमाडौ दरबार, थानकोट आदि स्थानका नेपाली घरको बनावट ठाउँअनुसार चित्रमा कोरिएको छ। 

भक्तपुरको बत्सला र सिध्दिलक्ष्मी पनि शिखर शैलीका मन्दिर हुन्। काठमाडौं उपत्यकामा ग्रन्थकुट अर्थात् शिखर शैलीका मल्लकालीन मन्दिरमध्ये पाटन दरबार परिसरमा रहेको नरसिंह नारायण मन्दिर अहिलेसम्म भेटिएमध्ये सबभन्दा पुरानो मानिन्छ।

प्रुसियाका पश्चिमी जगत्का कलाकारले नेपालबाट फर्केपछि नेपालमा पुगेका स्थानको चित्र कल्पनाको आधारमा लेखेको भए यहाँका घर, मन्दिरको बनावट, नुवाकोट दरबार, हात्ती सिकारको दृश्य, रानीपोखरीबाट देखिने नागार्जुनको डाँडाको बनावट मिल्ने थिएनन्। राजकुमारको भ्रमण वृत्तान्तका सबै चित्र सम्बन्धित स्थानमा बसेर कोरेको देखिन्छ। युरोप फर्केपछि फोटोग्राफी नभएको समयमा विदेशी युरोपेलीले नेपालको तत्स्थानको चित्र सम्झिएर कोरेका भन्ने डा अमात्यको कथन अमिल्दो देखिन्छ। चित्रमा देखिएका स्वरुपलाई काल्पनिक चित्र अथवा राजकुमार स्वदेश फर्केपछि काल्पनिक रुपमा बनाउन लगाएका भनी भन्न मिल्ने देखिँदैन। स्वयं चित्रले नै सत्यतथ्य देखाइरहेको छ, बोल्नै पर्दैन। काल्पनिक भए त रानीपोखरी मन्दिर र पछाडि पृष्ठभूमिका चित्रहरु स्वयम्भूनाथ स्तूपका दायाँ–बायाँका गजुर देखिने थिएनन्। नागार्जुन डाँडाको अहिलेकै बनावट तस्बिर खिचेजसरी मिल्ने थिएनन्।  

चित्रको कुनै स्केल (मापन, मान, परिमाण) आदि नखुलेको भन्ने डा निल्स गुस्चोको लेखाइलाई पनि अमात्यले खण्डनको आधार लिनु भएको पाइयो। आजभन्दा करिब १ सय ६३ वर्षअगाडि बनाइएका चित्रको मापनमा पछि विवाद आउला भनेर स्केल खुलाउने कुरा भएन, अथवा मापन पद्धति नै आइसकेको थिएन होला। चित्रको बनावट मिले नमिलेकोबाट तथ्य पत्ता लगाउने हो। ओल्ड फिल्डले बनाएका वा नेपाली कलाकार राजामान सिंहले बनाएका कुनै पनि चित्रमा स्केल खुलाइएको पाइँदैन। न त मल्लकालकै अन्य कुनै चित्रमा स्केल खुलाइएको पाइन्छ। 

प्यागोडा वा छत्रे शैलीमा छानाको तहतह बनाएर लगिन्छ भने शिखर शैलीमा चाहिँ तलबाट माथितिर क्रमशः सानो हुँदै चुच्चो पारेर बनाइन्छ। दुवैको टुप्पोमा गजुर हालेर टुंग्याइन्छ।

भक्तपुरको बत्सला र सिध्दिलक्ष्मी पनि शिखर शैलीका मन्दिर हुन्। काठमाडौं उपत्यकामा ग्रन्थकुट अर्थात् शिखर शैलीका मल्लकालीन मन्दिरमध्ये पाटन दरबार परिसरमा रहेको नरसिंह नारायण मन्दिर अहिलेसम्म भेटिएमध्ये सबभन्दा पुरानो मानिन्छ। राजा प्रताप मल्लले नै निर्माण गराएका स्वयम्भूको प्रतापपुर र अनन्तपुर पनि यही शैलीका मन्दिर हुन्।

भारतपछि नेपालको बेलायती रेसिडेन्सीमा सर्जन भएर आएका हेनरी एम्ब्रोस ओल्डफिल्ड सन् १८५० देखि १८६३ सम्म नेपाल बसेका थिए। सर्जन भए तापनि उनलाई भारत आउनुअघि नै चित्रकलामा पारंगत पारेर पठाइएको रहेछ। त्यतिबेला क्यामेराको आविस्कार भइसकेको थिएन। उनले नेपालका सम्पदाहरुको धेरै चित्र आफैले बनाए। अन्य कलाकारलाई पनि बनाउन लगाए। उनले दुई भागमा ‘स्केचेज फ्रम नेपाल’ नामको पुस्तक लेखेका थिए। 

सोही पुस्तकमा नेपालका सम्पदालाई बिगार्ने काम गरेकोमा २ वटा विषयका सम्बन्धमा उनले टिप्पणी गरेको पाइन्छ। पहिलो हो, काठमाडौंको रानीपोखरीबीचको त्यो अत्यन्तै सुरम्य वस्तुलाई जंगबहादुरले सन् १८५१ मा भत्काई इँटा र प्लास्टरका कुरुप संरचना बनाए, भनी लेखेका छन्।

दोस्रो हो, भक्तपुर दरबार परिसरको मूलचोकको बसन्तपुर दरबारको परम्परागत शैलीको आधा भाग भत्काएर विसं १९१३ मा भक्तपुरका गभर्नर धीर शमशेरले बेलायती शैलीमा लालबैठक भवन बनाए। दरबार परिसरमै त्यो भवन अमिल्दो रुपमा रहेको छ। नयाँ रुपमा बनाउनुअघि उनै ओल्डफिल्डले बनाएका चित्रमा परम्परागत शैलीको इँटाको गारो र बुट्टे भ्mयालहरू रहेको देखिन आउँछ। यी चित्र सम्वत् १९१० र १९११ तिर बनाएका हुन्। 

लालबैठक भनिने भक्तपुर दरबार परिसरको यो सेतो भवन विसं १९१३ मा धीर शमशेरले पुरानो भत्काएर बनाएका थिए। 


लालबैठकको पुरानो स्वरुप। यो चित्र ओल्ड फिल्डले विसं १९०० सालमा बनाएका हुन्। यसमा लालबैठक बन्नुपूर्व परम्परागत शैलीको भवन रहेको देखिन्छ।


 

नेपाली कलाकार राजमान सिंहले विसं १९०१ मा बनाएको चित्र। यसमा लालबैठक भवन बनाउनुपूर्व परम्परागत शैलीको भवन रहेको देखिन्छ।


काठमाडौंको रानीपोखरी जस्तै भक्तपुर दरबार परिसरको सिंहधाख्वा वा सिंहढोकापूर्वको लालबैठक भवन कुन शैलीमा बनाउने भन्नेमा विवाद चलेर ३ वर्षदेखि निर्माण सुरु हुन सकेन। जंगबहादुरको पालामा सम्वत् १९१३ मा बेलायती शैलीमा बनेकाले १ सय वर्ष पुरानो भएकाले सोही शैलीमा बनाइनुपर्दछ भन्ने पुरातत्व विभागको अडान थियो। पुराना भेटिएका मल्लकालीन चित्रको आधारमा नेपाली शैलीमै बनाइनुपर्छ भन्ने भक्तपुर नगरपालिको आग्रह बमोजिम नै मल्लकालीन शैलीमा बनाउन महिना दिन अगाडिमात्र पुरातत्व विभाग सहमत भएको छ।  

अब के गर्ने?
इतिहासको गल्तीलाई निरन्तरता दिइरहने होइन, सच्याउनुपर्छ। हामीले भइरहेको मन्दिर भत्काउन खोजेका त होइनौं, भूकम्पले भत्काएको भवनलाई पुरानै स्वरुपमा पुनर्निर्माण गर्न खोजेका हौं भन्ने कला र पुरातत्वविद् सुदर्शनराज तिवारीको भनाइ छ।  

पाटन मंगलबजारको विसं १६७८ सालमा बनेको भइदेग मन्दिर १९९० सालको भूकम्प अगाडि तीनतले प्यागोडा शैलीमा थियो। सो भूकम्पपछि सानो गुम्बज आकारको मन्दिर बनाएर शिवलिंग राखियो। अहिले ओल्डफिल्डकै तस्बिरको आधारमा पुरानै मल्लकालको प्यागोडा शैलीमा बनाउन पुरातत्व विभाग सहमत भएको छ। यसरी भक्तपुरको लालबैठक भवन र भइदेग भवन मल्लकालीन शैलीमा पुनर्निर्माण गर्न सहमत हुने पुरातत्व विभागलाई रानीपोखरीको गोपालेश्वर मन्दिर प्रताप मल्लकालीन शैलीमा बनाउन आपत्ति पर्नु नपर्ने हो। 

प्रताप मल्लको नेवारी र नेपाली भाषामा लेखिएको शिलालेखमा श्री श्री श्री परमेश्वर र परमेश्वरी लेखिएबाट पोखरीबीचमा रहेको देवालयलाई नै संकेत गरेको हुनुपर्छ भन्ने डा महेशराज पन्तको राय छ। प्रायः शिवालय शिखर शैलीमा बनाइए जस्तै रानीपोखरीबीचको मन्दिर पनि त्यतिबेला शिखर शैलीमा बनेको भन्न सकिन्छ।    

विभागका पूर्वनिर्देशक विष्णुराज कार्कीको समितिको प्रतिवेदन, कला र पुरातत्वविद् सुदर्शनराज तिवारी लगायत सम्पदाविज्ञ, मर्मज्ञ, अभियानकर्मी, सर्वसाधारण नागरिक पुरानै शैलीको पक्षमा छन्। अध्ययन समिति गठन गर्नुपूर्व एभिन्युज टेलिभिजनमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र विभागका महानिर्देशक दाहालले विज्ञ समितिको प्रतिवेदन अनुसार गर्ने भनी बोल्नुभएको थियो। तर विज्ञसमितिको प्रतिवेदन आएको ९ महिना भइसक्दा पनि दाहाल विवादमा रुमल्लिइरहेका छन् भने महामेयरको सक्रियता देखिन्न।

पुरातत्व विभाग आफैंचाहिँ पोखरीबीचको मन्दिर जुद्ध शमशेरका पालाकै जस्तो गुम्बज शैलीमा मन्दिर निर्माण गर्न तम्सिएको छ। जंगबहादुरले बनाएको १ सय वर्ष पुरानो भनी पुरातात्विक महत्व दिने हो भने पनि विसं १९९० पछिको गुम्बज शैली पुरातात्विक होइन। पुरातात्विक महत्वको हुन सय वर्ष पुगेको छैन। 

पुरातात्विक महत्वका मन्दिर र सम्पदाको पुनर्निर्माण भनेको संस्थापक निर्माताले जस्तो रुपमा बनाएको हो, त्यस्तै रुपमा बनाउने हो। मूल रुपमा निर्माण गर्नमा कुनै कठिनाइ भएमात्र नयाँ स्वरुपमा निर्माण गर्ने हो। त्यो पनि विज्ञहरुको सर्वसम्मतिबाट विवाद नआउने गरी परम्परागत शैलीमा निर्माण गर्नुपर्दछ। रानीपोखरीबीचको मन्दिरको सबैभन्दा पुरानो स्वरुप भनेको यही आलेखमा माथि प्रस्तुत गरिएको ‘पुरानो चित्र’ नै हो। अहिले त्यो चित्र सार्वजनिक भइसकेको अवस्थामा पुनर्निर्माणमा दसथरी विचार ल्याउनु उचित होइन। 

सन्दर्भ स्रोतः
१. डा साफल्य अमात्य, रानीपोखरीको रुप (नागरिक, अक्षर, ३० भदौ २०७५) 
२. जनैपूर्णिमादेखि रानीपोखरीसम्म, डा महेशराजपन्त
३. नागरिक दैनिक, कान्तिपुर दैनिकका विभिन्न अंकहरु
४. दामोदर न्यौपानेका लेखहरु
५. डा महेशराज पन्त, रानीपोखरीबारे खास कुरा, अन्नपूर्ण पोस्ट २६ साउन 
६. कैलाश, वर्ष ७ अंक १, १९७९, रत्न पुस्तक भण्डार, काठमाडौं
७. आर्किटेक्चरर्स अफ नेवार्स, नील ग्रुस्चो
८. स्केचेज फ्रम नेपाल, हेनरी ए ओल्ड फिल्ड
९. रानीपोखरीको रानो, कान्तिपुर, ३० भदौ २०७५
१०.सिद्धाग्नि कोट्याहुति देवल प्रतिष्ठा, पाँचतले मन्दिर न्यातपोल देवलको, डा जनकलाल वैद्य, नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान, २०६१।

इमेल : gauribkarki@gmail.com
(पुराना तस्बिर र चित्र लेखकले उपलब्ध गराएका हुन्।)

प्राप्त प्रतिकृयाहरू

प्रेम खड्का ।
पुरानै ग्रन्थ कुट सैलिमा बालगोपालेस्वर मन्दिर बनाउनु पर्छ किनकी पुरातात्त्विक सम्पदा जिवन्त रहन्छ।अन्य मठमन्दिर पनि परंरागत स्केच चित्र लाई आधार मानी त्यही सैलिमा निर्माण हुदा पुरातात्त्विक सम्पदाको अर्थ रहने थियो।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार