ad

वायु प्रदूषणले भयावह बन्दै लुम्बिनी

दीपक घिमिरे

Nepal Live

लुम्बिनी- विश्व सम्पदामा सूचीकृत पुरातात्विक सम्पदा लुम्बिनी वायु प्रदूषणको उच्च चपेटामा रहेको छ। सन् २०१६ अक्टोबरसम्म प्रदूषणको त्यति धेरै समस्या नभोगेको बुद्ध जन्मस्थल लुम्बिनी दुई वर्षयता निकै जोखिममा छ।

वातावरण मन्त्रालय र इसिमोडको तथ्यांक अनुसार लुम्बिनीको प्रदूषणको कण २.५ पार्टिकुलेट म्याटर (पिएम) मा मापन गर्दा एक सय ५५ मिलिग्राम प्रतिघनमिटर रहेको छ। जनवरी २०१७ सम्म २.५ पिएममा मापन गर्दा एक सय ४५ मिलिग्राम प्रतिघनमिटर थियो। राष्ट्रिय मापदण्ड अनुसार पिएम २.५ मा प्रदूषण मापन गर्दा ४० हुनुपर्छ।  

यस्तै, डिसेम्बर २०१६ मा पिएम १० मा लुम्बिनीमा प्रदूषण मापन गर्दा १ सय ८५ मिलिग्राम प्रतिघनमिटर पुगेको थियो। जनवरी २०१७ मा पिएम १० मा मापन गर्दा प्रदूषण १ सय ८० मिलिग्राम प्रतिघनमिटर पुगेको थियो। पिएम १० मा प्रदूषण मापन गर्दा १ सय २० हुनुपर्छ। नेपालमा प्रदूषणको कण पिएम २.५ र पिएम १० मा मापन गरिन्छ। विश्व स्वाथ्य संगठनको मापदण्ड अनुसार पिएम २.५ मा मापन गर्दा १० मिलिग्राम प्रतिघनमिटर प्रदूषण सामान्य कायम गरिएको छ। 

लुम्बिनीमा यो निकै डरलाग्दो अवस्था हो। 

पिएम २.५ कण धेरै साना हुन्छन्। जुन कपालको मोटाइभन्दा निकै मसिनो हुने वैज्ञानिकहरुले पुष्टि गरेका छन्। कपालको मोटाइ सामान्यता ७० माइक्रोमिटर हुन्छ। पिएम २.५ का मापन गर्ने प्रदूषणका कण आँखाले देख्न नसकिने निकै मसिना हुने हुदाँ स्वास लिँदासमेत सिधै सहज रुपमा फोक्सोमा जाने गर्दछ। लुम्बिनीको अहिलेको प्रदूषणका कारण थुप्रै प्रभावित बनेका छन्। 

कारण
लुम्बिनी वरिपरि दुई दर्जनभन्दा बढी उद्योगहरु रहेका छन्। सिमेन्ट, स्टिल, कागज, फ्लोर मिल, इँटा, सेन्थेटिक, खाद्य लगायतका उद्योगले बढी प्रदूषण फैलाउने गरेको वातावरण सम्बन्धी जानकारहरु बताउँछन्। नेपाल-भारत सीमा नाकाको उत्तर प्रदेश र बिहार प्रदेशमा वैध र अवैध गरी करिब एक लाख इँटा उद्योग छन्। ती उद्योगबाट निस्किने धुवाँ नेपालमा सिधै आउने र त्यसले लुम्बिनीलाई अत्याधिक प्रदूषित बनाएको वातावरण विभागका महानिर्देशक झलकराम अधिकारी बताउँछन्।

उनका अनुसार स्थानीय स्तरमा प्रयोग गरिने गुइँठा, धान, गहुँ र पराल बाल्दा निस्किने धुवाँ, सिमेन्ट उद्योगको धुलो, रासायनिक तत्व मिसिएको धुवाँ तथा भारतबाट आउने प्रदूषण नै लुम्बिनी जोखिमको कारक हो।

'सीमा क्षेत्रमा हुने फोहोर तथा प्रदूषण सीमा क्षेत्र हुँदै नेपाल प्रवेश गर्ने गर्छ, यसले लुम्बिनीमा निकै असर पुर्याउने गरेको छ,' महानिर्देशक अधिकारीले भने, 'उच्च सरकारी तहबाट यसको नियन्त्रणका लागि पहल गर्न जरुरी छ।' पुस र माघमा लुम्बिनीमा अत्याधिक प्रदूषण हुने उनले बताए। यी दुई महिना सीमावर्ती भारतको बिहार राज्यमा रहेका इँटा उद्योगले इँटा पोल्ने गर्छन्। पुरानै प्रविधिमा इँट्टा पोलिने भएकाले अत्यधिक धुवाँ निस्कन्छ, जुन सिधै लुम्बिनी क्षेत्रमा प्रवेश गर्ने गरेको छ। अन्तरदेशीय प्रदूषणका कारण लुम्बिनी उच्च जोखिममा परेकाले भारतसँग नेपाली पक्षले उच्च सरकारी तहबाट मुद्दाको रुपमा स्थापित गर्नुपर्ने उनी बताउँछन्।

विभागले राखेको प्रदूषण मापकका अनुसार लुम्बिनीपछि चितवनको सौराहा र काठमाडौंको रत्नपार्क सबैभन्दा धेरै प्रदूषण हुने क्षेत्रमा पर्छन्।

नेपाल वातावरण पत्रकार समूहका कार्यकारी निर्देशक सुबोध गौतम लुम्बिनीमा उच्च प्रदूषण बढ्नुमा तीन वटा कारण देख्छन्। विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको अध्ययन अनुसन्धान प्रतिवेदन अनुसार स्थानीय, औद्योगिक र अन्तरदेशीय प्रदूषणले लुम्बिनी उच्च जोखिममा रहेको उनले बताए। 

मृत्यु 
विश्व स्वास्थ्य संगठनको सन् २०१६ मा सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा प्रत्येक वर्ष वायु प्रदूषणका कारण ९ हजार ९ सय ४३ जनाको मृत्यु हुने गरेको छ। त्यसमध्ये ३४ प्रतिशत मुटुरोगबाट, ३२ प्रतिशत मस्तिष्कघात, १८ प्रतिशत श्वासप्रश्वास, ९ प्रतिशत फोक्सो क्यान्सर र ७ प्रतिशत एलर्जीबाट मृत्यु हुने गरेको छ।

विश्व बैंकको २०१६ को प्रतिवेदन अनुसार कुल गार्हस्थ उत्पादनको ४ दशमलव ७ प्रतिशत वायु प्रदूषणका कारण अर्थतन्त्रमा ह्रास आएको छ। यसबाट २ दशमलव ८ अर्ब वार्षिक रुपमा नोक्सान हुने गरेको विश्व बैंकको तथ्यांकमा उल्लेख छ। प्रदूषणका कारण नेपालको अर्थतन्त्रमा परेको असर न्यूनीकरणका लागि पनि सरकारले ध्यान दिनुपर्ने वातावरण सम्बद्ध सरोकारवालाले जोड दिएका छन्। 

नेपाल वातावरण पत्रकार समूहका अध्यक्ष अर्जुन ढकालले लुम्बिनी औद्योगिक करिडोरका उद्योगहरुको कार्बन उत्सर्जनले लुम्बिनीलाई प्रदूषणयुक्त बनाएको बताए। 'विश्व स्वास्थ्य संगठनले गरेको अध्ययनले पनि नेपालमै सबैभन्दा धेरै प्रदूषण लुम्बिनी क्षेत्रमा भएको देखाएको छ,' उनले सुझाए, 'नियन्त्रण नगरे मुलककै लागि ठूलो नोक्सानी हुन्छ। यसमा सरकारले बेलैमा ध्यान देओस्।'

विभागले राखेको प्रदूषण मापकका अनुसार लुम्बिनीपछि चितवनको सौराहा र काठमाडौंको रत्नपार्क सबैभन्दा धेरै प्रदूषण हुने क्षेत्रमा पर्छन्। वातावरण यी दुई स्थानबाहेक ललितपुरको पुल्चोक, काभ्रेको धुलिखेल र लुम्बिनीमा प्रदूषणको अवस्था जाँच गर्दै आइरहेको छ। आगामी २१ गतेदेखि यी क्षेत्रको प्रदूषणको अवस्था 'एप'बाटै थाहा पाउने विभगको भनाइ छ। 

पुरातत्वविद्को चिन्ता
वायु प्रदूषणका कारण मायादेवी मन्दिरभित्रको भग्नावशेष, अशोका पिलर, पुरातात्विक इँटा लगायतका बुद्धकालीन सम्पदामा असर परेको भन्दै पुरातत्वविद्‌हरुले चिन्ता व्यक्त गरेका छन्।

लुम्बिनी विकास कोषको पुरातात्विक अधिकृत हिमाल उप्रेती लुम्बिनीमा बढ्दो वायु प्रदूषणले भग्नावशेषमा धेरै असर परेको बताए। 'लुम्बिनी वरिपरि तथा सीमाक्षेत्र भारतसँग जोडिएर रहेका कार्बन उत्सर्जन गर्ने खालका उद्योगका कारण प्रदूषणको अवस्था भयावह बनिसक्यो,' उनले भने।

महानिर्देशक अधिकारीका अनुसार गुइँठा, गहुँ र धानका ठुटा नबाल्ने तथा खेतमा आगो नलगाउने हो भने प्रदूषणको दर कम हुँदै जान्छ। सिमेन्ट उद्योगबाट निस्किने धुलो तथा धुवाँ नियन्त्रण गर्न अत्याधुनिक उपकरण जडान गरिनुपर्छ।

मायादेवी मन्दिरमा रहेका भग्नावशेष, अशोका पिलर लगायत सम्पदामा केमिकलको सहयोगमा प्रदूषणको जाँच गर्दा सिमेन्टको धुलो फेला परेका थिए। सन् २०११ र २०१२ मा गरिएको जाँचबारे सरकारलाई आग्रह गरे पनि सुनुवाइ नभएको उनी बताउँछन्। 'मायादेवी मन्दिरको जमिनमुनि रहेको पानीको सतह बढ्न थालेको छ,' उनी भन्छन्, 'पानीमा नुनको मात्रासमेत बढी देखिँदा त्यसको असर पुरातात्विक इँटामा परिरहेको छ।' पानीमा नुनको मात्रा र ह्युमिडिटी बढी हुँदा त्यसको असरले इँटा गल्दै जाने उनको भनाइ छ।

उत्खननमा सहभागी युनेस्कोका अनुसन्धानकर्ताले पानीको सतह घटाउन ड्रेन बनाएर पोखरीमा पानी फाल्नुपर्ने सुझावसमेत दिएका थिए। तर पुरातात्विक वस्तु भएकाले त्यसो गर्न सम्भव नभएको उप्रेती बताउँछन्।

लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी भने वायु प्रदूषणको काम प्रभावकारी हुन नसकेको बताउँछन्। सबैभन्दा बढी प्रदूषण फैलाउने इँटा उद्योग भएकाले उद्योगीसँग बसेर छलफल गर्ने उनको भनाइ छ। 'प्रदूषण नियन्त्रणका लागि ‘फिल्टर’ लगाएर उद्योग सञ्चालन गर्न आग्रह गर्ने योजना छ,' उनले भने। 

'ग्रेटर लुम्बिनी क्षेत्र'का विषयमा काठमाडौंमा डाकिएको बैठकमा समेत प्रदूषण फैलाउने उद्योगलाई रोक लगाउने विषयमा छलफल गरेर अगाडि बढ्ने उनले बताए।

विभागका महानिर्देशक अधिकारीका अनुसार गुइँठा, गहुँ र धानका ठुटा नबाल्ने तथा खेतमा आगो नलगाउने हो भने प्रदूषणको दर कम हुँदै जान्छ। सिमेन्ट उद्योगबाट निस्किने धुलो तथा धुवाँ नियन्त्रण गर्न अत्याधुनिक उपकरण जडान गरिनुपर्छ। साथै सबै सडकहरु कालोपत्रे गर्ने तथा सडक किनारामा बिरुवा रोपेर हरियाली प्रवर्द्धन गर्नुपर्छ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


पढ्नै पर्ने