बुटवल– भन्सार छलेर नेपाल भित्र्याउँदै गरेका अवैध सामानसहित प्रहरीले शुक्रबार दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।
_x000D__x000D_
पक्राउ पर्नेमा भारत झजर जिल्ला अग्रवाल कलोनी–७ का ३१ वर्षीय गौरव गोयल र २८ वर्षीय अंकित गोयल रहेका छन्। राजश्व भन्सार सुरक्षा गुल्मबाट सशस्त्र प्रहरी निरीक्षक सुरज रिजालको नेतृत्वमा खटिएको टोलीले रुपन्देही सिद्धार्थनगर नगरपालिका–१ बेलहियामा चेकजाँच गर्ने क्रममा भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको स्काभेटरको पार्टस् र त्यसको ढुवानीका लागि प्रयोग गरेको डिएल ११ सिए ८८४१ नम्बरको भारतीय महेन्द्र केयुभी गाडीसहित दुबै जनालाई पक्राउ गरिएको हो।
_x000D__x000D_
पक्राउ गरिएको समानको भन्सार मूल्य १६ लाख २ हजार रुपैयाँ रहेको भैरहवा भन्सार कार्यालयले जनाएको छ।
_x000D__x000D_
पछिल्लो एक महिनामा भन्सार छलेर नेपाल भित्र्याइएका करीब ३० लाख रुपैयाँभन्दा बढी मूल्य बराबरका विभिन्न सामग्री बरामद गरेको राजश्व भन्सार सुरक्षा गुल्म रुपन्देहीका प्रमुख, सशस्त्र प्रहरी नायब उपरीक्षक गोविन्द खातीले जानकारी दिए।
_x000D__x000D_
पछिल्लो एक महीनामा भन्सार छलेर नेपाल भित्रिएका करीब ६ लाख ७५ हजार रुपैयाँभन्दा बढीको अवैध कुखुरा, कुखुराका चल्ला र मासुसमेत सीमा क्षेत्रमा सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको उनले जानकारी दिए। उनले सीमा क्षेत्रमा भन्सार छलेर लत्ताकपडा, किराना सामान तथा गाडीको टायर मोटरपार्टस्, मरिच, मरमसला, चिनीलगायत वस्तु अत्यधिक मात्रामा नेपाल भित्रिएको र त्यस्ता सामान नै बरामद हुने गरेको जानकारी पनि उनले दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।