काठमाडौं– केही दिनदेखि समाजिक सञ्जाल फेसबुकमा परिवार नभएको ‘खसी-खसिनी’को मासु नखान आग्रह गरिएको भिडियो ‘भाइरल’ भइरहेको छ। नजिकिँदै गएको दशैंमा ठूलो संख्यामा पशुपंक्षीको हत्या हुने भन्दै भिडियोमा हत्या गर्नै परे परिवार नभएका ‘खसी-खसिनी’को गर्न आग्रह गरिएको छ।यसरी भावुक मुद्रामा पशु हत्या नगर्न आग्रह गर्ने युवती अभिनेत्री आशिका तामाङ हुन्। केही समयअघि मात्रै उनले फिल्म ‘सुश्री’ मार्फत अभिनेत्रीको रुपमा आफूलाई अघि सारेकी थिइन्। फिल्ममा उनको ‘अपोजिट’मा अभिनेता आर्यन सिग्देलले अभिनय गरेका थिए।तामाङले आँशु झार्दै बोलेको सो भिडियो आफ्नै फेसबुकमा पोष्ट गरेकी थिइन्। सो भिडियो अहिले ट्रोलको शिकार भइरहेको छ। खासगरी उनले भिडियोमा भनेको ‘परिवार नभएको खसी खसिनी’को किस्सालाई ट्रोल बनाइएको छ।हाल जर्मनीमा रहँदै आएकी उनले केही म्युजिक भिडियोमा समेत अभिनय गरेकी छिन्।उनले बोलेका शब्दहरु सामाजिक सञ्जाल प्रयोगकर्तामाझ मजाकका विषय बनेका छन्। पशुपंक्षीप्रति प्रेम जताउने तरिका नमिल्दा ट्रोलकी शिकार भएकी तामाङले आफ्नो फेसबुकबाट भने उक्त भिडियो हटाइसकेकी छिन्।उनको सिको गर्दै यसको पुरुष ‘भर्सन’समेत एक युवाले ल्याइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।