धेरै हदसम्म रोक्न सकिन्छ आत्महत्या

Nepal Live

भनिन्छ, चरम निराशा र तनाव उत्पन्न भएपछि मानिसले आत्महत्याको बाटो अँगाल्छ। तर कारण यत्तिमात्रै होइन। आत्महत्यासम्म पुर्‍याउन मानिसलाई विभिन्न कारणले प्रेरित गरिरहेको हुन्छ। आत्महत्या के हो, यस्तो सोच किन आउँछ र यसबाट बच्न के गर्न सकिन्छ?

आउनुहोस् यसको जवाफ खोजौं।

आत्महत्या भन्नाले कुनै पनि व्यक्तिले जानीजानी आफ्नो जीवन आफैले समाप्त पार्ने कार्यलाई बुझिन्छ। जसले आत्महत्याको प्रयास अथवा आत्महत्या नै गर्दछन्, त्यसमध्ये ९५ प्रतिशत व्यक्तिलाई कुनै न कुनै किसिमको मानसिक रोग हुन्छ भन्ने कुरा अध्ययनहरूले पुष्टि गरेका छन्। त्यसमध्ये धेरैजसो व्यक्तिहरूमा आत्महत्याको कारण उदासीनता वा डिप्रेसन हुने गर्दछ। बाँकी ५ प्रतिशत व्यक्ति भने कहिलेकाहीँ एक्कासि तनावपूर्ण अवस्थामा पनि आत्महत्याको प्रयास गर्दछन्। यो मानसिक रोगले नभएर अचानक हुने घटनाक्रमसँग अथवा तनावसँग लड्न नसकेर हुने गर्दछ। 

यसका विभिन्न कारण हुन्छन्। सामान्यतया कुनै पनि मानसिक रोगका कारणहरूलाई तीन भागमा विभाजन गर्ने गरिन्छ। एउटा जैविक कारण, दोस्रो मनोवैज्ञानिक कारण र तेस्रोे सामाजिक कारण। 

मानसिक रोग बिस्तारै सुरु हुने र बढ्दै जाने भएकाले व्यक्तिलाई सुरुमा आत्महानिको सोच आउँछ। आत्महानिको सोच आइसकेपछि उक्त व्यक्तिमा भावनात्मक परिवर्तनहरू आउन थाल्छन्। यो भावानात्मक अवस्थाबाट गुज्रिसकेपछि उसले अब योजना बनाउन थाल्छ। यसरी, मानसिक रोगबाट एक्कासि आत्महत्या भइहाल्दैन बरु यो क्रमिक रूपमा विकसित हुने गर्दछ। 

कुनै पनि व्यक्तिमा आत्महत्याको सोच छ अथवा उसले आत्महत्या गर्दैछ भने उक्त व्यक्तिमा केही संकेत अवश्य देखिन्छन्। निराश हुने, सहयोगविहीन महसुस गर्ने वा आफू मूल्यहीन भएको ठान्ने आदि। पहिला यस्ता सोच नआएको तर हालको अवस्थामा मूल्यहीन, सहयोगविहीन, आशाविहीन सोचहरू आइरहेको छ भने सो व्यक्तिमा आत्महत्या गर्ने सम्भावना छ भनेर हामीले बुझ्नुपर्दछ। अर्को कुरा, हालको समयमा आएर यदि उक्त व्यक्ति एकदमै हिंस्रक भइरहेको छ, छटपटाहट देखिन्छ वा एक्लो महसुस गरेर कसैसँग पनि नबोल्ने, एक्लै टोलाएर बस्ने गरिरहेको छ भने त्यस्तो अवस्थामा पनि उक्त व्यक्तिले आत्महत्या गर्न सक्छ भनेर बुझ्नुपर्दछ। त्यस्ता व्यक्तिलाई घरपरिवारले सहयोग चाहिन्छ र मानसिक परामर्श दिलाउनुपर्छ। 

हरेक व्यक्ति आफ्नो जीवनको अन्तिम क्षणसम्म पनि सफल हुने सपनाका साथ अघि बढिरहेको हुन्छ। सामान्यतया अध्ययनहरूले के देखाएका छन् भने कुनै पनि व्यक्तिले आत्महत्या गर्नुभन्दा एक–दुई हप्ताअगाडि अब आफ्नो जीवन अन्त्य गर्दैछु, यसपछि मेरा बालबच्चाको के हुन्छ भन्ने सोचेर चाँजोपाँचो मिलाउने, सम्पत्तिको भागबन्डा लगाइदिने गर्दछन्। जीवन यस्तै रहेछ, मेरो छोराछोरीको ख्याल राख्नु भन्ने खालका कुराहरू आफ्ना नजिकका नातेदार, साथीभाइ वा चिकित्सकसँग व्यक्त गर्ने गर्दछन्। त्यसकारण यस्ता खालका संकेत देख्यौं भने त्यस व्यक्तिमा पक्कै आत्महत्याको सोच छ भनेर पहिचान गर्न सकिन्छ। 

त्यस्तो अवस्थामा उसको घरपरिवार वा साथीभाइहरूले कसरी पूर्वसावधानी कसरी अपनाउन सक्छन्, जसले गर्दा उक्त व्यक्तिलाई आत्महत्याबाट जोगाउन सकियोस् ! 

उनीहरूले एकान्त खालको वातावरण खोजिरहेका हुन्छन्। त्यस्ता व्यक्तिलाई एक्लै छाड्नु हुन्न, २४ घन्टा नै निगरानीमा राखिरहने गर्नुपर्दछ। धारिलो हातहतियार, औजारहरू, त्यसैगरी डोरी, विषादीहरू उक्त व्यक्तिको पहुँचबाट टाढा राख्ने गर्नुपर्छ। उनीहरूको गतिविधिलाई नियालिरहनुपर्छ, कहिलेकाहीँ बाथरुममा गएर भित्रै आत्महत्या गर्न पनि सक्छन्।

घरको तलामाथिबाट हामफालेर पनि आत्महत्याको प्रयास गर्न सक्छन्। त्यसैले झ्यालढोका पनि खुल्ला राख्नुहुँदैन। मुख्य कुरा, यदि आत्महत्यासम्मको सोच नै आइसकेको छ भने उक्त व्यक्तिलाई सकेसम्म मानसिक परामर्श र उपचार उपलब्ध हुने अस्पतालमा भर्ना गर्दा निकै राम्रो हुन्छ।

आत्महत्याको सोच भएका व्यक्तिहरूलाई जोगाउनका लागि हामीसँग निश्चित समयावधि हुन्छ। यदि त्यस समयावधिमा उक्त व्यक्तिलाई जोगाउन सकियो भने आत्महत्या शतप्रतिशत रोकथाम गर्न सकिन्छ। तर पटकपटक आत्महत्या गर्ने सोच आइसकेपछि भविष्यमा पनि त्यो सोचे दोहोरिने वा बल्झिने अवस्था रहन सक्ने भएको हुँदा भविष्यका दिनहरूमा परिवारजन सजग रहनु अत्यावश्यक हुन्छ। यति गर्न सकियो भने पक्कै पनि आत्महत्या रोकथाम गर्न सकिन्छ। २०˗३० प्रतिशतमा भने भविष्यमा गएर दोहोरिने सम्भावना भएको हुँदा हामीले निगरानीमा राख्न आवश्यक हुन्छ।

तपाईंले नजिकको मानसिक तथा मनोसामाजिक परामर्श दिने संस्थामा गएर सेवा लिन सक्नुहुनेछ। समयमै यस्तो सेवा लिनुभयो र औषधोपचार गर्नुभयो भने आत्महत्या रोकथाम गर्न सकिन्छ। यस्ता खालका लक्षण आफूमा छ भने सजग रहेर समयमै सहयोग लिँदा राम्रो हुन्छ। तपाईंले सकारात्मक सोच विकास गर्ने, दैनिक रुपमा मर्निङ वाक गर्ने, आफूलाई मनोरन्जनात्मक क्रियाकलापमा भुलाउने गर्नुपर्दछ। यसका साथैै मनोसमाजिक सहयोग, मनोपरामर्श तथा मनोविद्को सहयोग निश्चित रूपमा आवश्यक पर्ने भएको हुँदा यी सहयोग तपार्इंले लिनैपर्ने हुन्छ। यदि तपाईंले समयमै उपचार लिनुभयो भने निराशाजनक अवस्थाबाट अघि बढेर नयाँ दियो बालेर जीवनलाई अगाडि बढाउन सक्नुहुनेछ। हार नखाऔं, बाँचे संसार जित्न सक्नुहुन्छ। 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार