ad

महिलाका यी रोग : नलजाऊँ, नलुकाऊँ

बुनु थारू

Nepal Live

केस १
दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेकी १९ वर्षीया मञ्जिला थापा (नाम परिवर्तन) ले एकदिन सहमतिमै यौन सम्पर्क गरिन् । उनको केटासाथीले कन्डम प्रयोग गरेको भए पनि भोलिपल्ट मञ्जिलाको योनी एकदम चिलाउन थाल्यो । उनले सुरुमा त्यो कुरा आफ्नो साथीलाई सेयर गरिन्। 

‘मलाई त पुरुष डाक्टरकहाँ जानै लाज लागेर एक हप्ता यत्तिकै बसेँ,’ उनले सुनाइन्, ‘साथीमार्फत महिला डाक्टरबारे थाहा पाएपछि मात्रै जँचाउन गएँ ।’ थापाथलीस्थित प्रसूति गृहमा जाँचपछि थाहा भयो उनलाई ‘भेजिनल येस्ट इन्फेक्सन’ भएको रहेछ । यस्तो इन्फेक्सनले योनी चिलाउने, रातो हुने, सुन्निने लगायतका समस्या देखापर्छन् । समयमै उपचार नगरे जटिल समस्या निम्तिने खतरा रहन्छ।

केस २
योनीमा घाउ भएका कारण निर्मला लामा (नाम परिवर्तन) पाँच वर्षयता राम्ररी हिँड्न सक्दनैन थिइन् । विभिन्न जाँच केन्द्रमा देखाउँदा सामान्य मल्हम दिएर पठाइन्थ्यो । तर रोग निको हुनुको साटो झन् बल्झिँदै गयो । एक दिन असह्य नै भएपछि उनी नर्भिक अस्पताल आइन् । चेकजाँच गर्दा उनको योनीको झिल्लीको पत्रमा प्वालैप्वाल परेको रहेछ  । सुन्निइसकेको योनीमा यति धेरै संक्रमण रहेछ कि त्यहाँबाट पीप बगिरहेको थियो । संक्रमण फैलिन नदिन एन्टिबायोटिक सेवन गराएपछि उनको बायोस्पी लिइयो । उनलाई त टिबी लागेको रहेछ । उनको उपचारमा संलग्न नर्भिक अस्पतालकी वरिष्ठ प्रसूति रोग विशेषज्ञ डा अचला वैद्य भन्छिन्, ‘त्यस्तो ठाउँको टिबी हुन्छ भनेर प्रत्यक्ष रूपमा देखिरहेकी थिएँ  । म छक्क पर्छु, कसरी उनले त्यत्तिका वर्षसम्म आफ्नो पीडा लुकाएर बसेकी होलिन् ।’

केस ३
४५ वर्षीया सानु श्रेष्ठ (नाम परिवर्तन) लाई छिनछिनमै पिसाब लागिरहने समस्या थियो । बढीमा उनी १० मिनेटसम्म पिसाब रोकेर बस्न सक्थिन् । पिसाब गर्र्दा राम्ररी ननिख्रिएझैं हुन्थ्यो । त्यही कारण उनी डिप्रेसनमा पुगिन् । पछि विशेषज्ञको सल्लाह अनुसार उनले पिसाब लाग्ने औषधिको मात्रा बढाउँदै लगिन् । अहिले उनी नियमित फलोअपमा छिन् । समस्या निकै नै सुल्झिइसक्यो । सात वर्षदेखिको समस्याबाट पार पाउँदै गएपछि अहिले उनी खुसीसाथ जीवनयापन गर्दैछिन्  । 

सामान्य रोगसमेत लुकाउँदा समस्या कतिसम्म जटिल बन्दो रहेछ, माथिका तीन केसले बताउँछन् । यी तीन महिलाझैं वर्षाैंदेखि रोग लुकाएर बस्ने अरू अनगिन्ती छन् । रोग लागेको एक त समयमा थाहा नपाउने, थाहा पाए पनि कसैलाई नभन्ने र असह्य भएपछि अस्पतालसम्म जाँदा रोग निकै छिप्पिइसक्ने कारण थप समस्या भोग्न बाध्य छन् उनीहरू।

स्तन क्यान्सर, पाठेघरको समस्या, पिसाबको संक्रमण, पायल्स, फिस्टुला, सेक्सुअल डिसअर्डर, यौनरोग आदिका बारेमा नेपालका अधिकांश महिलाहरू आफ्नो श्रीमान्लाई समेत खुलेर भन्न सक्दैनन् । आफूलाई लागेका रोगहरू वर्षौसम्म लुकाएर राख्छन् र अन्तमा जटिल समस्या भएपछि मात्र अस्पताल तथा स्वास्थ्य संस्थामा पुग्छन् । तर, त्यसबेला निकै ढिलो भइसकेको हुन्छ।

मान्य समस्या तथा सुरुवाती संक्रमण लुकाइराख्दा धेरै महिला क्यान्सरको सिकारसमेत भइसकेका छन् । समयमै निको हुने सामान्य रोगबारे बेवास्ता गर्दा त्यसले विकराल रूप लिन सक्छ । आफू महिला भएर पुरुष डाक्टरलाई कसरी  देखाउनु ? आफ्नो गुप्तांगको जाँच कसरी गराउनु ? आफ्नो समस्या कसरी राख्नु भन्ने हिचकिचाहटमा महिलाहरू जेलिएर बस्ने गरेको चिकित्सकहरू बताउँछन्।

महिलामा धेरै देखिने यौनरोग
असुरक्षित यौन सम्पर्कका कारण सर्ने रोग यौनरोग हो । महिला र पुरुष दुवैलाई यौनरोग लागे पनि महिलाबाट पुरुषमा भन्दा पुरुषबाट महिलामा यो सजिलै सर्छ । योनीबाट असामान्य श्राव हुनु, तल्लो पेट दुखिरहनु, जनेन्द्रियमा डाबर, गाँठो वा घाउ हुनु आदि महिलामा देखिने यौनरोगका लक्षण हुन् । यौन क्रियाकलापमा सक्रिय प्रजनन उमेर समूह (१५ देखि ४९ वर्ष) का व्यक्तिहरू यौनरोगको अत्यधिक जोखिम समूहमा पर्छन् । यसभित्र १५ देखि २४ वर्ष समूहका युवायुवती  सबैभन्दा जोखिममा रहन्छन्।

धेरै युवती तथा महिलाहरूमा देखिने समस्यामा सेतो गन्हाउने पानी बग्ने, पिसाब गर्दा पोल्ने, असजिलो हुने, दुख्ने, बारम्बर पिसाब लाग्ने, यौन सम्पर्क गर्दा योनीभित्र दुख्ने लगायत पर्छन् । त्यसका अलावा तल्लो पेट दुख्ने, हल्का ज्वरो आउने, ढाड दुख्ने, गुप्तांग वा वरिपरि घाउखटिरा आउने, रातो हुने, सुन्निने, गुप्तांगमा मुसा वा मासु पलाउने, तिघ्रा वा काछमा गन्थ्रिहरू सुन्निने, दुख्ने वा फुटेर घाउ हुने जस्ता लक्षण देखिन सक्छन्।

वीर अस्पतालका चर्म तथा यौनरोग विशेषज्ञ डा अनुपमा कार्कीका अनुसार समयमै  उपचार गर्दा यी रोग निको हुन्छन् तर उपचार नभएमा भने यसले शरीरको जुनसुकै अंगलाई पनि प्रभावित गर्न सक्छ । ‘यौनरोगले यौनांगमा मात्र असर पार्ने होइन । यसले होस हराएको जस्तो हुने, अन्धो हुन सक्ने, पक्षघात तथा मुटुमा समेत हान्न सक्छ,’ उनी भन्छिन् । 

यौनांगका रोग र तिनको समस्या

मुसा
यौनांगमा मुसाहरू भाइरस संक्रमणबाट उत्पन्न हुन्छन् । यौनांगमा पनि शरीरका अन्य भागमा देखिने जस्तै मुसाहरू हुन्छन् । चिलाउने, सानो सेतो वा खैरो नदुख्ने खालको गाँठो वा मुसा देखिने आदि यसका लक्षण हुन् । महिलाहरूमा यस्ता मुसा प्रायजसो मलद्वार वरिपरि, योनीभित्र अथवा योनीबाहिर आउँछन् । उपचारबिनै पनि यस्ता मुसा हराउँदै जान सक्छन् भने कुनै हराउन धेरै समय लाग्छ । धेरैजसो बढेर जाने भएकाले यसको राम्रो उपचार गर्नुपर्छ । यौनांगमा देखापर्ने मुसाले पाठेघरको मुखमा क्यान्सर हुने खतरासमेत निम्त्याउने भएकाले यसका लागि प्याप परीक्षण गर्न जरुरी छ । 

सिफिलिस
सिफिलिसलाई नेपालीमा भिरिंगी भनिन्छ । यो गम्भीर प्रकारको यौनरोग हो । धेरै जनासँग यौन सम्पर्क राख्दा यो रोग लाग्ने सम्भावना अधिक हुन्छ । भिरिंगी लागेको पुरुषसँग यौनसम्पर्क राख्दा महिलाको यौनांग वरपर घाउ देखिन्छ । यो समयमा उपचार नभए झन् जटिल बन्न सक्छ । यसको पहिलो लक्षण सानो नदुख्ने घाउ देखिनु हो । यो घाउ हप्ता दिनसम्म रहेर आफैं हराएर जान्छ तर रोग भने शरीरका विभिन्न अंगमा लगातार फैलिइरहेको हुन्छ । यसले शरीरका विभिन्न अंगमा नराम्रो प्रभाव पार्छ । त्यसपछि महिना दिनपछि घाँटीमा घाउ हुने, ज्वरो आउने, पैताला तथा हत्केलामा डावर, ठेउला उठ्न सक्छ । मुखमा घाउ आउनुका साथै जोर्नीसमेत सुन्निन सक्छ । यसको समयमै उपचार गरिएन भने मुटुको रोग, पक्षाघात, मानसिक बिरामी अनि अन्त्यमा मृत्युसमेत हुन सक्छ । गर्भवती महिलामा यो रोग देखियो भने शिशुमा समेत सर्न पनि सक्छ । 

स्यान्क्रोइड
यो किटाणुबाट हुने यौनरोग हो । यो रोग लाग्दा मलद्वारमा नरम र दुख्ने घाउ देखापर्छ । घाउबाट रगत पनि निस्किने भएकाले सफा गरिराख्नुपर्छ । त्यसबाहेक काछमा दुख्ने खालको गाँठो वा गिर्खा आउन सक्छ । यस्तो संक्रमणबाट हलुका ज्वरोसमेत आउँछ । यौनांगमा घाउ आएको बेला यौनक्रिया गर्नु हुँदैन । समयमै उपचार गरियो भने औषधिले यो रोग निको हुन्छ।

क्याइमेडिया
यदि कसैलाई यौनांगबाट सेतो पानीजस्तो बग्छ भने गोनेरिया वा क्याइमेडिया लागेको हुन सक्छ । यो रोगबाट संक्रमितसँग असुरक्षित सम्पर्क राखेमा रोग सर्छ र सुरुमा सेतो पानी बग्ने लक्षण देखिन्छ । यो एकदमै गन्हाउने हुन्छ।

सिफिलिसमा घाउ नै देखिए पनि गोनेरियामा घाउ नदेखिने तर सेतो पानी बगिरहने हुन्छ । महिलामा यो रोगको संक्रमण अन्य अंगसम्म फैलने जोखिम रहन्छ । गर्भवतीका सन्तानमा यो रोग सर्ने खतरा पनि उत्तिकै हुन्छ । नवजात शिशुलाई गोनेरिया स¥यो भने आँखामा समस्या आउने हुन सक्छ।

जेनाइटल हर्पिज 
जेनाइटल हर्पिज पनि अर्को यौनरोग हो । यसले यौनांगमा हुने खटिरा भनेर बुझाउँछ । यसका धेरै प्रकार र लक्षण छन् । यो भाइरसबाट सर्ने रोग हो । कतिपयको ओठमा यसको लक्षण देखिन सक्छ, जसलाई हामी ‘जुठो खटिरा’ भन्छौं । हर्पिज रोस्टर अर्को प्रकारको यौनरोग हो । यसमा शरीरको एक भागमा फोकाहरू निस्किने हुन्छ । यसले निकै पीडा दिन्छ, जसलाई हामी जनै खटिरा भन्छौं । 
यौनांग वरिपरिको छाला तथा तिघ्रामा चरच¥याउनु, चिलाइराख्नु अथवा दुखेको महसुस हुनु, पानी फोकाहरू आउनु आदि यसका लक्षणहरू हुन् । यी खटिरा घाउहरू बन्दै, महिनौं वा वर्षौंसम्म आउँदै जाँदै गर्छन् । यस किसिमको खटिरा निको पार्ने कुनै उपचार हुँदैन तर दुखाइ कम गर्न र घाउ पाक्न नदिन भने उपचारचाहिँ गरिरहनुपर्छ । तर मुखमा आउने सबै घाउखटिरा यौन क्रियाकलापबाट सर्दैनन् । यो ज्वरो आउँदा वा रुघा लाग्दा पनि आउँछ।

एचआइभी एड्स
यो भाइरसबाट सर्ने यौनरोग हो । यो संक्रमित व्यक्तिको रगत र वीर्य वा योनीश्रावबाट अर्को व्यक्तिलाई सर्छ । यौनक्रियाका समयमा पुरुषको भन्दा महिलाको शरीरमा एचआइभीका किटाणु सजिलै प्रवेश गर्न सक्छन् । यो निको पार्ने उपचार अहिलेसम्म छैन । यसको रोकथाम भनेको एचआइभी लाग्न सक्ने खतरामा भएका व्यक्तिहरूसँग सकेसम्म यौन सम्पर्क गर्नुहुँदैन । यौनक्रियामा सधैं कन्डमको प्रयोग गर्नुपर्छ। 

भ्याजिनल डिस्चार्ज सिन्ड्रोम
त्यसैगरी महिलाहरूमा भ्याजिनल डिस्चार्ज सिन्ड्रोम (भिडिएस) पनि धेरै मात्रामा देखिएको छ । नर्भिक अस्पतालकी वरिष्ठ प्रसूति रोग विशेषज्ञ डा अचला वैद्यका अनुसार भिडिएसका 
समस्या लिएर आउने महिलाहरू निकै छन् । उनी भन्छिन्, ‘योनीबाट सेतो पानी वा  गन्हाउने पानी बग्ने, यौनांग चिलाउने, दहीको छोक्रा जस्तो सेतो पदार्थ आउने, महिनावारी सुकेपछि संक्रमण 
बढ्ने, तल्लो पेट दुख्ने आदि समस्या महिलाहरूमा देखिन्छ।’ 

डा अचलाकहाँ उपचारका लागि एक महिला आएकी थिइन् । उनको महिनावरी रोकिएपछि (मेनोपज) पनि पिसाब फेरिसकेपछि एक–दुई थोपा रगत जाने रहेछ । सुरुमा सामान्य होला भनेर वास्ता गरिनन् । ‘मेनोपजपछि पनि किन ब्लिडिङ भएछ भनेर मैले बायस्पी गरेँ, त्यसपछि इन्डोमेट्रिक क्यान्सर (पाठेघरमा) भन्ने पत्ता लाग्यो । यो क्यान्सर प्रजनन उमेरका महिलाहरूलाई हुने सम्भावना हुन्छ,’ डा अचला भन्छिन्, ‘सुरुमा बिरामीले पत्याउन गाह्रो मानिन्, त्यही भएर उपचार पनि गरिनन् । यथार्थ त्यही थियो, उनी धेरै बाँचिनन्।’

महिनावारी सुकेपछि पनि रगत जानु एकदम घातक भएको बताउँछिन् उनी । त्यस्तो केही अनौठो लक्षण देखिए तुरुन्त डाक्टरकहाँ गइहाल्न उनले सुझाइन्।

भ्याजिनल येस्ट इन्फेक्सन (ढुसी संक्रमण)
यो यौनजन्य संक्रमण भने होइन । यसले त्यस्तो जटिल समस्याहरू उत्पादन गर्दैन । एड्स हुँदा ढुसीको संक्रमण अलि बढी हुने सम्भावना हुन्छ । यसमा योनीबाट सेतो पानी वा दही जस्तो बग्ने, योनीभित्र र बाहिर धेरै चिलाउने, पिसाब फेर्दा पिलाउने, नमिठो गन्ध आउने हुन्छ । संक्रमण लागेको थाहा पाएमा तुरुन्त चिकित्सकसँग सल्लाह लिनुपर्छ । योनी खुम्चने रोग (ब्याक्टेरियल भ्याजिनाइसिस) यो पनि यौनजन्य संक्रमण होइन । गर्भतवती महिलामा यसको कारणले बच्चा समयभन्दा चाँडो जन्मन सक्छ । यौनक्रियापछि दुर्गन्ध आउनु, अलिअलि चिलाइरहनु, सबैभन्दा बढी श्राव हुनु यसका लक्षण हुन् ।

ट्राइकोमोनासिस 
यो रोग त्यति खतरनाक त होइन तर यसमा बढी नै चिलाउने हुन्छ । यो यौनरोग हो । पुरुषमा छ भने यसले महिलामा सर्न सक्ने सम्भावना हुन्छ । यसमा खैरो वा पहेँलो दुर्गन्धित फिँज जस्तो श्राव निस्कनु, यौनांग वरिपरि चिलाउनु, पिसाब फेर्दा पोल्नु आदि लक्षणहरू देखिन सक्छन् । 

गोनोरिया र क्लामिडिया
गोनोरिया र क्लामिडिया गम्भीर प्रकृतिका रोगहरू हुन् तर समयमा उपचार गरे सजिलै निको हुन्छ । महिलामा योनी वा गुदद्वारबाट पहेँलो वा हरियो श्राव बहनु, पिसाब गर्दा दुख्नु वा पोल्नु, ज्वरो आउनु, पेटको तल्तिर दुख्नु, यौनक्रियाका समयमा पीडा हुनु वा रगत आउनु यसका लक्षण हुन् । कसैलाई त कुनै पनि लक्षण नदेखिन सक्छ । यदि समयमा उपचार गरिएन भने महिला तथा पुरुष दुवैमा संक्रमण बढ्न सक्छ र भविष्यमा बाँझोपन रहने खतरा रहन्छ । 

तल्लो पेट सुन्निने रोग
तल्लो पेट सुन्निने रोग भनेको महिलाको तल्लो पेटभित्र भएका प्रजनन अंगहरूमध्य कुनै पनि भागमा हुने संक्रमण हो । यदि यौनरोग खासगरी गोनोरिया र क्लामिडिया जस्ता रोगको उपचार भएन भने कोखको संक्रमण अर्थात् पेल्भिक इन्फ्लामेटरी डिजिज हुन्छ । यो रोग सुत्केरी वा गर्भपात गराइएको छ भने पनि हुन सक्छ । तल्लो पेट दुख्नु, धेरै ज्वरो आउनु, असाध्यै बिरामी र कमजोर भएको अनुभव हुनु, योनीबाट हरियो वा पहेँलो दुर्गन्धित श्राव हुनु अदि यसका लक्षण हुन्।  

वीर अस्पतालकी डा अनुपमा कार्कीका अनुसार यस्ता समस्याबाट बच्न सुरक्षित यौन सम्पर्क राख्नुपर्छ । यौन सम्पर्क राख्दा कन्डमको प्रयोग जरुरी छ । ‘रोग लागिसकेको छ भने दुई जनामध्ये एउटाले मात्रै उपचार गरेर पुग्दैन,’ उनले सल्लाह दिइन्, ‘दुवैले औषधि खानुपर्ने हुन्छ, निको नभएसम्म शारीरिक सम्पर्क नगर्दा नै बेस।’

वैदेशिक रोजगारमा जानेहरूले यस्ता समस्या धेरै मात्रामा बोकेर ल्याउने गरेका छन् । घुमफिरका क्रममा बाहिरबाट रोगको संक्रमण बोकेर आउने अनि पत्नीहरू पीडित भएका घटना धेरै सुन्नमा आउने गरेको छ। 

यौन सम्पर्कका क्रममा हुने चुम्बनबाट पनि रोग सर्ने खतरा हुन्छ । यस्ता यौनरोग लागेका दम्पतीले मुखमैथुन लगायतका क्रियाकलाप गरेमा पनि रोग सर्ने सम्भावना रहन्छ । कसैको मुखमा जुठो खटिरा छ भने मुखमैथुनका कारण अर्को यौनसाथीको यौनांगमा जेनाइटल हर्पिस अर्थात् मुसा देखा पर्न सक्छ।

यस्ता रोग लुकाएर बस्ने महिलाहरू छ्यापछ्याप्ती छन् । पुरुष डाक्टरकहाँ महिलाहरू जान अलि हिचकिचाउँछन् भने पुरुषको अवस्था पनि उस्तै छ । दुवै यस रोगको जोखिममा छन् तर महिलाहरू यस रोग लागेमा सजिलै अस्पताल धाउन सक्दैनन् । 

पाठेघर खस्ने समस्या
पाठेघर खस्नु भन्नाले महिलाको पाठेघर आफ्नो स्थानबाट तल झर्नु मात्र होइन । पाठेघरका साथसाथै अगाडिबाट मुत्रथैली, पछाडिबाट मलाशय र माथिबाट आन्द्राहरू सरेर तल आउनुलाई पनि पाठेघर खस्नु भनिन्छ । यसलाई मेडिकलको भाषामा ‘पेल्भिक अर्गान प्रोल्याप्स’ भनिन्छ भने स्थानीय भाषामा आङ खस्नु । पाठेघर खस्ने समस्या जुनसुकै उमेर समूहका महिलालाई हुन सक्छ । पाठेघर खस्नुको मुख्य कारण पाठेघर तथा अन्य अंग पिसाबथैली, मलाशयलाई अड्याएर राख्ने तन्तुहरूमा गडबडी आउनु वा कमजोर हुनु हो । पश्चिमा देशमा यो समस्या उमेर ढल्केकालाई बढी देखिन्छ भने नेपालमा युवा अवस्थाका महिलामा पनि पाठेघर खस्ने समस्या छ । नेपालमा महिलामा सबैभन्दा बढी पाठेघरको क्यान्सर देखिएको छ।

योनीमा केही निस्केर बसेको जस्तो हुनु, पिसाब फेर्न गाह्रो हुनु, पिसाब पूरै ननिख्रनु, खोकी लाग्दा, हिँड्दा वा पेटमा बल पर्दा पिसाब चुहिनु, ढाड दुख्नु, योनीबाट सेतो पानी बग्नु, बसेर काम गर्न अप्ठ्यारो हुनु जस्ता लक्षणहरू देखापर्छन् । महिलाको पाठेघर योनीबाट बाहिरै निस्केको भएमा शल्यक्रिया नै गर्नुपर्ने हुन्छ । शल्यक्रियाबाट कसैको पाठेघर पुरानै अवस्थामा पु¥याउन सकिन्छ भने कसैमा अवस्था हेरी पाठेघर निकाल्नुपर्ने हुन्छ।

स्तन क्यान्सर
स्तनका कोषहरू असामान्य रूपमा वृद्धि हुन थालेपछि स्तन क्यान्सरको सम्भावना हुन्छ । साधारणतया कोषहरूको वृद्धि र विभाजन शरीरको आवश्यकता अनुसार हुन्छ । जब शीघ्र रूपमा धेरै मात्रामा कोषहरू वृद्धि र विभाजन हुन्छन्, पुराना कोषहरू टाँसिएर रहन्छन् तब गिर्खा वा ट्युमर बन्ने प्रक्रिया सुरु हुन्छ । स्तनमा भएका कोष–कोषिकामा असामान्य परिवर्तन आई तिनीहरूको अनियन्त्रित तथा अनावश्यक वृद्धिबाट बन्ने गिर्खा, गाँठागुँठी र निको नहुने घाउलाई स्तन क्यान्सर भनिन्छ । त्यो प्रक्रिया क्यान्सर नहुने वा हुने दुवै प्रकृतिको हुन सक्छ । क्यान्सर हुने प्रकृतिका ट्युमरले नजिकका तन्तु नष्ट गर्छन् । ती ट्युमर शरीरको अन्य भागमा फैलिन सक्छन् । त्यसलाई शल्यक्रिया गरेर हटाए पनि फेरि उत्पन्न हुन सक्छन् । स्तन क्यान्सर प्रायः दूध उत्पादन गर्ने नलीबाट सुरु हुन्छ । स्तन क्यान्सर शरीरको कुनै पनि भागमा फैलिन सक्छ । स्तन क्यान्सर फैलिएमा हड्डी, कलेजो, फोक्सो तथा मस्तिष्कमा पनि ट्युमर हुन सक्छ । महिलाहरूमा हुने क्यान्सरमध्ये स्तन क्यान्सर दोस्रो नम्बरमा पर्छ । पहिलो पाठेघरको मुखको क्यान्सर हो । क्यान्सरका कारण हुने महिलाको मृत्युमा पनि स्तन क्यान्सर दोस्रो नम्बरमै छ। 

नदुख्ने गाँठो आएमा, स्तनको मुन्टाबाट रगत बगेमा, स्तनको मुन्टाभित्र जान थालेमा, छालामा निको नहुने घाउ आएमा, काखीमा गाँठागुँठी आएमा, स्तनको रङ परिवर्तन हुन थालेमा स्तन क्यान्सरको लक्षण देखापरेको बुझ्नुपर्छ । स्तन क्यान्सर भए÷नभएको नियमित रूपमा आफैँले परीक्षण गर्न सकिन्छ भने चिकित्सकबाट पनि परीक्षण गराउन सकिन्छ । ४० वर्षमाथिका महिलाले वर्षमा एकपटक स्तनको गिर्खा जाँच गर्न म्यामोग्राफी गर्नुपर्छ जसले गिर्खाभित्र ठोस वा तरल पदार्थ के छ भन्ने पत्ता लगाउँछ । स्तनको अल्ट्रासाउन्ड, बायोप्सी, सिटिस्क्यान, एमआरआई, पिइटी स्क्यान, छातीको एक्सरे आदि परीक्षण गर्नुपर्छ ।  

सावधानी
डा अचला वैद्यका अनुसार जसरी बिहान उठेर हामी ब्रस गर्न भुल्दैनौं त्यसरी नै हाम्रो यौनांग पनि सफा गरिराख्नुपर्छ । पिसाब गर्नेबित्तिकै पानीले पखाल्नु हुँदैन । पानीको पनि संक्रमण हुन सक्छ । सुक्खा टिस्यु पेपरले पुछ्दा राम्रो हुन्छ । एउटै हातले यौनी र मलद्वार धुनु हुँदैन । भित्री वस्त्रहरू चिसो र फोहोर लगाउनु हुँदैन, यसले संक्रमण गराउँछ । यौन जीवन पनि स्वस्थ बनाउनुपर्छ । 
‘आफ्नो यौन जीवन सुरक्षित बनायौं भने यस्ता समस्याबाट धेरै बच्न सक्छौं,’ वीर अस्पतालका युरो सर्जन डा अनिल श्रेष्ठ भन्छन्, ‘धेरै जनासँग यौन सम्पर्क गर्न भएन।’

एक जनाभन्दा बढीसँग यौन सम्पर्क नराख्ने, कन्डमको उचित प्रयोग गर्ने, असुरक्षित यौन सम्पर्क नगर्ने, यौनरोगको शंका लाग्नासाथ तुरुन्तै डाक्टरकहाँ जाने, डाक्टरले बताए अनुसार औषधि खाने र फलोअप गर्नुपर्ने उनले सुझाव दिए। 

यौनरोगका बारेमा साथीभाइसँग खुलेर कुरा गर्ने अनि यौनांगका नियमित सरसफाइमा ध्यान दिनुपर्छ । यौनरोग फेरि बल्झिन नदिन सुरक्षित यौन व्यवहार गर्नुपर्छ । चिकित्सकहरूका अनुसार संकोच र लाजका कारण महिलाहरूले रोग लुकाउँदा अनाहकमै ज्यान गुमाइराखेका हुन्छन् । यौनरोग मात्र होइन महिलाहरूमा हुने पाठेघरको समस्या, स्तनमा गाँठागुँठी पर्ने समस्या आदिका बारेमा पनि महिलाहरू खुल्दैनन् । सहरकेन्द्रित जनचेतनाका कारण गाउँघरका महिलाहरू पीडित छन्।

गाउँघरमा जनचेतनाका कार्यत्र।म पुग्न नसकेका कारण रोग लुकाउनेको संख्या धेरै रहेको डा अनुपमा कार्कीले चिन्ता व्यक्त गरिन् । ‘घरधन्दामै व्यस्त गृहिणीहरू परिवारमा खुलेर बोल्न सक्दैनन्, त्यस्ता महिलालाई उपचारका लागि आउनै गाह्रो छ,’ उनी भन्छिन्, ‘ती महिलाहरू यस्तो रोग पनि लाग्छ र भन्नेबारेमा अनभिज्ञ छन् । रोगका केही लक्षण थाहा भए पनि डरले घरबाट निक्लन सक्दैनन् ।’ रोगले सहनै नसक्नेगरी च्यापेपछि मात्र उपचारका लागि आउने भएकाले यस्ता रोगबारे चेतनासँगै गाउँगाउँमा उपचार तथा परीक्षण शिविर लैजानुपर्ने उनको सुझाव छ। 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


पढ्नै पर्ने