ठूलो आन्द्राको क्यान्सर : कारण र लक्षण

 

Nepal Live

हाम्रो शरीरमा सानो र ठूलो गरी दुई किसिमका आन्द्रा हुन्छन्। एउटा वयस्क मानिसमा सानो आन्द्राको लम्बाइ ५ देखि ६ मिटरसम्मको हुनेगर्छ भने ठूलो आन्द्रा चाहिँ डेढ मिटर लामो हुन्छ। ठूलो आन्द्रा, सिकम (सानो आन्द्रा र ठूलो आन्द्रा जोड्ने ठाँउ) बाट सुरु भई मलद्वारमा आएर टुङ्गिन्छ।

ठूलो आन्द्राको अत्यन्तै महत्वपूर्ण काम हुन्छ। यसले खाना पचाउने, पानी सोस्ने, दिसा बनाउने आदि काम गर्छ। कहिलेकाहीँ ठूलो आन्द्राको भित्री भागमा कोषिकाको अनियन्त्रित बृद्धि भएर यसको नियमित काममा बाधा पुग्छ। यसलाई नै ठूलो आन्द्राको क्यान्सर (कोलोनिक क्यान्सर) भन्ने गरिन्छ। ठूलो आन्द्राको क्यान्सर विभिन्न कारणले हुनेगर्छ। पछिल्लो समयममा खानपिनको गडबडी, बदलिँदो जीवनशैली, व्यायमको कमी आदिले ठूलो आन्द्राको क्यान्सर हुनेको संख्या बढ्दो छ। ठूलो आन्द्राको क्यान्सर विभिन्न कारणले हुने गर्छ।

कारण

१. वंशाणुगत

परिवारका कुनै सदस्यलाई ठूलो आन्द्राको क्यान्सर भएको छ भने परिवारका अन्य सदस्यलाई पनि ठूलो आन्द्राको क्यान्सर हुन सक्ने सम्भावना बढी हुन्छ। यस्तो खालको क्यान्सर कुनै कारण बिना नै देखिन सक्छ।

२. धूमपान/मध्यपान

धूमपान तथा मध्यपानले पनि ठूलो आन्द्राको क्यान्सरको एउटा कारक मध्ये पर्दछ।

३. रातो मासुको धेरै प्रयोग

रातो मासु धेरै खानेहरुलाई ठूलो आन्द्राको क्यान्सर हुने सम्भावना बढी हुन्छ। विशेषगरी पोलेको र तारेको रातो मासु धेरै खानु ठूलो आन्द्राको क्यान्सरको कारण बन्न सक्छ।

४. संक्रमण

लामो समयसम्म आन्द्रामा हुने संक्रमण 'कोलाइटिस' (अल्सरेटिभ कोलाइटिस र क्रोन्स कोलाइटिसभएका व्यक्तिलाई ठूलो आन्द्राको क्यान्सर हुने सम्भावना बढी हुन्छ।

लक्षणहरु

ठूलो आन्द्रामा हुने क्यान्सरलाई दाँया र बाँया भाग गरी दुई तरिकाले हेर्न सकिन्छ। ठूलो आन्द्राको दायाँ भागमा क्यान्सर हुँदा देखिने लक्षण र बायाँ भागमा हुँदा देखिने लक्षण फरक हुन्छन्।

दायाँ भागमा देखिने लक्षण

– कालो दिसा आउनु।

– दिसामा रगत देखिनु।

– अल्छी लाग्नु।

– शरीरमा शक्ति नभएको जस्तो हुनु।

– थाकेको जस्तो हुनु। आदि।

बाँया भागमा देखिने लक्षण

– दिसामा रगत देखिनु।

– दिसा लागेजस्तो हुनु तर नआउनु।

– शरीर दुब्लाउँदै जानु।

– खान मन नलाग्नु।

– ठूलो आन्द्रा बन्द हुनु (इन्टेस्टाइनल अब्स्ट्रक्सन)।

– वाकवाकी लाग्नु।

– पेट फुल्नु।

– दिसा नहुनु तथा ग्यास नआउनु।

यस्ता लक्षणहरु देखिएमा ठूलो आन्द्राको क्यान्सर हुनसक्ने भएकाले बेलैमा उपचार गराउनुपर्छ। समयमै उपचार भएन भने आन्द्रा फुट्न सक्छ। जसलाई मेडिकल भषामा परफोरेसन पेरिटोनाइटिस भनिन्छ।

उपचार

लक्षण देखा परिसकेपछि पहिला क्यान्सर हो/होइन भनेर पत्ता लगाउनुपर्ने हुन्छ। यसका लागि विभिन्न विधि अपनाउने गरिन्छ।

कोलोनोस्कोपी

कोलोनोस्कोपी मलद्वारबाट पाइप राखेर जाँच्ने विधि हो। यसले मलद्वारदेखि ठूलो आन्द्राको सबै भाग हेर्न सकिन्छ। यो विधिबाट आन्द्राको कुन-कुन भागमा घाउ छ?  घाउबाट रगत बगेको छ/छैन भनेर हेर्न सकिन्छ। यही विधिबाट मासुको टुक्रा निकालेर (बायस्पी) पनि परीक्षण गर्न सकिन्छ। बायस्पी गरेर क्यान्सर भएको छ/छैन भन्ने कुरा पत्ता लगाइन्छ।

पेटको सिटी स्क्यान

बिरामीको क्यान्सर कुन स्टेजको हो भन्ने पत्ता लगाउनका लागि पेटको सिटी स्क्यान गरिन्छ। क्यान्सरलाई दुई तरिकाले हेरिन्छ। सुरुको अवस्था र जटिल अवस्था। सुरुको अवस्थामै पत्ता लागेमा अप्रेसन गरेर निको पार्न सकिन्छ। तर, क्यान्सर जटिल अवस्थामा पुगिसकेको भए शल्याक्रिया गर्न पनि नमिल्ने हुनसक्छ।

अधिकांश बिरामी जटिल अवस्थामा पुगिसकेपछि मात्रै उपचारका लागि आउने गर्छन्। सुरुवाती चरणमै क्यान्सर पत्ता लागेमा, दायाँतिर क्यान्सर भएमा 'राइट हेमिकोलेक्टोमी' र बायाँतिर क्यान्सर भएमा 'लेफ्ट हेमिकोलेक्टोमी' अप्रेसन  गरिन्छ। शल्यक्रियापछि बायस्पी र सिटी स्क्यानको रिपोर्ट हेरेर क्यान्सरको स्टेज पत्ता लगाइन्छ र त्यसपछि आवश्यकता अनुसार केमोथेरापी गरिन्छ।

रोकथामका उपाय

– खानपिनमा ध्यान दिने।

– परिवारका कुनै सदस्यलाई ठूलो आन्द्राको क्यान्सर भए/नभएको पत्ता लगाउने। यदि रहेछ भने अन्य सदस्य सजग रहने।

– क्यान्सरका कुनै लक्षण देखा परेमा चिकित्सकको परामर्श लिने।

– धूमपान र मध्यपानबाट टाढै बस्ने।

– रातो मासु धेरै नखाने। मासुको सेकुवा, साँधेको वा काँचो मासु नखाने। आदि।

प्रस्तुतिः पारसविक्रम शाही

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार