ad

किन हुन्छ पत्थरी? पत्थरी हुन नदिन के गर्ने?

डा. अमितकुमार सिंह

Nepal Live

मुत्र प्रणाली अन्तर्गत मिर्गौला, पिसाबनली र पिसाब थैलीको पत्थरीको समस्या लिएर पिसाब सम्बन्धी शल्यक्रिया विभागमा आउने बिरामीको संख्या उल्लेख्य छ। यस विभागमा आउने सय जना व्यक्तिमध्ये १५ जनालाई मुत्र प्रणाली सम्बन्धी पत्थरी हुने गरेको पाइएको छ। एक पटक पत्थरी भएका व्यक्तिमध्ये करिब ४० देखि ६० प्रतिशतमा पाँच वर्षभित्र दोहोरिने सम्भावना रहन्छ। हाम्रो देशको भौगोलिक बनावट, खानपानको तरिका र स्वास्थ्य चेतनाको अभावका कारण पत्थरीको समस्या चुनौती बनिरहेको छ।

मुत्र प्रणाली सम्बन्धी पत्थरी २० वर्षभन्दा कम उमेरकालाई कमै मात्र हुन्छ। साधारणतया ४० देखि ६० वर्ष उमेरका मानिसमा मुत्र प्रणाली सम्बन्धी समस्या बढी देखिन्छ। पुरुषको पिसाबनली लामो हुने कारणले महिलामा भन्दा पुरुषमा यो समस्या दुईदेखि तीन गुणा बढी हुन्छ। मुत्र प्रणालीमा हुने पत्थरीको समस्या पित्त थैलीको पत्थरीभन्दा फरक हुनुका साथै उपचार पद्धति पनि फरक हुन्छ।

किन हुन्छ पत्थरी?

मानव शरीरको विकार वस्तुमध्ये पिसाब एक प्रकारको जटिल रसायन हो। यसमा पत्थरी बनाउने र पत्थरी बन्न नदिने दुईवटै तत्व हुन्छ। पिसाबमा रहेको क्याल्सियम र ओक्जालेटले पत्थरी बनाउँछ भने नेफ्रोक्याल्सिन, युरोपोन्टिन र ट्याम–हर्सफल प्रोटिनले पत्थरी बन्न दिँदैन। कुनै कारणवश पिसाबमा पत्थरी बन्ने तत्व बढ्यो भने यो समस्या उत्पन्न हुन्छ।

पानी कम खाने, बढी गर्मीमा काम गर्ने, पसिना धेरै बग्ने तर पानी कम खाने व्यक्तिमा मिर्गौला सम्बन्धी पत्थरी धेरै देखिने गर्छ। कतिपय अवस्थामा यो समस्या हुनाको कारण थाहा नभए पनि शारीरिक व्यायाम कम गर्ने तथा आरामदायी जीवन बिताउने मानिसमा पनि यो समस्या देखिन्छ।

तौल बढी भएको, पहिला पनि पत्थरी भएको र परिवारमा अरुलाई पनि पत्थरी भएका व्यक्तिहरुमा पत्थरी हुने सम्भावना बढी हुन्छ। कतिपय व्यक्तिमा अनुवंशिक रोगहरुले पनि पत्थरी बनाउन सक्छ। युरिक एसिडको समस्याबाट प्राताडितमध्ये करिब १० प्रतिशतलाई युरिक एसिडखालकै पत्थरी हुने सम्भावना हुन्छ।

पत्थरी भएको कसरी थाहा हुन्छ ?

कतिपय व्यक्तिमा पत्थरीको कुनै लक्षण नदेखिन सक्छ। जब पत्थरीले पिसाब बग्ने बाटोमा बाधा पुर्‍याउन थाल्छ त्यसपछि मात्र लक्षणहरु देखा पर्न थाल्छन्। पत्थरीको समस्यामा कोखा दुख्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा लाग्ने, पिसाबमा रगत देखिने, वाकवाक लाग्ने लगायतका लक्षण देखिन्छन्। लामो समयसम्म पत्थरीले पिसाबको बहावमा अवरोध भएमा पिसाबको संक्रमण हुने, मिर्गौला सुन्निने, मिर्गाैला नै संक्रमित हुने र मिर्गौला फेल हुनेसम्मको अवस्था आउँछ। पिसाब जाँच, भिडियो एक्सरे, सामान्य एक्सरे, सिटी स्क्यान र कतिपय रगत जाँचले मुत्र प्रणाली सम्बन्धी पत्थरी भएन/भएको पत्ता लाग्छ।

उपचार विधि

पत्थरीको आकार, पत्थरीको स्थान र बिरामीको अवस्थामा पत्थरीको उपचार प्रक्रिया निर्भर रहन्छ। सामान्यतः तीन तरिकाबाट पत्थरीको उपचार हुने गर्छ। पेट चिरेर, सानो प्वाल (घाउ) मात्र बनाएर र नचिरीकन। तपाईंको पत्थरी कस्तो किसिमको हो भन्ने कुरामा उपचार फरक पर्छ। किनकि कुनै पत्थरी बालुवाजस्तो नरम हुने र कुनै पत्थरी ढुंगाजस्तो साह्रो हुने भएकाले कुन विधिबाट उपचार सफल हुन्छ भन्ने कुरामा विचार पुर्‍याउनुपर्ने हुन्छ।

नचिरीकन गरिने उपचार

सिटी स्क्यानबाट पत्थरी नरम अर्थात् १० मिमिभन्दा सानो भेटियो र त्यस्तो पत्थरी मिर्गौलाको माथिल्लो र बीचको भाग वा पिसाबनलीको माथिल्लो भागमा छ भने नचिरीकन गरिने प्रविधि (इएसडब्लुएल) बाट पत्थरीको उपचार गरिन्छ। यो प्रविधिबाट पत्थरी हटाउँदा अस्पतालमा भर्ना भएर बस्नु पर्दैन। कतिपय अवस्थामा दुईदेखि तीनचोटि सम्म उपचार गर्नुपर्ने हुन सक्छ। कसैकसैको त्यति गर्दा पनि पत्थरी फुटेन भने अर्को पद्धति अपनाउनुपर्ने हुन्छ।

पिसाबको नलीमा भएको पत्थरी पिसाबनलीको कुन भागमा छ त्यसैका आधारमा नचिरीकनै उपचार गरिन्छ। मिर्गौलाको तल्लो भागमा भएको पत्थरीलाई पनि नचिरीकन आरआइआरएस विधिबाट निकाल्न सकिन्छ।

सानो प्वाल (घाउ) बनाएर गरिने शल्यक्रिया

मिर्गौलामा १० मिमिभन्दा माथिको पत्थरी छ भने, त्यो पत्थरीको कडापन हेरेर पिसिएलएल (सानो प्वाल बनाएर पत्थरी निकाल्ने प्रविधि) विधिबाट पत्थरी हटाइन्छ। यो प्रविधिबाट गरेको शल्यक्रियाले मिर्गौलालाई असर गर्दैन र मिर्गौलाको काम यथावत रहन्छ।

पेट चिरेर पत्थरी निकाल्ने विधि

माथि उल्लेखित कुनै पनि प्रविधिले पत्थरीको उपचार सम्भव नभएमा वा गर्न नमिल्ने भएमा नेफ्रोलिथोटोमी र युरेटेरोलिथोटोमी भनिने शल्यक्रियाबाट पत्थरीको उपचार गरिन्छ। तर, मिर्गौलाले १५ प्रतिशतभन्दा कम काम गरेको देखिएमा मिर्गौला नै फाल्नुपर्ने हुन सक्छ।

उपचार नगरी निको होला पत्थरी?

यदि, पत्थरी ७ मिलिमिटरभन्दा सानो छ र त्यस्तो पत्थरी मिर्गाैलाको तल्लो भागमा छैन भने प्रसस्त मात्रामा पानी पिउँदा वा केही औषधिको प्रयोगले पत्थरी हराउन सक्छ। तर, यस्तो पत्थरीले पिसाबको बहावमा अवरोध पुर्‍याएको छ भने तुरुन्त शल्यक्रिया गर्नुपर्छ। पत्थरी आफैँ निक्लेला भनेर घरमै बस्ने वा घरेलु उपचार गर्ने हुँदा मिर्गौला नै बिग्रिने अवस्था पनि आउन सक्छ। त्यसैले पत्थरीको शंका भएमा सकेसम्म चाँडो उपचारतर्फ नै लाग्नुपर्छ।

जुन तरिकाले उपचार गरे पनि यसको मुख्य उद्देश्य पिसाबको बहावलाई निरन्तरता दिनुका साथै मिर्गाैलालाई थप बिग्रिन नदिनु नै हो। मिर्गौला थप जोखिममा पर्नेगरी सबै पत्थरी निकाल्नै पर्छ भन्ने हुँदैन। तसर्थ नचिरीकन वा सानो प्वालमात्र बनाएर पत्थरी निकाल्न अपनाइने आधुनिक उपचार विधि प्रभावकारी मानिन्छ।

पत्थरी हुन नदिन के गर्ने?

१. पानी प्रसस्त पिउने। एक दिनमा दुई लिटर पिसाब बन्नेगरी आवश्यक मात्रामा पानी पिउने गरेको खण्डमा मुत्र प्रणाली सम्बन्धी पत्थरी हुने सम्भावना ४० प्रतिशतले घट्छ। यदि, हामी धेरै गर्मी ठाउँमा बस्छौँ वा धेरै पसिना बग्ने कठिन काम गर्छौं भने अझ बढी पानी पिउनुपर्ने हुन्छ।

२. मासु कम खाने। सागसब्जी धेरै खाने। मासु धेरै खाने व्यक्तिमा पत्थरी हुने सम्भावना बढी हुन्छ। विशेष गरी, रातो मासु कम खानु वुद्धिमानी हुन्छ।

३. नुन कम खाने। नुनिलो खाने कुरा, जंकफुड, प्रशोधित खाने कुरा र धेरै मात्रामा अचार नखाने।

४. क्याल्सियम भएको खाने कुराले पत्थरी बनाउने होइन। तर, प्राकृतिक रुपमा (पशु र वनस्पतिमा हुने) क्याल्सियम खानु राम्रो हुन्छ। दूध वा दुधजन्य खानेकुरा प्रतिदिन पाँच सय मिलिलिटरसम्म खान सकिन्छ। क्याल्सियम चक्की खानुपरेका खण्डमा खालि पेटमा खानु हुँदैन।

५. अक्जालेटयुक्त खानेकुरा सकेसम्म कम खाने। पालुंगो साग, सखरखण्ड, काउली, चकलेट, कफी, कालो चिया, बियर, स्ट्रबेरी जस्ता खानेकुरामा अक्जालेटको मात्रा बढी हुन्छ।

६.साइट्रेटयुक्त एवं पोटासियमयुक्त फलफूल बढी खाने। सुन्तला, कागतीजस्तो बढी साइट्रेट हुने र केरा, च्याउ, हरियो सागपात, आलुजस्तो पोटासियम बढी हुने खानेकुराको सेवनले पत्थरीको समस्या कम हुन्छ।

७. भिटामिन ‘बी ६’ पाइने अण्डा, चिज र माछाको सेवनले पनि पत्थरीको सम्भावना टार्ने गर्छ।

(डा. सिंह काठमाडौँ विश्वविद्यालय धुलिखेल अस्पतालका सर्जरीका रेसिडेन्ट हुन्)

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


पढ्नै पर्ने