काठमाडौं- २०५३ फागुन १५ मा मोतीलाल बोहोराको पदावधि सकिँदै थियो।
_x000D__x000D_
अच्युतकृष्ण खरेल र ध्रुवबहादुर प्रधान भावी आइजिपीका दाबेदार थिए। खरेललाई आइजिपी बन्न २० लाख रूपैयाँ तयार पार्ने सुझाव आयो। सरकार परिवर्तन हुने हल्लाबीच शक्तिशाली व्यक्तिबाट यस्तो प्रस्ताव आएपछि खरेल दुविधामा परे।
_x000D__x000D_
उनको प्रतिक्रिया के रह्यो? के खरेल आइजिपीको फुली लगाउनको निम्ति त्यो प्रस्ताव स्विकार्न तयार भए?
_x000D_
_x000D_पूर्व प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलको प्रकाशोन्मुख आत्मकथा ती शक्तिशाली व्यक्तिहरूको वर्णन र यस्ता थुप्रै चाखलाग्दा कथाक्रमले भरिएको छ।
_x000D_
_x000D_अच्युतकृष्ण फुटबलका सोखिन थिए। खेल्न पाइन्छ भनेरै प्रहरीमा भर्ती भए। कालान्तरमा उनले यी दुवै क्षेत्रमा सर्वोच्च तहसम्मको यात्रा तय गरे। उनी फुटबलमा राष्ट्रिय टोलीका कप्तान बने, प्रहरी फोर्समा महानिरीक्षक।
_x000D_
_x000D_आफ्नो फुटबल करिअरमा उनले खुब प्रशंसक कमाए। प्रहरी फोर्समा धेरैसँग दुस्मनी पनि मोले। चितवन र भैरहवामा गुन्डा र तस्करहरूसँग भिडे। डाँका पक्रन सीमापार गए। तस्करको बचाउ गर्ने राजनीतिक नेताहरूसँग पटकपटक झुत्ती खेले।
_x000D__x000D_
लागुपदार्थ दुर्व्यसन र गुन्डागर्दी रोक्न लामो कपाल पाल्नेलाई समात्दै कपाल कटाइदिने गरेको घटना चर्चित छ।
_x000D_
_x000D_करिब ३१ वर्ष प्रहरी सेवामा बिताएका खरेल महत्वपूर्ण राजनीतिक तथा प्रहरी संगठनभित्रका उथलपुथलपूर्ण घटनाक्रमका साक्षी हुन्।
_x000D_
_x000D_पछिल्लो समय साढे ३३ किलो सुन तस्करी छानबिनमा केही वरिष्ठ प्रहरी अधिकृत मुछिएका छन्। खरेलको आत्मकथाले सुन तस्करीका थप रहस्य उजागर गरेको छ। विगतमा दरबारकै निगरानीमा सुन तस्करी हुन्थ्यो भन्ने उनले खुलासा गरेका छन्। प्रजातन्त्र पुनर्स्थापनापछि राजनीतिक दलका केही नेताले तस्करको पक्षमा लागेर प्रहरी संगठनमाथि दबाब दिएको वृत्तान्त पनि आत्मकथामा छ।
_x000D__x000D_
प्रहरी इतिहासमा पूर्व महानिरीक्षक डिबी लामा र तत्कालीन अधिराजकुमार धीरेन्द्रका एडिसी कर्णेल भरत गुरुङ पक्राउ परेको घटना चर्चित छ। उक्त प्रकरणमा लामा र गुरुङसँग बयान लिने जिम्मेवारी खरेललाई थियो। सार्वजनिक चासोका साथ हेरिएको यो ‘हाई–प्रोफाइल’ घटना कसरी अघि बढ्यो भन्नेबारे खरेलले पुस्तकमा विस्तार लगाएका छन्।
_x000D_
_x000D_२०५७ साउन २२ गते गाडीले ठक्कर दिएर गायक प्रवीण गुरुङको मृत्यु भयो। राजपरिवारकै सदस्य संलग्न यो घटना प्रहरी संगठन निम्ति सम्भवतः सबभन्दा दुविधापूर्ण परिस्थिति थियो। त्यति बेला दोषीलाई जोगाउन कसरी चलखेल भयो भन्ने रोचक वर्णन आत्मकथामा छ।
_x000D_
_x000D_यति मात्र होइन, प्रहरी नियुक्ति, सरुवा–बढुवामा हुने राजनीतिक हस्तक्षेपदेखि संगठनभित्रै उपल्लो दर्जाका हाकिमलाई गरिने चाकडीको खुलासा गरेका छन्, खरेलले।
_x000D_
_x000D_उनको जीवनको आरोह–अवरोह फोर्सको आँखाबाट देशको राजनीतिक घटनाक्रम नियाल्ने आँखीझयाल पनि हो। उनले तत्कालीन दरबार र पञ्चहरूको दबदबा देखे। २०३६ सालको प्रजातान्त्रिक आन्दोलन भोगे। २०४६ को जनआन्दोलन दबाउन मुख्य भूमिका खेलेको आरोप खेपे।
_x000D_
_x000D_प्रजातन्त्र प्राप्तिपछि राजनीतिक दलहरू र दलीय प्रवृत्ति, राज्यका विभिन्न संयन्त्रसँग दरबारको अन्तरसम्बन्ध, माओवादी र सरकारबीच हिंसात्मक द्वन्द्व लगायत परिवर्तनका धेरै लहर उनले सामना गरे। माओवादीसँग लड्न दरबारले प्रहरीलाई अत्याधुनिक हतियार नदिने र सेना परिचालन पनि नगर्ने जटिल परिस्थितिका उनी भुक्तमान हुन्।
_x000D_
_x000D_प्रहरी संगठनभित्र हाबी राजनीतिकरण उनले आफ्नै आइजिपी नियुक्तिमा बेहोरेका छन्। माओवादी द्वन्द्व उत्कर्षमा पुगेका बेला प्रहरी संगठनको नेतृत्व सम्हालेका उनी दल, दरबार र सेनाबीच सकसपूर्ण अन्तरसम्बन्धको साक्षी बन्दै दुनै हमलापछि राजीनामा दिएर बिदा भएका थिए।
_x000D_
_x000D_खरेलको आत्मकथाले एक प्रहरी अधिकृतको चौबीसघन्टे रापिलो यात्रा अनुभूति गराउँछ। सँगसँगै, त्यो बेलाको नेपालको खेलकुद क्षेत्रको दुरवस्था छर्लंग पार्छ।
_x000D_
_x000D_एक प्रहरी अधिकृत र खेलाडीका रूपमा खरेलको भोगाइलाई आजको अवस्थासँग तुलना गरेर हेर्दा धेरै वस्तुस्थिति दुरुस्तै छन्।
_x000D_
_x000D_‘आफूलाई नायकका रूपमा स्थापित गर्ने उद्देश्यले मैले आत्मकथा लेखेको होइन,’ खरेलले भनेका छन्, ‘मेरो उद्देश्य जीवनको आरोह–अवरोहमा भोगाइका परिधिभित्रको इतिहास हराउन नपाओस्, अपव्याख्या हुन नपाओस् र आमनागरिकको सुसूचित हुन पाउने अधिकारमा खिया लाग्न नपाओस् भन्ने मात्र हो।’
_x000D_
_x000D_प्रहरी सेवाको आफ्नो कार्यकालका महत्वपूर्ण घटना, त्यस बेलाका पात्र, प्रवृत्ति, प्रशासनिक कायदा र मर्यादा, संस्थागत अन्तरसम्बन्धका साथै भिन्न भिन्न संस्थाको व्यवहार र आचरणको आलेख सुरक्षित रहोस् भनेर आत्मकथा लेखेको खरेलको भनाइ छ।
_x000D_
_x000D_पब्लिकेसन नेपालयले प्रकाशन गरेको पुस्तक आगामी शनिबार सार्वजनिक हुँदैछ। सोही दिनदेखि पुस्तक अमेजोनको पिओडी (प्रिन्ट अन डिमान्ड) मार्फत संसारभर उपलब्ध हुने उक्त प्रकाशन संस्थाकी प्रमुख कार्यकारी सैजन मास्केले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।