न्यूयोर्कमा तुहिएको नेपालको कूटनीति

Nepal Live

प्रधानमन्त्री केपी शर्मा ओली ( फाइल तस्बिर )


दुई तिहाई शक्तिको बुर्जामा उभिएका प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रसंघीय महासभा यात्रा अहिले चर्चामा छ। स्वभाविक रुपले कूटनीतिक क्षेत्रमा उनको ‘परफर्मेन्स’को लेखाजोखा हुने नै भयो। यसबाहेक प्रधानमन्त्री ओलीको कूटनीतिक मनोदशा र अन्तर्यका विषयमा पनि वृहत परिवृत्तमा छलफल भइरहेका छन्। 

के ओलीको अमेरिका प्रस्थान नेपालका लागि फलदायी भयो त? विश्लेषण यही प्रश्नको सेरोफेरामा गरौं।   

खासमा प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७३औँ महासभालाई सम्बोधन गर्ने क्रममा दिएको अभिव्यक्ति विवादित बनेको छ। प्रधानमन्त्री ओलीले महासभालाई सम्बोधन गर्दै हाल अमेरिका र चीनबीच चलेको ‘व्यापार युद्ध’मा चीनको समर्थनमा आफ्नो मत जाहेर गरेका थिए। यो पक्षता जरुरी थियो कि थिएन भन्ने कुरा हाम्रा लागि महत्वपूर्ण हुन्छ।

प्रश्न उठ्छ, त्यस्तो के भने प्रम ओलीले महासभामा?

‘विश्वमा फेरि शीतयुद्धकालीन वातावरण देखा परेको छ। व्यापारमा तनाव उत्पन्न भएको छ र बहुपक्षीयताका विषयमा प्रश्न उठाइएको छ,’ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भनेका थिए, ‘बहुपक्षीयताको रक्षा गर्नु र अन्तर्राष्ट्रिय कानुनको पालना गर्नु सबै सदस्य राष्ट्रको कर्तव्य हो।’

ईश्वरले मानिसलाई सुन्न दुईवटा कान, हेर्न दुईवटा आँखा दिएका छन् तर बोल्न एउटा मात्रै मुख दिएका छन्। यसैले एउटा असल कूटनीतिज्ञले धेरै सुन्ने र थोरै बोल्ने गर्नुपर्छ।

प्रधानमन्त्री ओलीको यस्तो अभिव्यक्ति अमेरिका र चीनको व्यापार युद्धलक्षित हो र यो अभिव्यक्तिले चीनको समर्थन गरेको ठहर र विश्लेषण विज्ञहरुको छ। सँगसँगै, कूटनीति र पराराष्ट्र मामलाका जानकारहरुले प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति नेपालको पराराष्ट्र नीतिको मर्मविपरीत रहेको समेत बताएका छन्।

नेपालले संविधानमा नै असंलग्नताको नीतिलाई आफ्नो परराष्ट्र नीतिको रुपमा व्याख्या गरेको छ। यस्तो पृष्ठभूमिमा अन्तर्राष्ट्रिय सम्मेलनमा कुनै एक देशको समर्थन र अर्को देशको विरोधमा अभिव्यक्ति दिनु गम्भीर कूटनीतिक गल्ती भएकोे भूराजनीतिक मामिलाका जानकार केशव भट्टराई बताउँछन्। 

‘प्रत्येक राष्ट्रको आफ्नै राष्ट्रिय स्वार्थ हुन्छ, हामीले पनि बिर्सन नहुने कुरा के हो भने, त्यही स्वार्थअनुरुप अमेरिका र चीन सञ्चालित भएका छन्’, भट्टराई प्रधानमन्त्रीकोे सम्बोधनलाई इंगित गर्दै भन्छन्, ‘नेपाललाई प्रत्यक्ष प्रभाव नपार्ने विषयमा प्रधानमन्त्रीले कुनै देशको समर्थनमा अन्र्तराष्ट्रिय सम्मेलनमा अभिव्यक्ति दिनु गल्ती भयो।’

देशहरुबीचको सम्बन्ध राष्ट्रिय स्वार्थबाट निर्देशित भएको हुन्छ। यस्तै साना देशहरुको स्वार्थ भौगोलिक सीमाभित्र सीमित हुन्छ भने ठूला देशहरुको स्वार्थ धेरै नै फराकिलो हुन्छ। त्यसैले ठूला देशको साना देशसँग स्वार्थ मात्रै हुन्छ, मुटु हुँदैन। त्यसैले जानकारहरु भन्छन्– वैदेशिक सम्बन्धमा भावुकताको भूमिका हुँदैन।

नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सुरक्षाविद् डा. दीपकप्रकाश भट्ट पनि प्रधानमन्त्रीको अभिव्यक्ति गलत भएको मत राख्छन्। 

‘नेपालको हालसम्मको परराष्ट्र नीति असंग्लनाकै नीतिमा आधारित छ। यदि यो परिर्वतन भएको हो भने संसदमा जानकारी गराउनुपर्ने हो’ भट्ट भन्छन्, ‘नेपालले अब आउने दिनमा कस्तो परराष्ट्र नीति अख्तियार गर्ने भन्ने विषयमा छलफल नै नभई प्रधानमन्त्रीले देशको परराष्ट्र नीतिविपरीतको अभिव्यक्ति अन्तर्राष्ट्रिय सम्मेलनमा दिनु राम्रो भएन।’ 

नीतिको राजा राजनीतिलाई सही तरिकाले सञ्चालन गर्न अब्बल कूटनीतिको आवश्यकता हुन्छ। एउटा अब्बल कूटनीतिज्ञ राजनीतिज्ञ नहुन पनि सक्छ तर एउटा राजनीतिज्ञलाई कूटनीति कसरी सञ्चालन हुन्छ भन्ने कुराको ज्ञान हुन आवश्यक हुन्छ।

फ्रान्सका अठारौँ शताब्दीका परराष्ट्रमन्त्री मोरिस दे तेलेराँको एउटा कथन छ– ईश्वरले मानिसलाई सुन्न दुईवटा कान, हेर्न दुईवटा आँखा दिएका छन् तर बोल्न एउटा मात्रै मुख दिएका छन्। यसैले एउटा असल कूटनीतिज्ञले धेरै सुन्ने र थोरै बोल्ने गर्नुपर्छ। सरकारले अन्तर्राष्ट्रिय मामिलामा हठात वचन दिने तर वचनमा अड्न नसक्ने कमजोरीका कारण नेपालको विदेशनीति अविश्वसनीय र सरकारको प्रतिबद्धता अपत्यारिलो भइरहेको छ। पूरै परिदृश्य प्रष्ट नभई समर्थन वा विरोधबारे मुख खोल्नु कूटनीतिक अपरिपक्वता हुन्छ।

महासभालाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सुभेच्छुक राष्ट्रहरुलाई मात्रै आर्थिक सहायता गर्ने बताएका छन्। अमेरिकाको विरोध गर्ने राष्ट्र अमेरिकाको साथी नहुने सिधै नभने पनि ट्रम्पको भनाइको आसय के हो भन्ने कुरा बुझ्न गाह्रो छैन। यसअघि इराक युद्धताका अमेरिकी राष्ट्रपति रहेका जर्ज डब्लु बुसले पनि यस्तै खालको अभिव्यक्ति अन्तर्राष्ट्रिय समुदायलाई दिएका थिए।

उक्त समयमा इराक युद्धको विरोध गर्ने राष्ट्रलाई बुसले भनेका थिए, ‘कि तिमीहरु अमेरिकासँग, कि अरु देशसँग।’ बुसकै झल्को दिने खालका अभिव्यक्ति दिएका ट्रम्पले महासभामा सम्बोधन गरेको दुई दिनपछि नेपालका प्रधानमन्त्री ओलीले व्यापार युद्धमा चीनको समर्थन गर्दै अमेरिकाको विरोध गरेका हुन्।

अमेरिकी कूटनीतिज्ञ तथा रणनीतिकार हेनरी किसिन्जरले आफ्नो पुस्तक ‘द वर्ड अडर’ मा सानो देश भइकन पनि १९७० को दशकमा नेपालले अबलम्वन गरेको कूटनीतिको मुक्तकण्ठले (पृ.१८१) प्रशंसा गरेका छन्।

विश्व राजनीतिमा गतिलो छाप पारेको नेपालको कूटनीति हाल आएर क्षेत्रीय हिसाबमा खुम्चिन पुगेको छ। चीन र भारतको क्षेत्रीय शक्तिको रुपमा उदय भएसँगै नेपाल पछिल्लो समय क्षेत्रीय शक्तिसँगकै सम्बन्धमा रमाउन थालेको हो। 

उत्तर र दक्षिणी छिमेकी देश चीन र भारतको आर्थिक र सामरिक दृष्टिले शक्तिराष्ट्रको रुपमा भएको उदयसँगै त्यसको बाछिटा नेपालमा आउनु स्वभाविक हो। तर विश्व राजनीतिबाट नेपाल क्षेत्रीय राजनीतिमा खुम्चिनु दीर्घकालीन रुपमा नेपाललाई फाइदा नहुनसक्ने कुरामा नेपाल सचेत हुन सकेको छैन।

अन्तर्राष्ट्रिय मञ्चमा चालेको कदमले दीर्घकालसम्म पनि कसरी असर पार्छ भन्ने कुरा बुझ्न हामी टाढा जानै पर्दैन। हाम्रा राणा शासकले एउटा देशलाई खुसी पार्न चालेको कदमले कालान्तरमा आफैंलाई कसरी प्रत्युत्पादक भयो भन्ने बुझे मात्र पुग्छ। सन् १८५७ को भारतको हैदरावादमा चलेको ‘सिपाही आन्दोलन’ दबाउन नेपालका राणा शासकले भारतमा शासन गरिरहेका ब्रिटिस शासकलाई सहयोग गरेका थिए। 

त्यसैले नेपाल जस्ता साना देशलाई अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो गर्विलो उपस्थिति देखाउने माध्यम नै देशको कूटनीतिक क्षमताले हो।

छिमेकमा रहेका साम्राज्यवादी ब्रिटिस शासकलाई खुसी पार्न सकेको खण्डमा नेपालमा आफ्नो गाथा र सत्ता सुरक्षित हुने राणाहरुको सोच थियो। यो कुरा इतिहासमा छिपेको छैन। भारत स्वतन्त्र भएपछि नेपालमा राणा शासनको विरोधमा २००७ सालमा चलेको प्रजातान्त्रिक आन्दोलनमा भारतले त्यही सिपाही विद्रोह दबाउन ब्रिटिसलाई गरेको सहयोगको रिस पोख्न नेपालको प्रजातान्त्रिक आन्दोलनकारीलाई सहयोग गर्न पुगेको भारतका नेपाल विज्ञ सुकदेव मुनी बताउँछन्। मुनीले भनेका छन्, ‘नेपालमा राणाहरुको कूटनीति टिकेन।’

फाइल तस्बिर


त्यसैले नेपाल जस्ता साना देशलाई अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो गर्विलो उपस्थिति देखाउने माध्यम नै देशको कूटनीतिक क्षमताले हो। मुटु नभएका ठूला देशको स्वार्थलाई जोगाउन आगोकोे लप्कामा हात हाल्दा असर नेपाल जस्ता साना देशलाई नै पर्ने कुरामा नेपाल बेलैमा सचेत हुनुपर्छ। नतिजाभन्दा पनि निर्णयले असर पार्ने कूटनीतिमा राष्ट्र हितलाई यस्ता फितला कदम वाञ्छनीय हुँदैन।

प्रधानमन्त्री केपी ओलीको महासभा यात्राअघि कसैले पनि यस्तो कुरा सुझाइदिएनन्, किन होला?
 

प्राप्त प्रतिकृयाहरू

Ranjan
Just a cheap propaganda against Mr PM. Dont think we have to rely on you to interpretation for his speech. This systematic media war against the current government will be met with wisdom and courage; no animosity: just a systematic debunking of distorted facts. Bring it on!

पुरुषोत्तम मुडभरी
'बहुपक्षीयताको रक्षा गर्नु र अन्तर्राष्ट्रिय कानुनको पालना गर्नु सबै सदस्य राष्ट्रको कर्तव्य हो।’ यो भनाई कसरी चीन पक्षीय भयो ? UN भनेकै बहुपक्षीय forum हो। लेखकको अासय अमेरीका बहुपक्षीयताको बिरोधी हो त्यसैले यो भनाइ ठीक छैन भन्ने देखिन्छ।

Tilak Kunwar
सत्य बोल्न ज्ञान र ऑट चाहिन्छ,, जुनकुरा केपी ओलीमा देखियो र महासभामा आफु सानों देशको हु भन्ने हिनताबोध नराखी अन्याय नगर्न औला ठड्याउनु भो।

डा.फणिन्द्र काफ्ले
हाम्रो सोचमै खोट् हो कि जस्तो लाग्यो। पटुकी को फुर्को अलिकति देखिदैमा पुरै नाङ्गियको देख्ने मानसिकता कुटनितिकता भन्दा बाहिर हुन सक्छ।

Hari Thapa
नेपालमा, धोक्रो मुसाले प्वाल परे पनि प्रतिपक्षले सरकारलाई दोष दिन्छन, भन्ने यिनको उखान टुक्के शैली, र देशको प्रधान मन्त्रि जस्तो ले हरेको कुरा मा व्यंग्यात्मक प्रतिक्रिया दिदै हिंड्ने जुन बनि थियो, तेस्कै एउटा झल्को होला, तर वोली को बनि र बोलि ले नेपाल र नेपालीले दुर्दिन देख्न नपरोस येत्ति अपेक्षा गरौं हाल लाइ !

चेेतनाथ
अन्तराष्ट्रिय कानुनको पालना सबैले गर्नुपर्नेछ भन्नु कसरी एक पक्षिय हुन्छ ? अोलीले जे बोलेका छन् नेपालीको शिर ठाडो बनाएका छन् । टिप्पणीकर्ताको कलममात्रै एक तर्फि चिप्लिएको छ।

प्रकाश
वाहियात विश्लेषण ।अत्यन्तै लघुताभासले ग्रसित, शक्तिराष्ट्र प्रती आत्मसमर्पणवादी सोचले गलेको तथा एकाङ्की परराष्ट्रनिति/कुटनितिको भजन गाउने प्रबृत्तिबाट पिडित लेख। प्र म को बक्तव्यमा कतै पक्षधरता छैन, बरू यो लेखमा अनावस्यक, अपरिपक्व र मनगणन्ते व्याख्या सिवाय केहि देखिएन ।

भाेजराज जमरकट्टेल
तर गरिबले सबैसग समान सम्बन्ध राखेकै राम्रो ।किन त यस्तो त उस्ताे भन्नू।अात्मनिर्भर देशले दिने अभिव्यक्ति हाे प्रम अाेलिकाे।

kamal karki
सत्य र कानुनका कुरा गर्दा पनि आलोचना !!! यसैगरी प्रष्ट विचार नराखेको भए लम्पसारवाद को विल्ला !! हुनत हाम्रो विश्लेशक र पत्रकार को काम नै सधै नकारात्मक कुराको उठान गर्नु न हो ।

हरिशर्मा६०
मेरो विचारमा हामीले चीनको समर्थनमा अमेरिका विरुद्ध बोल्नु उचित होइन । यस्ता मामिलामा तटस्थ बस्नुनै बुद्धिमानी हो । समस्याको सृजना एकतर्फी भएको होइन । चीनले आफ्नो भुक्तानी सन्तुलन शून्यको आसपासमा रहने गरी आफ्नो मुद्राको मूल्य तोकेको भए। दुबै देशलाइ लाभ हुने थियो ।

ram sharma
अ्मेरिका को विस्व व्यापी दादागिरी लाई विस्तृती हुन नदिन सजकता पनि हो,बड्दो व्यापारी तनाव र आर्थिक समृद्धि को अभ्युदयको गतिह्रास सम्बन्धि टिप्पणी पनि हो यस्लाइ अत्त्युक्ती भन्न पर्दैन

Ekaraj Bhattarai.
समसामयिक परिस्थितिमा कुटनैतिक मर्यादा अनुसार राखिएको विचारलाई अन्यथा मान्न सकिँदैन ।कसकाे,कस्ताे अनुभूति हुन्छ अाफ्नाे अडकलले मात्र हुंदैन । समसामयिक बिषयमा उदासिन रहनु पनि राम्राे हैन । नीतिगत समस्यारहे सच्याएर जानुपर्छ ।भाैगालिक यथार्थ स्थितिलाई पनि मध्यनजर राख्नै पर्छ।

डा,देवि दुलाल
तपाईंको बुझाइ र लेखाइ एकपक्षीय छ।कुटनैतिक ज्ञान तपाईंको रिपोर्टिङ मा देखिएन ।पिएम अाेलिले सन्तुलित रुपमा अाफ्नाे धारणा राष्ट्र काे तर्फबाट राखेका छन् ।अन्तर्राष्ट्रिय कानुन सबै सदस्य राष्ट्र लाई समान रुपमा लागू हुन्छ ,सबैले पालना गराै भन्न सक्नु अाेलिकाेअाट हाे ।निगुरमुन्टि लाएर अमेरिकाकाे जयजयकार गर्दाचाहि जन्मिन्थ्याे असल कुटनिति?नजान्नेले याे विषयमा नलेख्नु राम्रो ।

Khemanand subedi
नेपाल र नेपालीको आवश्यकतालाइ ध्यानमा राखेर हेर्दा प्रधानमन्त्री ओलिले जायज र ठिक कुराकोनै साथदिने हिसाबले बोले सहि कुरालाई नेपालले अन्तर्राष्ट्रिय मन्चमा बोल्न सक्नुपर्छ तेस्मापनी आफ्नो आत्मीय सहयोगी मित्ररास्ट्रको पक्षमा सकारात्मक नै हो जस्तो लाग्छ ।

Prakash Adhikari
सारै नीर्य भएर सधैं उंधो मुन्टे लगाएर बस्नु भन्दा शीर ठाडो पारेर बोल्न राम्रो हुन्छ , प्र. म. ओली को प्रश्तुती मलाई त ठिकै लाग्यो !

लक्ष्मण थापा
बढ़ी चतुर बन्ने र बढ़ी बोल्ने मान्छेले गल्ती पनि बढ़ी गर्छ । ०१४ सालमा डा.केआइ सिंहले प्रत्यक्ष पक्ष लिइ बोलेकोले तु पतन भएको थियो । अन्तर्राष्ट्रीय मामिलामा हल्काफुल्का बोल्नु बचपना हो ।

हरिप्रसाद पाैडेल
प्र.म.अाेलीले राष्ट्रसङ्घीय महासभामा अभिव्यक्त गरेका विचारहरू सुनेँँ। उनी कतिपय ठाउँमा कूटनैतिक चातुर्यतामा चुके हाेलान् तर महासभामा बाेलेका कुरामा मलाई त्यस्ताे लाग्दैन।

prem
ओलि को भनाइ म कह छ चीन को सपोर्ट अन्तर्राष्ट्रिय कानुन को पालना सबै ले गर्नु पर्छ भनेर भारत लाई इङ्गित गरे को पनि त हुन सक्छ यहाँ कसै को पछ्य लिय को म देखदिन

मुक्त गुरुङ्ग
प्र म अाेलीले जे भने ठिक भनेका छन महासभामा, UN अमेरिकाकाे पेवा त हाेईननी, चाकडी मात्र गरेर खुशी पार्ने दिन गए, अाफ्नाे देशले अनुभूति गरेकाे र देशकाे हितमा हुने कुरा त अप्रिय भए पनि राख्नै पर्याे नि,, चिन र भारतकाे समृद्दीमा हाम्राे वैभव लुकेकाे हुन्छ छिमेकीकाे नाताले पनि र प्रमकाे कुराे सन्तुलित छ अन्तर्राष्ट्रिय कानुन सदस्य राष्ट्र सबैले मान्नै पर्छ ।जता सुकै प्रतिबन्ध लगाएर धाक लगाएकै छ अमेरिकाले, चुईक्क बाेल्नै नहुने , यही हाे अमेरिकाकाे Democracy ?

Bir
प्रमले नराम्रो मात्र गरेका छैनन् है। राम्रो पनि गरेका छन्। त्यसलाई यो विश्लेषणमा राख्न पाएको भए राम्रो हुन्थ्यो के पत्रकार ज्यू।

रामपुकार भाइ
ओलीलाई अझै सिकाउनु पर्‍यो।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार