काठमाडौं- २०५९ सालतिरको कुरा, डम्बर नेपाली एक साँझ एकान्तमा टोलाइरहेका थिए। त्यतिबेला उनको नजर आकाशतर्फ गयो। जहाँ ताराहरू गुमनाम थिए। निराश भावमा उनी गुनगुनाउन थाले–
_x000D__x000D_
‘आज आकाशमा एउटा तारा देखिनँ
_x000D_हृदयको तिम्रो नाम किन मैले मेटिनँ’
_x000D__x000D_
पत्तै नपाई गुनगुनाएको शब्दमा उनले गहिरो अर्थ भेटे। त्यसपछि तीनै शब्द पूरा गर्ने तयारीमा उनी जुट्न थाले।
_x000D__x000D_
यसरी पहिलो पटक रेकर्डिङ भएको गीतले नै डम्बरलाई सांगीतिक क्षेत्रमा परिचित गरायो। त्यतिबेला उनमा खुसीको सीमा थिएन। किनकि वर्षौंदेखिको सपनाले पूर्णता पाएको थियो।
_x000D__x000D_
000
_x000D__x000D_
सानैदेखि संगीतमा रुचि थियो। रेडियो नेपालमा गुञ्जने गीतबाट प्रभावित भएर आफैं पनि गीत गाउने कोसिस गर्थे उनी। त्यतिबेला नारायण गोपाल, तारादेवी, दीप श्रेष्ठ, अरुण थापाका गीत थुप्रैपटक सुन्थे।
_x000D__x000D_
गाउँमा सांस्कृतिक कार्यक्रम भइरहन्थ्यो। गाउने रहर त हुन्थ्यो तर गाउने पालै नपाइने। साथीभाइको प्रशंसा र प्रेरणाले भने उनमा उत्साह थपिन्थ्यो। उनीहरु भन्थे, 'यति मिठो आवाज भएर पनि नगाउने?'
_x000D__x000D_
उनी हौसिन्थे। स्वरलाई सुरिलो बनाउने प्रयत्नमा लाग्थे।
_x000D__x000D_
संगीतले उनलाई गहिरोसँग तान्दै गएको थियो। हरेक समय संगीतमै डुब्न चाहन्थे। ‘जीवनमा केही गर्नुछ भने किन ढिला गर्ने भन्ने लाग्न थाल्यो,' उनी भन्छन्, 'त्यसपछि गीत रेकर्ड गर्ने आकांक्षाले मलाई रन्थनायो।'
_x000D__x000D_
न फोनको सुविधा न हातहातमा मोबाइल। गायक बन्ने सपनाको पोको बोकेर माेरङबाट काठमाडौं हिँडे डम्बर। ‘यातायातको असुविधाले आउँदा-जाँदा निकै कष्ट हुन्थ्यो,’ झन्डै दुई दशकअघि फर्किए उनी, 'आउजाउ त चलिरह्यो। नियमित रुपमा भने २०५५ देखि काठमाडौं बस्न थालेँ।’
_x000D__x000D_
सुरुमा कसैलाई चिनेका थिएनन् उनले। एक्लै काठमाडौंका गल्ली नापिरहेका उनको भेट भयो गायक सुनिल बर्देवासँग। उनैमार्फत सांगीतिक सम्बन्धहरु विस्तार हुन थाल्यो। ‘बिस्तारै अन्य साथी र सांगीतिक क्षेत्रका अग्रजसँग सम्पर्क बढाउन थालेँ,' संघर्षका सुरुवाती दिन उनी सम्झन्छन्।
_x000D__x000D_
वान्स मोर आएपछि आँखा रसाए
_x000D_पहिलो पटक रेकर्डिङ भएको गीतले उनलाई निकै खुसी दिलायो। हुन त त्यसभन्दा अगाडि नै ब्यान्डसँग मिलेर नगाएका होइनन्। पहिलो गीतबाटै धेरैको प्रिय पनि भए। 'आज आकाशमा गीतले भने मलाई निकै सन्तुष्टि दिलायो,' उनले खुसी सेयर गरे।
_x000D__x000D_
गीत लोकप्रियताको सिँढीमा उक्लिइरहेको थियो। तर, एउटा समस्या भइदियो। त्यो गीत डम्बर नेपालीकै हो भनेर स्रोतालाई पत्याउन गाह्रो पर्यो। स्टेज कार्यक्रममा यो गीत गाउँदा डम्बरले अरुकै गीत गायो भन्नेहरू पनि भेटिए।
_x000D__x000D_
‘मेरो आफ्नै गीत हो भनेर विश्वास दिलाउन नै कठिन पर्यो,’ उनी हाँस्दै भन्छन्, ‘बिस्तारै गायकको बारेमा सोधखोज गर्न थालेपछि भने कति त चकित नै परेछन्।’
_x000D__x000D_
त्यसपछि उनी राजधानीसँग सजिलै परिचित भए।
_x000D__x000D_
२०६४ सालमा उनी अर्को चर्चामा गाँसिए। ‘तर अन्तिमपल्ट भेट्न आऊ’ गीत धेरैको जिब्रोमा झुन्डिन थालेपछि डम्बरका शुभचिन्तक बढ्न थाले।यो गीत उनको दाेस्राे एल्बममा समावेश छ।
_x000D__x000D_
दोस्रो एल्बम ‘मलाई’को तयारीमा जुटेका डम्बर कार्यक्रमका लागि हङकङ उडे। उनले त्यहाँ पहिलोपल्ट यही गीत गाए। जसबाट उनले नसोचेको प्रशंसा पाए। ‘स्टेजमा वान्स मोर आउन थालेपछि खुसीले मेरो आँखा नै रसाए,' उनी भन्छन्।
_x000D__x000D_
स्रोता-दर्शकले गीत रुचाइदिएपछि उनी आफैंलाई पनि गीत मन पर्न थाल्यो। नेपाल फर्केपछि भने गीतको प्रचारमा लागे। गीतका सिडी नै निकै बिकेको उनी स्मरण गर्छन्।
_x000D__x000D_
डेढ दशकयता डम्बरले धेरै गीत गाइसकेका छन्। ‘कि छाड उसलाई’, बिग्रेको मान्छे म’, ‘तिम्रो पाउजु बजेर’, 'भेट्न मन लाग्छ तिमीलाई’ लगायत गीत स्रोताले रुचाएका छन्।
_x000D__x000D_
संगीतलाई बदल्ने प्रयत्न
_x000D_डम्बरलाई कोहीकोही भनिदिन्छन्, ‘मलाई तपाईंको गीत मनै पर्दैन।’
_x000D__x000D_
यसो भनिरहँदा उनी निराश हुँदैनन् बरु मुसुक्क हाँसेर टारिदिन्छन्। ‘सबैलाई सबै कुरा त कहाँ मन पर्छ र? कसैलाई मेरो गीत मन नपर्नु स्वाभाविक नै हो,’ हरेक मानिसको रुचि फरक हुन्छ भन्ने उनको बुझाइ छ। तर, उनका गीतमा द्रविभूत हुनेहरू पनि छन्। जो उनका गीत सुनेर गहिराइसम्मै डुब्न चाहन्छन्। संगीतकै कारण निकै स्रोताको माया र शुभेच्छा पाएका डम्बर भन्छन्, ‘धेरैको माया पाउँदा यस्तो लाग्छ- म भाग्यमानी मानिस हुँ।’
_x000D__x000D_
उनी आफ्ना कमजोरीप्रति सचेत छन्। किनकि उनको सपना अझै बाँकी छ। यतिकै सीमित हुन चाहँदैनन्। ‘केही कमजोरीका अनुभूति छन्, यसलाई सुधार्ने प्रयासमा छु,’ उनी भन्छन्, ‘म संगीतलाई बदल्ने प्रयासमा छु। अब त मेरो कर्म नै यही भइसक्यो।’
_x000D__x000D_
अहिलेको संगीतको अवस्था बदल्नु आवश्यक छ त?
_x000D__x000D_
एकैछिनको मौनतापश्चात् उनी बोल्न थाल्छन्, ‘संगीतको अवस्था हिजोभन्दा आज राम्रो छ। केही कमजोरी त छन्, समय अनुसार बदलिँदै जानु पनि पर्छ।' तर स्रोताको चाहना भन्दैमा लोकप्रियताको लोभमा 'सस्ता गीत' भने गाउनु नहुने डम्बरको धारणा छ।
_x000D__x000D_
‘अश्लीलताले संगीतको संस्कारलाई भत्काइदिन्छ,’ डम्बर-वाणी यस्तो छ।
_x000D__x000D_
डेढ दशकयता उनले धेरै संघर्षका चरण पार गरे। संगीतमा जुन धारणा बनाएर लागेका थिए त्यो धारणा त बदलियो। तर जसलाई मानक बनाएर हिँडे, ती मानक भने कहिल्यै नबदलिएको उनको ठम्याइ छ।
_x000D__x000D_
डेन्जर जोनमा बाँचिरहेको संगीत
_x000D_संगीत प्रार्थना हो। ध्यान हो। सपना हो। संगीतलाई यात्रा मान्नेहरु पनि छन्। यस्तो यात्रा जुन निकै जोखिमपूर्ण छ। यही यात्रामा जोखिम मोलेर हिँडिरहेका छन् कलाकारहरू। ‘यहाँ सबैभन्दा बढी असुरक्षित कलाकार नै छन्,’ पीडामिश्रित आवाजमा उनी बोल्छन्, ‘कलाकार भएर बाँच्न निकै कठिन रहेछ।’
_x000D__x000D_
आखिर किन खतरा छ त कलाकारलाई कलाकार भएर बाँच्न?
_x000D__x000D_
पूर्ण प्रश्नलाई मेटाउन खोज्छन् उनी– हरेक समस्या अर्थसँग जोडिएका हुन्छन्। यहाँसम्म कि मानिसका सपना पनि अर्थबिना पूरा हुँदैनन्। यही समस्यामा जेलिएका छन् कलाकार। अझ बढी गायक र संगीतकार।
_x000D__x000D_
‘हाम्रो आयस्रोत भनेको त स्टेज कार्यक्रम नै हो,' उनले खुलाए, 'अरु भनेको साथीहरूको सहयोग।’
_x000D__x000D_
संगीतबाट हुने कमाइ सर्जकको हातमा कहिल्यै पर्दैन। संगीत रोयल्टी संकलन संस्थाले सर्जकहरूलाई अन्याय गरेको उनको गुनासो छ। ‘अरुले नै हाम्रो सिर्जना बेचिरहेको छ। हामी दास बन्न विवश छौं,’ तर उनमा गुनासो छैन, 'कलाकारको ठूलो सम्पत्ति भनेकै सिर्जना हो।'
_x000D__x000D_
यहाँ कलाकारमाथि शासन भइरहेको उनको बुझेका पनि छन्। यसकारण नै आफूहरू आर्थिक रुपमा मजबुत हुन नसकेको ठान्छन्। एउटा कलाकारले अर्को कलाकारलाई नबुझ्दा नै समस्या बढ्ने गरेको उनको अनुमान छ।
_x000D__x000D_
सपनाको कठघरामा त्याग
_x000D_डम्बर यस क्षेत्रमा केही पाउनका लागि त लागेनन्। तर सपना थियो, संगीतमा स्थापित हुने।
_x000D__x000D_
उनलाई नचिन्ने विरलै छन्। कति त खोजीखोजी पनि भेट्न आउँछन्। कुनै समय उनको चाहना थियो, 'अरुभन्दा भिन्न हुन सकूँ, भिन्न पहिचानबाट नै परिचित बन्न सकूँ।’
_x000D__x000D_
यिनै कुराले डम्बर बेला बेलामा पिरोलिन्छन् र एकान्तमा टोलाउन पुग्छन्। हिजोको डम्बर आज गायक डम्बरको रुपमा परिचित छन्। आजको डम्बरलाई भने जोगाइरहन मुस्किल छ।
_x000D__x000D_
‘हिजो आफ्नो नजरमा थिएँ। आज आम मानिसको नजरमा जोडिएको छु,’ टोलाउनुको रहस्य खोतल्छन्, ‘हिजो सधैं चिया खाने साइँली दिदीको पसल आज छाड्नुपरेको छ। सधैं खाना खाने होटल, कपडा किन्ने ठाउँ; यी सबै गुमाउनुपरेको छ। हिजो गरेको धेरै कुरा आज छाड्दै छाड्दै जानुपरेको छ।’
_x000D__x000D_
यी सबको कारण आफ्नो गायकी व्यक्तित्व नै ठान्छन् उनी। ‘यसरी सबैले चिन्नु त राम्रो कुरा हो। तर, यो सार्वजनिक जीवन बाँचिरहेझैं पो लाग्ने, आफ्नो जीवन आफ्नै अधीनमा नभएझैं पो लाग्ने रहेछ,’ उनी अलि दार्शनिक बन्न खोज्छन्।
_x000D__x000D_
यसरी जीवन बाँचिरहँदा समस्याको चाङ थुप्रिएझैं लाग्दो रहेछ उनलाई। कहिलेकाहीँ त भोकभोकै जीवन गुजार्नुपरेको पीडा पनि उनीसँग प्रशस्त छ।
_x000D__x000D_
यस्तो बेलामा उनलाई आफू चिनिनुमा कुनै तुक छैन जस्तो पनि लाग्छ। अझ राज्यले कलाकरलाई गरेको बेवास्ताप्रति त उनको गुनासोको चाङ नै तयार छ। ‘हामी राज्यका लागि योगदान गर्छौँ, तर राज्यले कलाको सम्मान गर्न जान्दैन,’ चाङ फुकाए उनले, ‘कलाकारलाई राज्यले बुझिदिन सके मात्र ठूलो हुन्थ्यो। तर, राज्यबाट कुनै आशा राख्न नसकिने रहेछ।'
_x000D__x000D_
लामो समय संगीतमा साधना गरिसकेका डम्बर यतिबेला चिन्तित मुद्रामा देखिन्छन्। उनलाई एउटै कुराको दुखेसो छ।
_x000D__x000D_
संवादको अन्त्यमा उनी लामो श्वास फेर्छन्, 'राज्यमा सबैभन्दा बढी कसैलाई असुरक्षा छ भने त्यो कलाकारलाई छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।