काठमाडौं– दोलखाको शैलुङ गाउँपालिका–८ भैंसेका १० वर्षीय बालक कुशल विक हराएको १४ दिनपछि शव फेला परेको छ । भदौ २७ गते तीजको दिन नाच हेर्न भनेर घरबाट निस्किएका बालक कुशल त्यसपछि घर फर्किएका थिएनन्।
_x000D__x000D_
बालक वेपत्ता भएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए। प्रहरी, परिवार र स्थानीयको सहयोगमा बालकको व्यापक खोजी गरिए पनि फेला पार्न सकिएको थिएन। अन्ततः हराएको १४ दिनपछि असोज ११ गते बुधबार कुशलको शव घर नजिकैको जंगलमा फेला परेको हो।
_x000D__x000D_
जंगलमा घाँसदाउरा गर्न गएका स्थानीयले पुरिएको अवस्थामा बालकको एउटा खुट्टा बाहिर निस्केको देखेका थिए। प्रहरीको टोलीले खोल्सामा गाडिएको शव निकालेको थियो। शव निकालेपछि हराएको बालक कुशलको पहिचान भएको दोलखाका डिएसपी वासुदेव पाठकले जानकारी दिए।
_x000D__x000D_
त्यसपछि हत्यारा पत्ता लगाउन अनुसन्धान सुरु गरेको प्रहरीले त्यसै दिन सोही ठाउँका तीन जनालाई पक्राउ गरेको थियो। पक्राउ परकामध्ये बालकका काका २५ वर्षीय उमेश विकले भतिजको हत्या आफूले गरेको स्वीकार गरिसकेको डिएसपी पाठकले नेपाल लाइभलाई जानकारी दिए। अन्य दुई जना भने निर्दोष देखिएकाले छाडिएको छ।
_x000D__x000D_
बच्चा त्यसदिन तीजको नाच हेर्न भनेर हिँडेको र काका उमेश आफ्नै कामले बजार जाँदा बीच जंगलका दुई जनाबीच भनाभन भएको र सोही क्रममा काका उमेशले भतिजको घाँटीमा समाएर अण्डकोशमा हानेर मारेको बताएको पक्राउ परेका उमेशलाई उद्धृत गर्दै डिएसपी पाठले जानकारी दिए।
_x000D__x000D_
बाटोमा मारेपछि झण्डै २० मिटर परेको खोल्सामा शव हालेर स्याउला र माटोले पुरेको अवस्थामा भेटिएको थियो।
_x000D__x000D_
घटनाको कारण भने पारिवारिक विवाद देखिएको प्रहरीले जनाएको छ। जग्गाको विषयमा उनीहरुको परिवारको बीचमा पटकपटक विवाद हुँदै आएको थियो। केही समय पहिला मात्रै उमेश विकले खुकुरीले काट्छु भन्दै डिँडेको भनेर प्रहरीमा उजुरी परेको थियो। प्रहरीले उनीहरुलाई मिलापत्र गरेर छाडेको थियो। अहिले भने उमेश भतिजकै हत्या गरेका छन्।
_x000D__x000D_
हत्या गरेर उनी कसैलाई केही नभनी घरमै बस्ने, काम गर्ने गर्दै आएका थिए। प्रहरीले उनलाई घरबाटै पक्राउ गरेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।