काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणले नयाँ मोड लिएको छ। हत्यापछि प्रहरीले अनुसन्धानमा चरम लापरबाही गरेको, घटनास्थलको प्रमाण नष्ट गरेको भन्ने आरोपसँगै स्थानीयबासीले अनुसन्धानमा कुकुर प्रयोग नगरेको भन्दै चर्को विरोध गरेका थिए।
_x000D__x000D_
स्थानीयको विरोधसँगै अनुसन्धानमा लापरबाही गरेको र प्रमाण नष्ट गरेको प्रारम्भिक अनुसन्धानको चरणमा देखिएपछि अनुसन्धानमा खटिएका प्रहरीलाई निलम्बन गरेर अनुसन्धान भइरहेको छ।
_x000D_गृह मन्त्रालयले भदौ ७ गते सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो। समितिले भदौ ३० गते प्रारम्भिक प्रतिवेदन बुझाउँदै अनुसन्धानमा खटिएको प्रहरीले गल्ती गरेको औंल्याएको थियो।
_x000D__x000D_
त्यसपछि कञ्चनपुरका तत्कालीन डिएसपी ज्ञानबहादुर सेटी, सिआइबीका डिएसपी अंगुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट, एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गरिएको थियो। यसभन्दा अघि नै कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट निलम्बनमा परेका थिए।
_x000D__x000D_
प्रहरीको अनुसन्धानमै लापरबाही भएको पाइएपछि अनुसन्धानमा खटिएका प्रहरीको भूमिकामाथि अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले एआइजी धिरु बस्न्यातको नेतृत्वमा ९ सदस्यीय समिति गठन गरेको थियो। समितिले आइतबार मात्रै निलम्बित पाँचैजना प्रहरी अधिकारीको पोलिग्राफ परीक्षण गरेको छ।
_x000D__x000D_
निर्मलाको सुरुवाल धोएकोलगायत प्रहरीको अन्य भूमिकाको बारेमा पोलिग्राफ परीक्षणको क्रममा सोधिएको थियो। सँगै समितिले अनुसन्धानमा खटिएको प्रहरीले कुकुर प्रयोग किन नगरेको भन्ने बारेमा पनि सोधपुछ गरेको छ।
_x000D__x000D_
यसबारे अनुसन्धान समितिले प्रहरीको केन्द्रीय डग स्कुलसँग कुकुर प्रयोग गर्न सक्ने अवस्था थियो कि थिएन भनेर पनि सोधपुछ गरेको छ। डग स्कुलले जवाफ पठाइसकेको स्रोतले नेपाल लाइभलाई जानकारी दियो। डग स्कुलले निर्मलाको केसमा कुकुरको प्रयोग गर्नसक्ने अवस्था नरहेको भनेर जवाफ पठाएको स्रोतले जानकारी दियो।
_x000D__x000D_
डक स्कुलले मान्छेको गन्ध सुँघेर कुकुरले अपराधी पत्ता लगाउने तर निर्मलाको शव पानीमाथि रहेको र पानीमा गन्ध नहुने भएकाले कुकुरको प्रयोग गर्न सक्ने अवस्था नरहेको जवाफ फर्काएको छ।
_x000D__x000D_
‘औंठा छाप कसैसँग नमिलेजस्तोे प्रत्येक मान्छेमा हुने गन्ध फरकफरक हुन्छ, गन्ध कसैसँग पनि मिल्दैन। अपराध भएको ठाउँको गन्ध सुँघेर कुकुरले अपराधी पत्ता लगाउने हो। तर घटनास्थल पानी भएको ठाउँमा भएकाले कुकुरले गन्ध पत्ता लगाउनसक्ने अवस्था थिएन’ भन्ने जवाफ आएको स्रोतले जानकारी दियो।
_x000D__x000D_
किताब, साइकल देखेको भनेको ठाउँमा भोलिपल्ट स्थानीय गएर खोज्दा बोल्न नसक्ने एक व्यक्तिले साइकल पुछ्दै गरेको भनिएको थियो। किताब, साइकल भएको ठाउँ पनि सुरक्षित नभएकाले त्यहाँ पनि कुकुरको प्रयोग गर्न नसकिएको बताइएको छ।
_x000D__x000D_
पानीसँगै चर्को घाममा पनि मान्छेको गन्ध उडिसक्ने हुँदा त्यस्तो अवस्थामा पनि कुकुरको प्रयोग गर्न नसकिने बताइएको छ। कुकुरको प्रयोग घटनास्थल सुरक्षित राखेर जतिसक्दो छिटो २४ घण्टाभित्र प्रयोग गर्न सकिने बताइएको छ।
_x000D__x000D_
अझ सिआइबीको टोली घटना भएको तीन दिनपछि कञ्चनपुर पुगेकाले त्यसबेला सबै प्रमाण नष्ट भइसकेकाले कुकुर प्रयोगको कुनै औचित्य नभएको सिआइबीका डिएसपी अंगुर जिसीले जवाफ फर्काएका छन्।
_x000D__x000D_
बस्न्यात नेतृत्वको समितिले प्रहरीको अन्य भूमिका बारे पनि अनुसन्धान गरिरहेको छ। एसपी विष्ट, उनका छोरा किरण विष्ट, भीमदत्त नगरपालिकका मेयर सुरेन्द्र विष्टका भतिजा आयुषको डिएन परीक्षण गरिएको छ। समितिले निलम्बित प्रहरी अधिकारीको मोबाइल, कल डिटेल लगायतका कुराहरु पनि चेक गरिसकेको छ।
_x000D__x000D_
अहिले निर्मला हत्याको अनुसन्धान सिआइबीका एसएसपी ठाकुर ज्ञावली, कञ्चनपुरका एसपी कुवेर कडायतले गरिरहेका छन् भने एसपी दुर्गा सिंहले पीडित परिवार र स्थानीयबासीसँग समन्वयको भूमिका निर्वाह गरेकी छिन्।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।