चितवन– स्वास्थ्य खबर पत्रिकाको आठौं र नेपाल लाइभ डट कमको पहिलो वार्षिकोत्सव समारोह आज चितवनको नारायणगढमा सम्पन्न भएको छ।
_x000D__x000D_
वार्षिकोत्सवका अवसरमा ‘आठौं हेल्थ अवार्ड, २०७५’ प्रदान गरिएको छ। स्वास्थ्य क्षेत्रमा अमूल्य योगदान गरेवापत चिकित्सक, स्वास्थ्यकर्मी तथा अस्पताललाई विभिन्न ७ विधामा अवार्ड प्रदान गरिएको हो।
_x000D__x000D_
यस वर्षको ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ २ जना चिकित्सकलाई संयुक्त रुपमा प्रदान गरिएको छ। चिकित्साका क्षेत्रमा लामो समयदेखि अनवरत रुपमा क्रियाशिल चिकित्सकद्वय मृगेन्द्रराज पाण्डे र हिरण्यदेव प्रधानलाई यो अवार्डले सम्मान गरिएको हो।
_x000D__x000D_
लाइफ टाइम अचिभमेन्ट अवार्ड : डा मृगेन्द्रराज पाण्डे
_x000D__x000D_
‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ डा मृगेन्द्रराज पाण्डेलाई प्रदान गरिएको छ। उनको सेवामुखी भावनालाई कदर गर्दै चितवनमा आयोजित स्वास्थ्य खबर हेल्थ अवार्ड २०७५ मा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डा पाण्डेलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट सम्मानित गरेका हुन्।
_x000D__x000D_
चिकित्सा आफैंमा सेवामुखी पेसा हो। डा पाण्डेको समयमा चिकित्सालाई करियर बनाउँदा सेवा अनिवार्य र सर्वोपरि थियो। किनभने अहिलेको जस्तो निजी चिकित्सकीय अभ्यास गरेर आर्थिकोपार्जन गर्न सकिने जमाना थिएन। तर, डा पाण्डे बिरामीको सेवा गरेर मात्रै सन्तुष्ट हुन सकेनन्। २०३२ सालदेखि अशिक्षा, अभाव र अविकासले थलिएको समाजको समेत उपचार गर्ने कर्ममा अघि सरेका उनी ८७ वर्षको उमेरमा पनि उत्तिकै सक्रिय छन्।
_x000D__x000D_
_x000D__x000D_
यसका लागि उनले सीमान्तकृत समुदायको सेवाका लागि गुठी परम्परामा चल्नेगरी संस्था खोले। पूरै परिवारको साथ–सहयोगबाट २०३२ साल फागुन ६ गते सामाजिक संस्था ‘मृगेन्द्र चिकित्सा गुठी’ जिल्ला प्रशासन कार्यालय काठमाडौंमा औपचारिक रूपमा दर्ता भयो।
_x000D__x000D_
संस्थामा उनीसहित ७ जना संस्थापक थिए। सेवा गर्नका लागि पनि पैसा आवश्यक थियो। गुठी सञ्चालनका लागि आर्थिक स्रोत जुटाउन उनले २०२६ साल कात्तिकमा किनेको काठमाडौंको जमलस्थित ११ सय ५० वर्गफिट क्षेत्रफलमा निर्मित तीनतले पक्की घर गुठीको नाममा दर्ता गरिदिए।
_x000D__x000D_
कहिल्यै पनि निजी अस्पताल तथा कलेजमा काम नगरेका डा पाण्डेको धारणा छ, ‘स्वास्थ्य क्षेत्र सेवा हो, त्यो व्यापारसँग जोडिनु हुँदैन।’
_x000D__x000D_
लाइफ टाइम अचिभमेन्ट अवार्ड : डा हिरण्यदेव प्रधान
_x000D__x000D_
यस वर्ष ‘लाइफ टाइम अचिभमेन्ट’ चितवनवासीका पहिलो चिकित्सक डा हिरण्यदेव प्रधानलाई प्रदान गरिएको छ।
_x000D__x000D_
२०१४ साल। तराई क्षेत्रमा मलेरियालगायतका रोगको बिगबिगी थियो। तराईमा बस्नसक्ने त्यहाँका आदिवासी मात्रै थिए। पहाडी मुलका समुदायले जग्गा–जमिन जोड्न त थालेका थिए। तर, उनीहरु स्थायी रुपमा त्यहीं बस्न भने मान्दैनथे। उत्पादन क्षेत्रमा पहाडबाट बस्ती सार्ने योजना ‘राप्ती भ्याली प्रोजेक्ट’ चलिरहेको थियो।
_x000D__x000D_
सरकारले यसरी सारिएकाहरुलाई तराईमा हुने समस्याले नसताओस् र आदिवासीलाई हुने रोगको समाधान होस् भनेर छाप्रे अस्पताल (भरतपुर अस्पताल) खोलेको थियो। तर, त्यहाँ डाक्टर जान मान्दैनथे। किनभने मलेरियाबाट बच्न त्यहाँ पुग्ने डाक्टरले नै दिनको एक ट्याब्लेट औषधि खानुपथ्र्यो।
_x000D__x000D_
_x000D__x000D_
त्यस्तो समय भरतपुर पुग्ने डाक्टर हुन् हिरण्यदेव प्रधान। बिरामी हुँदा अस्पताल जानुपर्छ भन्ने चेतनाको विकास स्थानीयमा भइसकेको थिएन। त्यसबखत चितवनमा थारु बस्तीको बाहुल्य थियो। डा प्रधान सम्झिन्छन्, ‘उनीहरु न खोप लिन मान्थे, न औषधि खान।’ परम्परागत मान्यताले उनीहरु आधुनिक चिकित्सा स्वीकार गर्न चाहँदैनथे। त्यस्तो अवस्थामा डा प्रधानले रोगविरुद्ध मात्रै होइन, कमजोर चेतनाविरुद्ध पनि उपचार गर्नुपरेको थियो।
_x000D__x000D_
आफैं बस्ती–बस्ती डुलेर उनले बिरामीलाई सम्झाउँदै उपचार गरे। स्वस्थ जीवनका लागि सिपहरु सिकाए। यसकारण चितवनमा समग्र चिकित्सा सेवाको सुरुवात गर्ने श्रेय उनलाई जान्छ।
_x000D_अहिले काठमाडौंपछि उपचारका लागि धेरै बिरामी पुग्ने केही सहरमध्ये चितवन एक हुन पुगेको छ। अस्पतालको संख्या वृद्धि भइरहेको छ। मेडिकल सिटीका रुपमा विकास गर्ने बहस चलिरहेको छ।
_x000D__x000D_
यी सबै परिवर्तन आफ्नै आँखाले देखिरहेका डा प्रधानको स्मृतिपटलमा भने भरतपुर अस्पतालका लागि बनेका छाप्राहरु नाँचिरहेका हुन्छन्। जहाँबाट उनले पहिलोपल्ट सेवा दिएका थिए।
_x000D__x000D_
चितवनलाई मेडिकल सिटी बनाउने चर्चा चलिरहेका बेला स्वास्थ्य खबरले त्यहाँ पुगेर पहिलोपल्ट सेवा दिने डाक्टर खोज्ने क्रममा डा प्रधान भेटिए। उमेरले ९० वसन्त पार गरेका डा प्रधानबारे धेरै बेखबर छन्। २७ वर्षदेखि श्रवण शक्तिको समस्या भोगिरहेका उनको धेरैसँग सम्बन्ध–सम्पर्क नै छैन।
_x000D__x000D_
उत्कृष्ट डाक्टर : डा चुमनलाल दास
_x000D__x000D_
सगरमाथा अञ्चल अस्पतालमा कार्यरत डा चुमनलाल दासले उत्कृष्ट डाक्टरको अवार्ड हात पारेका छन्। सरकारी अस्पताल अस्तव्यस्त हुनुलाई स्रोतको कमी ठान्नेहरु पाइलैच्छिे भेटिन्छन्। तर, डा चुमनलाल दासको मान्यता फरक छ। उनी भन्छन्, ‘स्रोत होइन, सोचको कमी हो।’ सोचले स्रोत जुटाउन सकिने उनको अनुभवले बताउँछ।
_x000D__x000D_
दूरदराजको सरकारी स्वास्थ्य संस्थाको बेहाल भयो भने स्वास्थ्य मन्त्रालयका उच्चपदस्थ अधिकारीले सम्झिने नाममध्ये एक हो डा चुमनलाल दास। उनको छवि नै यस्तो बनेको छ कि जुन अस्पतालमा सरुवा भएर पुग्छन्, त्यहाँको अवस्थामा कायापलट ल्याउँछन्।
_x000D__x000D_
_x000D__x000D_
२०४३ सालमा पहाडी जिल्ला ओखलढुंगाको च्यानम हेल्थ पोष्टबाट स्वास्थ्य सेवा थालेका उनी केही महिनाअघि मात्रै राजविराजस्थित सगरमाथा अञ्चल अस्पताल पुगेका हुन्। दुई नम्बर प्रदेशकै भरोसा बन्नुपर्ने अस्पतालको अवस्था झन्झन् खस्किँदो रहेपछि ‘डा चुमनलाल कार्ड’को प्रयोग गरिएको हो। उनी त्यहाँ पुगेको तीन महिना मात्रै पुगेको छ तर सुधारका सकारात्मक संकेतहरु देखिन थालिसकेका छन्। अस्पतालको भौतिक अवस्था परिवर्तन भइरहेको छ, डाक्टरहरु थपिइरहेका छन्। स्वभाविक रुपमा बिरामीको चाप बढ्दो छ। केही समयमै महसुस हुनेगरी परिवर्तन देखाउने उनले लक्ष्य लिएका छन्। वर्षौंदेखिको अव्यवस्थालाई व्यवस्थित गर्न सहज भने उनलाई भइरहेको छैन।
_x000D__x000D_
उत्कृष्ट नर्स : तारा कुमारी बोहोरा
_x000D__x000D_
डोल्पा जिल्ला अस्पतालकी स्टाफ नर्स तारा कुमारी बोहोरा यस वर्षको उत्कृष्ट नर्स भएकी छिन्।
_x000D__x000D_
बोहोरा पश्चिम तराईको कञ्चनपुरमा जन्मिइन्। कैलालीमा हुर्किइन्। लोकसेवाबाट स्टाफ नर्समा उत्तीर्ण भएपछि उनले कार्यक्षेत्रका रुपमा हिमाली जिल्ला डोल्पा रोजिन्। हिमाली जिल्लाको स्वास्थ्य सेवाबारे धेरथोर जानकार तारालाई केही गरेर देखाउन सकिने हुटहुटीले डोल्पा डोर्याएको थियो।
_x000D__x000D_
_x000D__x000D_
तर, डोल्पा पुग्नेबित्तिकै उनले बिरामीको होइन, आफैं थला परेको जिल्ला अस्पताल डोल्पाको उपचारमा खटिनुपर्यो। उनले दुर्गममा स्वास्थ्यकर्मी जान मान्दैनन् भन्ने सुनेकी थिइन्। अरु नमाने पनि म जान्छु भन्ने हिम्मतका साथ २०७० साल भदौमा लोकसेवाबाट स्थायी रुपमा स्वास्थ्य सेवामा प्रवेश गरेपछि उनी यहाँ पुगेकी थिइन्।
_x000D__x000D_
जनस्वास्थ्य कार्यालय बाग्लुङमा कार्यरत दीपकप्रसाद तिवारी उत्कृष्ट जनस्वास्थ्य प्रशासक भएका छन् । पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई स्वास्थ्य खबर हेल्थ अवार्ड २०७५ प्रदान गरेका छन्।
_x000D__x000D_
उत्कृष्ट जनस्वास्थ्य प्रशासक : दीपकप्रसाद तिवारी
_x000D__x000D_
दीपकप्रसाद तिवारी नेपाल सरकारका जुझारु जनस्वास्थ्य प्रशासकमध्ये पर्छन्। उनी २९ वर्षको युवावयमा स्वास्थ्य सेवाको नवौं तहमा प्रवेश गरेका हुन्। कम उमेरमै उक्त सफलता हासिल गर्ने जनस्वास्थ्य प्रशासकको रुपमा उनले रेकर्ड नै बनाए। जनस्वास्थ्य क्षेत्रमा करिअर बनाइरहेका बेला लोकसेवा पास गरेर नेपाल सरकारअन्तर्गत आइपुगेका तिवारीसँग उच्च आत्मविश्वास छ। केही गरेर देखाउने भोक छ। त्यसैले त जहाँ पुग्छन्, चुनौतीको डटेर सामना गर्छन्।
_x000D__x000D_
हाल बागलुङ जनस्वास्थ्य कार्यालय प्रमुख रहेका तिवारीले तोकिएको जिम्मेवारी त कुशलतापूर्वक पूरा गरिरहेका छन् नै, त्यसबाहेक आफूले जानेका र सक्ने कामहरु पनि गरिरहेका छन्। एउटा जिल्लाको जनस्वास्थ्य प्रमुखका रुपमा त्यहींका लागि उपयोगी काम मात्रै होइन, देशकै लागि सहयोगी हुने कामहरु पनि गरिरहेका हुन्छन् उनी। केही महिनाअघि मात्रै उनले तयार पारेको ‘स्वास्थ्यमा स्थानीय तहको नीति तथा कार्यक्रम’को मोडेल त्यसको एउटा उदाहरण हो। जो स्थानीय तहको स्वास्थ्यमा संयोजन गरिरहेकाहरुलाई सहयोगी भइदियो।
_x000D__x000D_
_x000D__x000D_
स्वास्थ्य खबरपत्रिकामा समेत छापिएको उक्त नमुना नीति तथा कार्यक्रमलाई आधार बनाएर थुप्रै स्थानीय तहले आफ्नो नीति तथा कार्यक्रम बनाएको तिवारी बताउँछन्। भन्छन्न्, ‘मैले सरकारको नीति तथा कार्यक्रमको गहिरो अध्ययन गरेर त्यसैका आधारमा स्वास्थ्यको नीति तथा कार्यक्रम बनाएको थिएँ। सबैलाई मन परेछ। कतिले फोन गरेरै त्यसलाई आफूले लागू गर्ने बताउनुभयो।’ यो एउटा उदाहरण मात्रै हो। उनी अहिलेसम्म जहाँ पुगेका छन्, त्यहाँ आफ्नो प्रभाव जमाएका छन्। उनले परिवार नियोजनको सूक्ष्म योजना तर्जुमा, नवजात शिशु स्याहार प्याकेज तयार, इ–हेल्थ स्टारटेजी र आधारभूत स्वास्थ्य सेवा २०७५ का लागि पनि उनले योगदान गरेका छन्।
_x000D__x000D_
उनै दीपकप्रसाद तिवारीले वर्ष २०७५ को उत्कृष्ट जनस्वास्थ्य प्रशासकको अवार्ड हात पारेका छन्।
_x000D__x000D_
उत्कृष्ट स्वास्थ्यकर्मी : वीरबहादुर बोहरा
_x000D__x000D_
अछाम जिल्ला अस्पतालमा कार्यरत अहेब वीरबहादुर बोहरा उत्कृष्ट स्वास्थ्यकर्मी घोषित भएका छन्।
_x000D__x000D_
_x000D__x000D_
अस्पतालको ओपिडी, इमर्जेन्सी, फार्मेसी, रेकर्डिङ र रिपोर्टिङको जिम्मेवारी लिएका थिए उनले। बोहराले आफ्नो जिम्मेवारी दिनरात नभनी कुशलतापूर्वक निर्वाह गर्दै आएका छन्। उनी जस्तै स्वास्थ्यकर्मीका कारण आर्थिक वर्ष २०७३/०७४ मा अछाम जिल्ला अस्पताल देशभरिकै सरकारी अस्पतालमा उत्कृष्ट बन्न सफल भएको थियो।
_x000D__x000D_
उत्कृष्ट महिला स्वास्थ्य स्वयम्सेविका : सिर्जना राई
_x000D__x000D_
उत्कृष्ट महिला स्वास्थ्य स्वयम्सेविकाकाका रुपमा ‘हेल्थ अवार्ड २०७५’बाट ताप्लेजुङ श्रीजंगा गाउँपालिकाकी सिर्जना राई सम्मानित भएकी छिन्। ७ वर्षदेखि स्वास्थ्य स्वयम्सेविकाका रुपमा उनी अहोरात्र खटिइरहेकी छिन्।
_x000D__x000D_
२०६८ सालमा आमा समूहले छनोट गरेर उनलाई स्वास्थ्य स्वयम्सेविकाको जिम्मेवारी दिएको हो। गाउँका महिलाले गरेको भरोसालाई उनले मनैदेखि पूरा गरिरहेकी छन्। ३१ वर्षीया सिर्जना आफ्नो गाउँपालिकाको ‘नुमाफुङ आमा समूह’की सचिव समेत हुन्।
_x000D__x000D_
_x000D__x000D_
प्लस टूसम्मको अध्ययन गरेकी सिर्जनाका अनुसार गाउँमा शिक्षित निकै कम छन्। उनीहरुलाई स्वास्थ्य मात्रै होइन, अन्य आवश्यक कामका लागि सहयोग जरुरी हुन्छ। त्यसका लागि उनी हरेकपल्ट सहयोगीका रुपमा प्रस्तुत हुन्छिन्।
_x000D__x000D_
शिक्षाको कमीको कारण गाउँका महिलालाई कुरा बुझाउन कहिलेकाहीँ मुस्किल पर्छ उनलाई। ‘आफ्ना कुराले प्रभावित पार्न निकै गाह्रो काम जस्तो पनि लाग्छ,’ अवार्ड ग्रहण गर्दै उनले भनिन्, ‘तर प्रयास गर्दा सफल भइरहेकी छु।’
_x000D__x000D_
उत्कृष्ट सामाजिक संस्था : नेपाल सिआरएस कम्पनी
_x000D__x000D_
नेपाल सिआरएस कम्पनीलाई उत्कृष्ट सामाजिक संस्थाका रुपमा ‘हेल्थ अवार्ड २०७५’ प्रदान गरिएको छ।
_x000D__x000D_
‘सोसियल हर्ट विथ बिजनेस माइन्ड’लाई आधारभूत सिद्धान्त बनाएर ४० वर्षदेखि नेपालका दुर्गम क्षेत्रमा परिवार नियोजनका सामाग्री पु¥याइरहेको छ, सिआरएसले। नेपालको सन्दर्भमा उत्कृष्ट सामाजिक बजारीकरणको नमुनाका रुपमा यसलाई लिन सकिन्छ।
_x000D__x000D_
कम्पनीले विशेषगरी परिवार नियोजन र यौनरोग नियन्त्रणका क्षेत्रमा प्रभावकारी भूमिका खेलिरहेको छ। उत्पादन लागतभन्दा निकै कममा उपभोक्ताको दैलोसम्म परिवार नियोजनका अस्थायी सामाग्रीहरु उपलब्ध गराइरहेको छ। सँगै सर्वसाधरणलाई महसुस गराइरहेको छ, यो निःशुल्क होइन। ‘थोरै भए पनि पैसा परेको कुरालाई महत्व दिइने भएकाले यस्तो तरिका अपनाइएको हो,’ कम्पनीका प्रबन्ध निर्देशक जीवलाल पोखरेल भन्छन्। उनका अनुसार नेपाल सरकारका निःशुल्क कार्यक्रम प्रभावकारी नहुनुको एउटा कारण यसलाई महसुस गरेर सिआरएसले थोरै रुपैयाँमा किनाउने रणनीति लिएको हो।
_x000D__x000D_
नेपालीमाझ चिरपरिचित परिवार नियोजनको साधन ढालका साथै प्यान्थर र डिजाएर, संगिनी सुई, आकस्मिक गर्भनिरोधक पिल्स इकोन, सुनौलो गुलाफ र निलोकन ह्वाइट, झाडापखालाका लागि नवजीवन र सुत्केरी सामग्री नेपाल सिआरएस कम्पनीका सामग्री हुन्।
_x000D__x000D_
_x000D__x000D_
बजारमा उपलब्ध ढालको लागत ८ रुपैयाँ ६८ पैसा भए पनि उपभोक्तासँग १ रुपैयाँ मात्रै लिने गरिएको छ। हालसम्म सिआरएसले कन्डम मात्रै ३२ करोड ८० लाख २८ हजार ४ वटा बेचिसकेको छ। यसको अर्थ त्यतिपल्ट जोडीलाई अनिच्छित गर्भ रहन र यौनजन्य रोगको संक्रमणबाट जोगाएको छ भन्ने अर्थ लाग्छ।
_x000D__x000D_
यसैगरी पिल्स २६ करोड ८८ लाख ८ हजार ४ सय २४, संगिनी ८५ लाख ८० हजार ९२, आइयुसिडी ३५ हजार ९ सय ६२, इम्प्लान्ट १८ ४ सय ८२ र ई–कोन ३७ लाख २१ हजार ७ सय २० बिक्री–वितरण गरिसकेको छ। यसबाहेक यौनजन्य रोग, परिवार नियोजनलगायतका विषयमा जनचेतना फैलाउने काम समेत यसले गर्दै आएको छ।
_x000D__x000D_
उत्कृष्ट अस्पताल : बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल
_x000D__x000D_
चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल उत्कृष्ट अस्पताल ठहरिएको छ। पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यलाई ‘हेल्थ अवार्ड २०७५’ प्रदान गरेका छन्।
_x000D__x000D_
सरकारी स्तरबाट सञ्चालित यो अस्पताल नेपालको एकमात्र ठूलो क्यान्सर अस्पताल हो भने क्यान्सरका बिरामीको भरोसाको केन्द्र पनि। रोगको निदान र उपचारका लागि अस्पतालमा अत्याधुनिक सेवाहरु उपलब्ध छन्। २०५७ साल असोज १० गते एक सय शय्याबाट औपचारिक रुपमा सेवा सुरु गरेको यो अस्पताल अहिले ४ सय ५० शय्यामा विस्तार भएको छ।
_x000D__x000D_
_x000D__x000D_
अस्पतालले चितवन र आसपासका जिल्लाका मात्र नभई देशभित्र तथा छिमेकी राष्ट्रका बिरामीलाई उपचार सेवा दिइरहेको छ। अस्पतालमा वार्षिक ४० हजार बिरामीलाई सेवा दिने गरिएको तथ्यांकले देखाएको छ।
_x000D__x000D_
१८ वर्षे यो सरकारी अस्पतालले बीचमा लामो समय अन्य सरकारी संस्थाको जस्तै नियति खेप्यो। कार्यसपदन अस्तव्यस्त भयो। तर, पछिल्लो समय अस्पतालमा सुधारका संकेतहरु देखिन थालेका छन्। क्यान्सरको उपचारमा आफूलाई अब्बल अस्पतालका रुपमा चिनाउन यसले सेवा सुविधासँगै व्यवस्थापनमा पनि सुधार गरेको छ।
_x000D__x000D_
कुनै समय अस्पतालको सेवा खस्किएर ओपिडीमा मुस्किलले दुई सय बिरामी मात्र आउने अवस्थामा पुगेको अस्पतालमा अहिले दैनिक ६ सय देखि ७ सय बिरामी आउन थालेका छन्। दैनिक ३ देखि ४ लाख राजस्व उठाउने अस्पतालले अहिले दैनिक ८ देखि ९ लाख राजस्व उठाउन सक्ने अवस्थामा पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।