काठमाडौं– राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले हवाई सेवा सुरु गरेको ६० वर्ष पुगिसकेको छ। यो अवधिमा नेपाल वायु सेवा निगमका १८ वटा जहाज दुर्घटना भइसकेका छन्।
_x000D__x000D_
सन् १९५८ को जुलाईमा स्थापना भएको नेवानिको पहिलो जहाज दुर्घटना भने सन् १९६० को नोबेम्बर ५ मा भएको थियो। नेवानिको पहिलो जहाज भैरहवामा दुर्घटना भएको थियो। भैरहवामा भएको डिसी–३ जहाज दुर्घटनामा ४ जना यात्रुले ज्यान गुमाएका थिए।
_x000D__x000D_
यसैगरी, सन् १९६२ मा तुलचन धुरीमा भएको नेवानिको डीसी–३ जहाज दुर्घटनामा १० जनाको मृत्यु भएको थियो।
_x000D__x000D_
नेपाल नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको ‘एभिएसन सेफ्टी रिपोर्ट २०१८’ अनुसार सन् १९६९ मा हेटौंडामा भएको जहाज दुर्घटनामा ३५ जनाको मृत्यु भएको थियो। सो घटना नेवानि विमान दुर्घटनाको हालसम्मको इतिहासमा सबैभन्दा बढी मानवीय क्षति हुने दुर्घटना हो। उक्त घटना भएको एक वर्षपछि नयाँ दिल्लीमा एफ–२७ जहाज दुर्घटनामा पर्यो। जसमा १ जनाको मृत्यु भएको थियो।
_x000D__x000D_
यसैगरी, सन् १९७३ मा लुक्ला, सन् १९८६ मा अछामको साँफेबगर, सन् १९८७ को डोल्पा र सन् १९९१ मा भएको लुक्ला विमान दुर्घटनामा भने मानवीय क्षति भएको थिएन। तर, यसबीचमै सन् १९८४ मा चेक्लाटीडाँडामा भएको डिएचसी–६ जहाज दुर्घटनामा भने १५ जनाले ज्यान गुमाउन पुगेका थिए।
_x000D__x000D_
समयक्रमसँगै सेवा विस्तार तथा आधुनिक प्रविधिका विमान खरिद गरेपनि नेवानिको विमान दुर्घटनाको दरमा भने कमी आउन सकेन। सन् १९९५ मा काठमाडौं विमानस्थलमै पुनः नेवानिको विमान दुर्घटनामा पर्यो। जसमा २ जनाले ज्यान गुमाए। तर, सन् १९९६ मा चितवनको मेघौलीका भएको दुर्घटनामा भने मानवीय क्षति भएको थिएन।
_x000D__x000D_
सन् २००० मा एकैवर्ष नेवानिका दुई वटा विमान दुर्घटनामा परे। फेब्रुअरीमा बजाङमा १ र जुलाईमा डडेलधुरामा भएको दुर्घटनामा भने २५ जनाले ज्यान गुमाएका थिए।
_x000D__x000D_
सो दुर्घटनापछि भने करिब १३ वर्ष नेवानिका कुनैपनि विमान दुर्घटनामा परेनन्। यो बीचमा नेवानिको सेवा विस्तार पनि निकै उच्चतम विन्दुमा पुगेको थियो।
_x000D__x000D_
तर, लामो समयको अन्तरालमा सन् २०१३ मा जोमसोम विमानस्थलमा नेवानिको जहाज दुर्घटनामा पर्यो। उक्त दुर्घटनामा विमान क्षतिग्रस्त भएपनि मानवीय क्षति भएको थिएन। त्यसको एक वर्षपछि फेरी नेवानिको डिएचसी–६/३०० सिरिजको विमान दुर्घटनामा पर्यो। अर्घाखाँचीमा भएको यस दुर्घटनामा १८ जनाले ज्यान गुमाएका थिए।
_x000D__x000D_
साथै, यी बीचमा नेवानिका सिंगल इन्जिन क्षमताका ३ वटा जहाजसमेत दुर्घटनामा परे। सन् १९७५ मा काठमाडौंको बौद्धमा सिंगल इन्जिन जहाज दुर्घटना हुँदा ५ जनाले ज्यान गुमाएका थिए।
_x000D__x000D_
यसपछि सन् १९८१ मा विराटनगर र सन् १९९८ मा फाक्दिङमा नेवानिका सिंगल इन्जिन जहाज दुर्घटनामा परेका थिए। विराटनगरमा १० फाक्दिङ दुर्घटनामा १ जनाले ज्यान गुमाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।