बाँके- बाँकेको खजुरास्थित प्रशोधन केन्द्र रहेको कपास विकास समितिको आठ सय २५ बिघा जग्गा अतिक्रमण गरिएको छ । कपास खेती गरिने सो जग्गा २०५८ सालदेखि अतिक्रमण गरिँदै आएको हो।
_x000D__x000D_
कपास विकास समितिका निमित्त प्रमुख विजयकुमार जोशीका अनुसार सो जग्गा र भौतिक संरचना फिर्ता नगरिँदा कपास खेती विस्तारमा समस्या भएको छ। 'मुलुकमा शान्ति स्थापना भइसक्दा पनि समितिले उक्त जग्गा भोगचलन गर्न पाएको छैन,' उनले भने। सो जग्गामा मुक्त कमैया र अन्य परिवार बस्दै आएका छन्।
_x000D__x000D_
समितिलाई सरकारले उपलब्ध गराएको बर्दियाको कुम्भरस्थित ६ सय हेक्टर जग्गामध्ये ५ सय ५० हेक्टर जग्गा सर्वसाधारणले अतिक्रमण गरी भोगचलन गर्दै आएका छन्। उनीहरुले सो जग्गा आफ्नो स्वामित्वमा हुनुपर्ने माग गर्दै आएका छन्। सरकारले ३८ वर्षअघि एक हजार २ सय हेक्टर वन फँडानी गरी समितिलाई कुम्भरमा ६ सय हेक्टर कपास खेतीयोग्य जमीन उपलब्ध गराएको हो। तीन सय ७८ शेयर सदस्य परिवारले ५ सय ५० हेक्टरमा बाली विविधीकरणका माध्यमबाट कपास, धान, गहुँ मकै, मसुरो र तोरी बाली लगाउँदै आएका थिए।
_x000D__x000D_
बर्दियाको कालिका–४ मा कपास फार्मका सानोश्री र जमुनीस्थित समितिको चार बिघा जग्गा र भौतिक संरचनामा सशस्त्र प्रहरीको सीमा सुरक्षा बलले प्रयोग गर्दै आएको जोशीले बताए। जग्गा कब्जा गरेपछि असुरक्षाका कारण समितिले कपास खेती गर्न छाडेको छ। समितिले बाँकेको खासकुस्मा, कचनापुर, कम्दी, बर्दियाको जमुनी र दाङको पूर्वी उत्तरी क्षेत्रमा गरी ३ सय बिघामा कपास खेती गर्दै आएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।