रामबहादुर थापाको जेल

Nepal Live

त्यस्तै ठाउँलाई नर्क भन्दा हुन्– न मानिसको आत्मसम्मान छ, न स्वाभिमान। छ त केवल भय र त्रास। वातावरण घुर्मैलो छ । वरिपरिका मानिसको मनमा एउटै किसिमको ऐंठन छ। 

वरिपरि हेर्छु, मानिसको मनोबल मात्रै गिरेको छैन, शरीर पनि मैलोधैलो छ, कपडा धुजाधुजा भएका छन्। शिर झुकेको छ। कसैले कसैसित खुलेर कुरा गरिरहेको छैन किनकि सबैका शिरमाथि भय र आशंकाको तरबार झुण्डिइरहेको छ। 

शौचालय छिर्छु, अहो, असली नरक त यो पो हो! काइले भुइँ र भित्ता ढाकेको छ । भुइँमा पिसाबको आहालले तर्केर टेक्नुपर्छ। चिप्लेर त्यो नरकमा पौडी नै खेलिने हो कि भन्ने त्रास उस्तै छ। उभिंदै दिगमिग हुन्छ। तैपनि आफूलाई निवृत्त नभई भएको छैन। 

बाहिर निस्केर यताउता नजर डुलाउँछु, सबैभन्दा पहुँचवाला र भाग्यमानी आफैंजस्तो लाग्छ। किनकि आफूले प्रत्यक्ष यातना अहिलेसम्म भोग्नुपरेको छैन। 

जबकि बाँकी मानिसमाथि पुलिसले गरिरहेको दुर्व्यवहार र ज्यादती जताततै दृष्टिगोचर हुन्छ र त्यो अत्यासलाग्दो छ। आफ्नो मनमा कतै छिट्टै त्यहाँबाट छुटिहाल्छु कि भन्ने आश पनि छ तर धेरै मानिस यस्ता छन्, जसलाई यहाँबाट बाहिर निस्कने विश्वास छैन। 

एउटी असह्य अवस्थाकी दलित महिला देखिन्छिन्। तिनको झुत्रेझाम्रे शरीर काँपिरहेको छ । प्रहरीले उनलाई कुनै काम गर्न बाध्य पार्दैछ। शायद नजिकै सुताइएको लासको सनाखत गर्न। ऊ तिनको लोग्ने थियो, अब शव बनेको छ। 

उसलाई पुलिसले नै मारेको हो, हामी सबैको आँखा अगाडि। तर अब अरु नै कुनै कारणले मारेको भन्ने व्यहोराको कागजमा दस्तखत गर्न तिनलाई धम्क्याइँदैछ। 

ती विवश देखिन्छिन्। तैपनि भनेको मानिहाल्दिनन्। यताउति हेर्छिन्। बाँकी मानिस लाचार छन् । म पनि लाचार छु। सबैलाई थाहा छ– उनीमाथि जोरजुलुम हुँदैछ, तर कोही बोल्दैन। लाग्छ, हाम्रो आवाज दबाइएको छ। 

हामी खाली घोसेमुन्टो लगाएर नजर भुइँमा गाडेर उभिरहन्छौं। हामी त्रस्त मात्रै छैनौं, आफू आफैसँग लज्जित र दिग्भ्रमित पनि छौं। ती महिलाको पक्षमा बोल्ने त के टाउको उठाएर र आँखा जुधाएर कसैसँग हेर्ने साहस पनि बाँकी छैन हामीसँग। 

जुन देशमा फर्जी मुठभेड सम्पन्न गरेपिच्छे बढुवाको ढोका खुल्छ, त्यहाँ प्रहरी अधिकारीबीच गैरन्यायिक हत्याका लागि प्रतिस्पर्धा हुन्छ। अनि नक्कली अपराधी बनाएर सुली चढाउने काम समेत अपवाद रहँदैन। 

कोठामा निसास्सिंदो वातावरण कायम रहिरहन्छ। महिला विक्षिप्त देखिन्छिन्। तिनले पक्कै कोलाहल मच्चाउँदै श्रीमानको मृत्युमा दुखमनाउ गरिरहेको हुनुपर्छ। तर हाम्रा कानसम्म त्यो आवाज पुग्दैन। हामी निरपेक्ष छौं र हाम्रो चेतना मधुरो हुँदै गइरहेको आभास हुन्छ। 

अवस्थामा केही प्रगति नभएपछि हामी सबैलाई पट्यार लाग्दै जान्छ। साथमा भय पनि गहिरिंदै जान्छ। घुर्मैलो वातावरण अझ अँध्यारिंदै जान्छ। निसास्सिएर सासै फेर्न नसकिएला जस्तो हुन्छ। 

म ब्युँझन्छु। अहो, कस्तो गजब त। म त जेलमा छैन, आफ्नै बिछ्यौनामा पो छु। 

तर यो भाव करिब ५ सेकेण्डभन्दा बढी टिक्दैन। म पो जेलमा छैन। राममनोहर यादव त जेलमा थिए। अब उनी कतै छैनन्। 

यो तथ्यबोधसँगै म रन्थनिन्छु। निद्रा त्यसै भागेर जान्छ। उनी को थिए, उनको राजनीति के थियो, उनलाई पक्रिनुको कारण के थियो, यी सबै गौण विषय हुन्। मुख्य विषय के हो भने, हिरासतमा छँदै उनी मरे। उनको परिवारलाई खबरै नगरी जबर्जस्ती उनको पोस्टमार्टम गरेको भनियो। उनी मरे भनियो तर कसरी मरे, मारिएका पो हुन् कि भन्ने प्रश्नहरुको उत्तर दिन जरुरी ठानिएन। 

जहाँ उनी राखिए र उनीमाथि जस्तो व्यवहार गरियो, ती ठाउँ र व्यवहार सायद मेरो सपनामा भन्दा धेरै फरक थिएनन्। 

उठेर पानी पिएँ। शरीरमा खल्खली पसिना आइरहेको थियो। रात अझै बाँकी थियो।

खल्बलिएको दिमागमा त्यस्ता धेरै दृश्य घुमे जहाँ नेपाल प्रहरीको ‘सत्य सेवा सुरक्षणम्’को नाराको व्यावहारिक रुप देख्न पाइन्छ। 

निर्मला पन्तको बलात्कार र हत्यापछि किर्ते अपराधीको निर्माण काम देखाउनका लागि मात्रै गरिएको होला र? पुलिसले चिनेको अपराधी बचाउनेबाहेक त्यसको विश्वासिलो कारण के हुन सक्छ?

छानविन समितिका एक निर्भिक सदस्यले किन बीचैमा समितिबाट राजीनामा गरेर सुरक्षाको माग गर्ने अवस्थामा आयो? तीनतीन जना बडे प्रहरी अधिकृतहरु रहेको समितिको कार्य सम्पादनबाट उनी किन विरक्तिए? पछि फेरि उनी कसरी काममा फर्के? सरकारको प्राथमिकता किन दोषी पत्ता लगाउनेभन्दा छानविनलाई तन्काइरहने देखियो? 

प्रश्नैप्रश्न छन्, उत्तर छैनन् । 

मस्तिष्कमा यो देशका प्रहरी प्रमुखको अनुहार झल्किन्छ। बलात्कार र हत्याकाण्डको डेढ महिनापछि कञ्चनपुर पुगेर उनले न्याय दिलाउने बाचा बाँडेछन्। 

यी प्रहरी हुन् कि नेता? उत्तर नपाएर म रनभुल्लमा छु। काममा अब्बल भएर प्रहरीले अपराधी भेट्न सकेको भए मुखले न्याय दिन्छु भनेर भन्नै पर्दैनथ्यो। 

उसो त प्रमुखज्यूले कामै नगरेका हैनन्। तल्लो दर्जामा हुँदै फर्जी मुठभेड सिर्जनामा अब्बलता देखाएर उनी दुनियाँको वाहवाही पाएर प्रहरीको उच्चतम पदमा पुगेका हुन्। उनी त्यहाँ पुगेपछि स्वभावतः त्यसको व्यापकता र स्वीकार्यता बढेको छ। समाजका अगुवा भनिनेहरुले नै ‘फर्जी मुठभेड त गलत हो तर...’ भनेर बर्दी लगाएर गरिने अपराधको बचाउ गरिरहेका छन्। 

उनी अहिले पनि मान्छेका आँखामा नायक नै छन्। 

तर अपराधीजस्तो लागेको व्यक्तिलाई गोली ठोकिहाल्नु जस्तो सजिलो असली अपराधी पहिचान गर्नु, पक्रनु र पीडितलाई न्याय दिनु हुँदैन। जुन देशमा फर्जी मुठभेड सम्पन्न गरेपिच्छे बढुवाको ढोका खुल्छ, त्यहाँ प्रहरी अधिकारीबीच गैरन्यायिक हत्याका लागि प्रतिस्पर्धा हुन्छ। अनि नक्कली अपराधी बनाएर सुली चढाउने काम समेत अपवाद रहँदैन। 

अनौठो चाहिं के भने, प्रहरीले अरु कसैको गैर–न्यायिक हत्या गरुन्जेल ‘अपराधी नै त मारे नि’ भनेर ताली बजाउने वा त्यस्ता प्रहरीलाई नायक बनाउने मानिसहरुले फेरि त्यही प्रहरीबाट शान्तिसुरक्षा र न्यायोचित व्यवहारको अपेक्षा गरिरहेका छन्। कस्तो विरोधाभाषी र असम्भव कुरा। 

कोल्टे फर्कंदै विचार गरी हेरें, मेरो सपनामा जस्तो जेलको वातावरण र पुलिसको छवि उपस्थित थियो, अहिलेको नेपाल प्रहरीबारे मेरो मनमा पर्दै गएको छाप त्यसभन्दा फरक थिएन। अरुको मनमा कति नै फरक छाप होला र?

सपनामा न्यायको याचना गरिरहेकी दलित महिलाको विम्ब निर्मला पन्तका आफन्तहरुलाई त्यत्तिकै लागू हुन्छ जति राममनोहर यादवका आफन्तहरुका लागि। 

निर्मलाको शवलाई ‘हत्या’ मात्रै भएको भनी मुचुल्का उठाएर सद्गत गर्ने प्रहरीको प्रयासमा महिला अधिकारवादीहरु अवरोध बने। बलात्कार उल्लेख गर्नुपर्ने शर्तका कारण त्यस दिन सद्गत हुन पाएन। 

प्रहरीलाई निर्मलाको शव पन्छाएर छिटो ‘उम्किनु’ थियो। भोलिपल्ट बिहानै नगपालिकाको फोहर फाल्ने ट्याक्टरमा लैजान खोजिंदा निर्मलाका बाबुआमा बेहोस थिए भने तीर्थराज भण्डारी भनिने मनुवा मामा बनेर छिटोछिटो फोहर फाल्ने ट्याक्टरमा निर्मलाको शव उठाउन तम्तयार थिए। फेरि प्रम ओलीको भाषामा ‘ट्याउँट्याउँ’ गर्ने महिला अधिकारकर्मीहरुले निर्मलामाथिको मरणोपरान्त अपमान रोके। 

डिल्लीराज विष्ट जस्ता भक्षकहरुबाट मुद्दाको अन्तिम किनारा हुनबाट रोकेर कञ्चनपुरका नागरिकले निर्मलाको मुद्दालाई काठमाडौंमा रामबहादुर थापा र खड्ग ओलीका ढोकासम्म पु¥याए। तर जति समय बित्दै छ, न्यायको आस झनै धिमा हुँदै गइरहेको छ। 

उता राममनोहर यादवका आफन्त अहिले पनि उनको शव उठाउन अस्वीकार गरिरहेका छन्, न्याय पाइहालिन्छ कि भनेर। सिंगो देश क्रुद्ध भएर दशौं हजार सडकमा उत्रेको निर्मलाको मुद्दामा त न्याय नदिने सरकारले अब सबैले बिर्सन आँटेको राममनोहरको मुद्दामा किन न्याय देओस् । 

यी घटनाविशेषबाट अलि माथि उठेर हेर्ने हो भने एउटा कुरा चाहिं प्रस्टै छ– जबसम्म आमनागरिक प्रहरीको गैर–न्यायिक हरकतलाई सही र गलत भनेर राज्यले गर्ने अपराधलाई वर्गीकरण गरिरहन्छन्, प्रहरी संगठनले जन्माउने भनेको आतंक, अन्याय र दण्डहीनता नै हो। केही समय अगाडि यो अभिव्यक्ति प्रहरीको सैद्धान्तिक आलोचना जस्तो लाग्थ्यो भने पछिल्लो समयका घटनाक्रमले त्यसलाई व्यवहारमा उतारिदिएका छन्। 

सिंगो देश क्रुद्ध भएर दशौं हजार सडकमा उत्रेको निर्मलाको मुद्दामा त न्याय नदिने सरकारले अब सबैले बिर्सन आँटेको राममनोहरको मुद्दामा किन न्याय देओस् । 

हाम्रो प्रहरी संगठन अपराधी खोज्न र अपराध रोक्न होइन, घटनापिच्छे कुनै निमुखा मानिस खोजेर उसलाई सुली चढाउन र मौका परे फर्जी मुठभेड गरेर वाहवाही पाउनमा लालायित मात्रै छैन, उसको ‘मोडस अपरान्डी’ नै यही भएको छ। 

यस्तो अवस्थामा डिल्लीराज विष्टजस्ता प्रहरी अधिकृतहरु बन्नु, पुरस्कुत र बढुवा हुँदै संगठनको शीर्षस्थानमा पुग्नु र सिंगो संगठनलाई आफ्नो छविमा ढाल्नु अनौठो होइन। 

आज कञ्चनपुर काण्डमा लुकाउनै नसकिने करतुत गरेका विष्ट जनस्तरको अभूतपूर्व दबाबका कारण निलम्बित छन् तर सिंगो प्रहरी संगठनलाई गैर–न्यायिक हत्याको पर्याय बनाउने बाँकी प्रहरी अधिकारीहरु पदमै छन् । र, न्यायको आश्वासन बाँडिरहेकै छन् । यो अवस्थामा लिनेदिने भनेकै आश्वासन हो, न्याय त यसरी सम्भव नै छैन। 

समाज र देश कहिलेसम्म यही अवस्थामा रहन अभिशप्त छ त? यो प्रश्नको ठ्याक्कै उत्तर मसँग छैन। तर जबसम्म हाम्रा आँखामा पुलिसलगायत राज्यका निकायले गर्ने गैर–न्यायिक कामलाई सही र गलत भनेर वर्गीकरण भइरहन्छन् तबसम्म अवस्था यस्तै रहिरहन्छ। 

त्यस रात सपनाले ब्युँझाएपछि भएको उकुसमुकुसबाट बाहिर निस्कन पनि मलाई लाग्यो– यो सपनाबारे एउटा लेख भोलिपल्टै लेखिछाड्छु, किनकि समयसँगै सपनाहरु बिर्सिइहाल्छन् । अनि लेखको शीर्षक पनि ओठबाट फुत्किहाल्योः रामबहादुर थापाको जेल । यी तीन शब्द फेरि एकपल्ट दोहोर्‍याएर म फेरि निदाएँ। 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार