काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणले कुनै पनि विमान कम्पनीले जहाज भाडामा ल्याउँदा चालक दलका सदस्यलाई पनि भाडामा ल्याउन नपाउने नीतिगत व्यवस्था गरेको छ। प्राधिकरणले चालक दलका सदस्यसहित विमान भाडामा ल्याइएको अवस्थामा वायुयान सञ्चालन प्रमाण पत्र नपाउने व्यवस्था गरेको छ।
_x000D__x000D_
प्राधिकरणले यसअघि व्यवहारिक रुपमा चालक दलका सदस्यसहित विमान भाडामा ल्याएको अवस्थामा सञ्चालन अनुमति पत्र नदिने गरे पनि नीतिगत व्यवस्था भने गरेको थिएन। तर, प्राधिकरणले पहिलो पटक नीतिगत रुपमा नै चालक दलका सदस्यसहित जहाज भाडामा ल्याउन नपाउने व्यवस्था गरेको हो।
_x000D__x000D_
‘वायुसेवा सञ्चालन सम्बन्धी नीतिगत व्यवस्थाहरु, २०७५’ जारी गर्दै यस्तो व्यवस्था ल्याएको प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेल बताउँछन्।
_x000D__x000D_
नेपालको हवाई इतिहासमा निजी हवाई सेवा प्रदायक कम्पनीले चालक दलका सदस्यसहित जहाज भाडामा ल्याउने नगरेपनि नेपाल वायु सेवा निगमले भने सुरुवाती चरणमा चालक दलका सदस्यसहित नै जहाज भाडामा ल्याएको थियो। चालक दलका सदस्यसहित जहाज भाडामा ल्याउने प्रणलीलाई ‘वेट लिज’ भनिन्छ। तर, विमान कम्पनीले चालक दलका सदस्यबिना जहाज भाडामा ल्याउनुलाई ‘ड्राई लिज’ भनिन्छ।
_x000D__x000D_
काठमाडौं विमानस्थलमा नयाँ एयरलाइन्सलाई अनुमति बन्द
_x000D__x000D_
प्राधिकरणले मौखिक रूपमा ६ महिना अगाडिदेखि नै नयाँ एयरलाइन्स कम्पनीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण अनुमति नदिने घोषणा गरेको थियो। तर, अनुमति प्रक्रियामा मन्त्री तथा नेताको उच्च दबाव रहेपनि प्राधिकरणले नीतिगत रूपमै काठमाडौं विमानस्थललाई आधार बनाएर उद्गम वा प्रस्थान हुनेगरी नयाँ वायुसेवा कम्पनीहरुलाई वायुसेवा सञ्चालन अनुमति प्रदान नगर्ने व्यवस्था गरेको पोखरेलले बताए।
_x000D__x000D_
प्राधिकरणले ‘वायुसेवा सञ्चालन सम्बन्धी नीतिगत व्यवस्थाहरु, २०७५’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो। तर, हाल सञ्चालन आधार रहेका कुनै वायुसेवा कम्पनी बन्द भएमा वा सञ्चालन आधार अन्यत्र स्थानान्तरण गरेको अवस्थामा भने वायुयानको क्षमता मूल्यांकन गरेर मात्रै नयाँ अनुमति दिन सकिने उनले बताए।
_x000D__x000D_
यसमा पनि काठमाडौं बाहिर सञ्चालन आधार रहेका वायुसेवाहरुको सञ्चालन प्रमाणपत्र प्राप्त गरेको मितिको आधारमा प्राथमिकता निर्धारण गरी सञ्चालन आधार दिइने नीतिमा व्यवस्था छ। साथै, नीतिमा नयाँ वायुसेवा कम्पनीलाई काठमाडौं बाहिरका ‘हब’ विमानस्थलहरु विराटनगर, भैरहवा, पोखरा, नेपालगन्ज, धनगढी र सुर्खेत विमानस्थलमा सञ्चालन आधार रहने गरी उडान अनुमति दिइने उल्लेख छ। साथै तोकिएका विमानस्थलमा उडान सञ्चालन गर्ने गरी वायुसेवा सञ्चालन अनुमति पत्रमा उडान वृत्त खण्ड समेत स्पष्ट उल्लेख गरेर मात्रै अनुमति दिइने पोखरेल बताउँछन्।
_x000D__x000D_
नयाँ अनुमति प्रदान गर्दा पनि अबदेखि नयाँ वायुसेवा कम्पनीका लागि आवश्यक पर्ने वायुयान चालक तथा वायुयान मर्मत सम्भार इन्जिनियर आवश्यक संख्यामा रहेको एकिन गरी मात्र सञ्चालन प्रमाणपत्रको प्रकृया अघि बढाइने नीतिमा उल्लेख छ।
_x000D__x000D_
सेवा सुरु गरेको ५ वर्षपछि विदेशी पाइलट राख्न नपाइने
_x000D__x000D_
वायुसेवा कम्पनीले सेवा सञ्चालन गरेको ५ वर्षभित्र वायुयान चालक, इन्जिनियर जस्ता जनशक्ति पूर्ण रुपमा नेपाली बनाउनु पर्ने नयाँ व्यवस्था गरिएको छ। तर, कुनै नयाँ प्रकारको वायुयान (फिल्ट) थप गरेको अवस्थामा भने यो नियम लागू हुने छैन। यसका लागि पनि कम्पनीले थप पाँच वर्षको समयसीमा पाउने छ।
_x000D__x000D_
उड्डयन गतिविधिमा नेपाल दक्षिण एसियाको दोस्रो
_x000D__x000D_
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले नेपाललाई भारतपछिको दक्षिण एसियाको सबैभन्दा बढी उड्डयन गतिविधियुक्त देशको रुपमा राखेको पोखरेलले दाबी गरे। अहिले नेपालमा १० वटा विमान कम्पनी र १० वटा हेलिकोप्टर कम्पनी छन्। जसको कुल वायुयान संख्या ९० वटा छ।
_x000D__x000D_
वायुयान संख्या ठूलो नरहेता पनि वायुसेवा कम्पनीको संख्या अत्याधिक रहेको कारण वायुसेवा कम्पनीलाई आन्तरिक उडान सुरक्षा, मर्मत सम्भार र गुणस्तर निर्धारण कार्यका लागि आ–आफ्नै संगठन तयार गर्नुपरेको उनको भनाइ छ। उड्डयन क्षेत्रमा बढ्दो गतिविधिका कारण प्राधिकरणलाई समेत उडान सुरक्षा नियमन कार्यमा अत्यधिक बोझ थपिएको पोखरेल बताउँछन्।
_x000D__x000D_
हवाई यातायातको क्षेत्रमा देखिएका विविध समस्याहरुको निराकरणका लागि नै उक्त नीति ल्याइएको प्राधिकरणले जनाएको छ। वायुसेवा सञ्चालन प्रमाणपत्र जारी गर्ने, वायुयान संख्या थप गर्ने, सञ्चालन आधार तोक्ने, उडान अनुमति प्रदान गर्नेजस्ता विषयमा प्राधिकरणबाट सम्पादन गर्नुपर्ने कार्यका सम्बन्धमा नीतिगत मार्गदर्शन गर्न आवश्यक देखिएकोले नै वायुसेवा सञ्चालन सम्बन्धी नीतिगत व्यवस्थाहरु, २०७५ जारी गरिएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।