अमेरिका अरुलाई त्यही गर्न लगाउँछ, जुन उसलाई आवश्यक छ : ग्यारी लिट [अन्तर्वार्ता]

Nepal Live

सिंगापुर नेसनल विश्वविद्यालयका अवकाशप्राप्त प्राध्यापक ग्यारी लिट एसिया र युरोपका विभिन्न २० विश्वविद्यालयमा अतिथि प्राध्यापकको रुपमा प्राध्यापन गर्छन्। केही समयअघि नेपाल आएका लिटले नेपालका विभिन्न स्थानमा तेस्रो विश्वबाट कसरी सिंगापुर पहिलो विश्वमा पुग्न सफल भयो भन्ने विषयमा आफ्नो अनुभव साटेका छन्। विश्व राजनीति र त्यसमा एसियन राष्ट्रहरुको भूमिका, एसियन राष्ट्रहरुले विश्व राजनीतिमा पार्न सक्ने प्रभावबारे उनले व्याख्यान दिए। के अमेरिकाले एसियन राष्ट्रहरुलाई फुटाएरै राज गर्ने रणनीति लिएको हो? अमेरिका र चीनबीच हाल चलेको व्यापार युद्धको अन्तर्य के हो? अमेरिकी चंगुलबाट बाहिर आउन एसियन राष्ट्रहरुले कस्तो कदम अपनाउनुपर्ला? लगायतका विषयमा उनै लिटसँग नेपाल लाइभका पुरुषोत्तम पौडेलले गरेको कुराकानी :

चीन, जापान, भारत लगायतका देशहरु २१औं शताब्दीलाई एसियन शताब्दीको रुपमा व्याख्या गर्छन्। तर सामूहिक रुपमा अघि बढ्ने संकल्प गर्दैनन्। विश्व अर्थतन्त्रको केन्द्रविन्दुमा रहेको सिंगापुरको दृष्टिकोणबाट हेर्दा एसियाका शक्तिकेन्द्रको सामूहिक प्रयासबिना अमूक देशको प्रयासले मात्रै एसियन शताब्दी पुनःजागृत हुन सक्छ?
एसियन शताब्दी भनेको एउटा सपना हो। समयकालको यो खण्डसम्म यो एउटा सपनाको रुपमा मात्रै रहेको छ। म चाहन्छु यो सपना चाँडै साकार होस्। सन् २००८ को विश्व आर्थिक संकटलाई एउटा पानीढलो मान्ने हो भने एसियन शताब्दी निर्विकल्प सत्य हो। यो आउनैपर्छ।

अर्को तितो सत्य के पनि हो भने विकसित विश्व घट्नाक्रमको मूल्यांकन गर्दा यो सपना आउँदा केही वर्षभित्र नै पूर्ति हुन्छ जस्तो मलाई लाग्दैन। आर्थिक संकटपछिको कालखण्डलाई सूक्ष्म अध्ययन गर्दा के पाइन्छ भने आंशिक रुपमा अमेरिकी अर्थतन्त्र ऋणपत्र जारी गर्दै टिकेको हो। अमेरिकी ऋणपत्र किन्न चीन, जापान, रसिया लगायतका देशहरुले सहयोग गरिरहेका छन्। आखिर ऋणपत्र एउटा सामान्य कागज मात्रै हो जसको निश्चित मूल्य तोकिएको हुन्छ। यसरी कमजोर बनेको अमेरिकी अर्थतन्त्रलाई एसियन देशहरुले भरथेग गरिरहेका छन् भने अर्कोतर्फ एसियन देशहरु चीन, भारत, जापान, कोरिया र आसियान देशहरुको आर्थिक क्षमता बढ्दै गएको छ। दुःखद कुरा त के छ भने, एसियाकै देश भारत र जापान अमेरिकी नेतृत्वको ‘क्याड' समूह (ग्याङ अफ फोओ) मा मिलेर चीनको विश्व राजनीतिमा बढ्दै गएको प्रभावलाई निस्तेज पार्न उद्धत भइरहेका छन्, जसको अर्को महत्वपूर्ण सदस्य अस्ट्रेलिया पनि हो। एसियन क्षेत्रका सबै देशहरु सामूहिक रुपमा अघि बढ्न यस क्षेत्रमा शान्ति, स्थायीत्व, सहअस्तित्व र समृद्धिको भावना हुनुपर्छ। जुन कुराको अभाव म अहिले देखिरहेको छु। विभिन्न बहानामा आफ्नै क्षेत्रको विकास रोक्न एसियाकै देश लागिपर्दा एसियन शताब्दीको सपना जुन देखिरहेका छौँ त्यो निकट भविष्यमा सम्भव हुन्छ जस्तो मलाई लाग्दैन। 

चीनको विश्व परिवेशमा बढ्दै गएको क्षमतासँग अमेरिका सशंकित छ भनिन्छ। आसियान देशहरुमध्ये सिंगापुरलाई अमेरिकाको एक भरपर्दो मित्रराष्ट्रको रुपमा पनि हेरिन्छ। अतिथि प्रध्यापकका रुपमा तपाई विभिन्न देश जाँदा धेरै देशको विचारसँग परिचित हुनुभएको छ भने अमेरिकी छटपटाहटका बारेमा पनि राम्रो जानकार हुनुहुन्छ। चीन साँच्चिकै विश्वको पहिलो शक्ति राष्ट्र बन्ने ल्याकत राख्छ? 
म तपाईसँग जे बोलिरहेको छु त्यो मेरो व्यक्तिगत धारणा हो। त्यससँग सिंगापुर सरकारको कुनै सरोकार छैन। केही मानिस सिंगापुरलाई अमेरिका संरक्षित राष्ट्रको रुपमा व्याख्या गर्छन्। यो ती व्यक्तिहरुको धारणा हो यसमा मलाई भन्नु केही छैन। सिंगापुर एक महत्वपूर्ण रणनीतिक ठाउँमा अवस्थित रहेकाले हामीलाई हाम्रो छिमेकीमाझ वाचाल रुपमा प्रस्तुत हुनुपर्छ। सिंगापुरको अस्तित्व र विकासका लागि पनि यो आवश्यक छ।

सिंगापुर ध्वस्त हुँदा विश्वको अर्थतन्त्र सिद्धिन्छ भन्न्मा हामी सचेत छौँ। हाम्रो खुला अर्थतन्त्रका कारण पनि हामी कुनै एक देश विशेषसँग बढी निकट हुन मिल्दैन।

हामीलाई थाहा छ हाम्रो रणनीतिक अवस्थितिका कारणले गर्दा नै विश्वका महत्वपूर्ण देशको हामीसँग स्वार्थ जोडिएको हो। हामी संवेदनशील भएर अघि बढ्छौँ र बढिरहेका छौँ। संरचनागत अवस्थाका कारणले गर्दा पनि हामी कसैसँग निहुँ खोजेर भिडन्त गर्ने स्थिति छैन। सिंगापुर एक जिम्मेवारीका साथ विश्वको अर्थतन्त्र बोकेको देश हो। सिंगापुर ध्वस्त हुँदा विश्वको अर्थतन्त्र सिद्धिन्छ भन्न्मा हामी सचेत छौँ। हाम्रो खुला अर्थतन्त्रका कारण पनि हामी कुनै एक देश विशेषसँग बढी निकट हुन मिल्दैन। रह्यो विश्व शक्तिका रुपमा चीनको उदय हुने सम्भावनाको कुरा। म भविष्यवेत्ता होइन, मेरो पेसागत हिसाबले गर्दा म आँकडामा बोल्नुपर्छ। विभिन्न माध्यमबाट मैले पाउने आँकडा तपाईंले पनि पाउन सक्नुहुन्छ। 

सिंगापुरको रणनीतिक महत्व बढाउने कारणमध्ये एक प्रमुख कारण सिंगापुरको फिलिप च्यानलसम्म फैलिएको मलक्का स्ट्रेट पनि हो। जसले प्रशान्त सागरलाई इन्डियन सागरसँग जोड्ने काम गर्छ। मलक्का स्ट्रेट र दक्षिण चीन सागरमा चीन र आसियान देशबीच फौलिएको असन्तुष्टि के हो?
मलक्का एक महत्वपूर्ण स्ट्रेट हो यसमा कुनै शंकै छैन। यो स्ट्रेट हुँदै वार्षिक पाँच ट्रिलियन डलर बराबरको वस्तु व्यापार हुन्छ। समुन्द्रबाट हुने व्यापारको ५० प्रतिशत यहीँबाट हुन्छ जसमा धेरै पेट्रोलियम पदार्थ पर्छ। 

जहाँसम्म चीन र आसियान देशबीच दक्षिणी चीन सागरमा समस्या छ भन्ने कुरा जुन छ त्यो फेरि तपाईंको सूचनाको माध्यम के भन्ने कुरामा भरपर्छ। के तपाईंलाई चीनले दक्षिणी चीन सागरबाट हुने व्यापारमा अवरोध खडा गरेको थाहा छ? छैन भने दक्षिणी चीन सागरमा समस्या छ भन्ने कुरा कहाँबाट आयो? यो कथ्य कसले विकास गर्दै छ? यस्तो समाचार प्रकाशन गर्ने प्रकाशक पूर्वीय हुन् अथवा पश्चिमा? जुन प्रश्न मालाई गर्नु भयो यसको स्रोत के भन्ने तपाईलाई थाहै छ मैले भन्नुपर्दैन।

अमेरिका र चीनबीच हाल चलिरहेको व्यापार युद्धलाई हेरौं। के यो शुद्ध व्यापार युद्ध मात्रै हो त? के अमेरिकाले चीनसँगको व्यापारमा घाटा भएर मात्रै यसो गरेको हो त? पक्कै होइन।

म तपाईंलाई सञ्चारमाध्यममा खासै नआएको एउटा कुरा बताऊँ, अमेरिकी कंग्रेसमा त्यहाँका सैनिक सह एडमिरलले बताए अनुसार दक्षिणी चीन सागरमा भियतनामले ४८ वटा टापु नियन्त्रण गरेको छ जबकि चीनले जम्मा ८ वटा गरेको छ। यो तथ्य परक समाचार किन सञ्चार माध्यममा आउँदैन? जे होस् अन्तर्राष्ट्रिय सामुद्रिक नीतिको अवमूल्यन भएको छैन। अवमूल्यन किन भएको छैन भने कसैले पनि त्यहाँबाट हुने व्यापारलाई प्रभावित पार्ने काम गरेका छैनन्। अब भन्नुस् को हो त्यो जसले चिनियाँ राष्ट्रपति सि जिङफिङले दक्षिणी चीन सागर सैनिकीकरण गर्दै छ भनेर अफवाह फैलाउने? यो काल्पनिक कथ्य निर्माण गर्ने र फैलाउनेलाई हामीले चिन्न जरुरी छ।

तपाईंले सिंगापुरको रणनीतिक अवस्थितिका कारण अरु देश सिंगापुरसँग स्वार्थवश नजिकिन आउँछन् भन्नुभयो। बाहिरी दुनियाँले भने जस्तै सिंगापुर अमेरिकी संरक्षणप्राप्त राष्ट्र होइन भन्ने तपाईंको आशय रह्यो। यदि त्यसो हो भने अमेरिकाले मध्य एसिया र अरु भूभागका उनीहरुकै शब्दमा तानााशाही निरंकुश शासकमाथि आफ्ना जनताको मानवअधिकार र स्वतन्त्रता हनन गरेको निहुँमा आक्रमण गरी सत्ताच्युत गर्दा सिंगापुरमा किन त्यस्तो भएन?
सबैको एउटा अनुमान र कल्पना छ कि अमेरिका भनेको राम्रो हो र उसले जे गर्छ राम्रै गर्छ भन्ने। अमेरिकाको साँचो लक्ष्य मानव अधिकारको संरक्षण गर्नु हुन्थ्यो भने दक्षिण कोरियाका नेता पाक चोंग हाय, ताइवानका नेता चियाँ चिंग कुओ अनि फिलिपिन्सका फ्रडिनाण्ड मार्कोस यी सबै निरंकुश नभए पनि तानाशाही त पक्कै थिए। किन उनीहरुलाई मानव अधिकार र नागरिक स्वतन्त्रताको नाममा कारबाही भएन? मलाई के लाग्छ भने पश्चिमा सञ्चारमाध्यमले यिनीहरुको तानाशाही प्रवृतिको विषयमा केही कुरा पनि बाहिर ल्याएनन्। उनीहरु सबै अमेरिकी डम्फुमा नाच्ने प्रवृत्तिका थिए त्यसैले उनीहरुको तानाशाही प्रवृतिलाई वास्ता गरिएन। जहाँसम्म सिंगापुरको कुरा छ यदि तपाईंले भने जस्तै सिंगापुर पूरा मात्रामा अमेरिकाको चाहना अनुसार चल्ने हुन्थ्यो भने लि क्वान यु तानाशाही हो भनेर किन प्रचार भयो। यो कुराले पनि तपाई के सच्चाइ हो भन्ने कुराको आफै अनुमान गर्न सक्नुहुन्छ। अमेरिका आफूलाई जे कुरा बेच्दा फाइदा हुन्छ त्यही कुरा प्रचार गराउँछ र त्यही सिकाउँछ। 

पश्चिमा देशले प्रचार गरेकै कुरामा भर परेर यस्तो अवस्था आएको हो भने किन हामी पूर्वीय ज्ञानलाई बढवा दिनतिर लाग्दैनौं त? ज्ञानको प्रचुर भण्डार रहेको पूर्वीय दर्शनको समुचित विकास नहुनुमा त पूर्वका विकसित देशहरुले चासो नदेखाउनु पनि त कारण होला नि!
एकदम ठिक कुरा गर्नुभयो। हामी पूर्वीय देशहरुले गएको तीन दशकमा आर्थिक क्षेत्रमा फड्को मारे पनि ज्ञानको क्षितिज बढाउन खासै प्रयास गरेनौँ। त्यसैले जे भने पनि हामी पश्चिमा देशभन्दा पछाडि हौँ। विज्ञान र प्रविधिको क्षेत्रमा हामी अघि बढे पनि विश्व बहसको विषय अझै पश्चिमा देशहरुले नै निर्धारण गर्छन्। कुन कुरामा कसरी बहस गर्ने भनेर पश्चिमा धारणा नै हाबी हुन्छ र हामी त्यही अनुरुप सहभागी हुन्छौं। राजनीतिक, आर्थिक सामाजिक, अन्तर्राष्ट्रिय सम्बन्ध जस्ता समाजलाई प्रत्यक्ष प्रभाव पार्ने विषयको बहस अझै पनि उतै छ। उनीहरुले सकेसम्म एसियन देशलाई आफनो मौलिक एजेन्डा निर्धारण गर्न दिनेछैनन् किनकि उनीहरु त्यसलाई सम्भाव्य खतराको रुपमा लिन्छन्। 

अमेरिका र चीनबीच हाल चलिरहेको व्यापार युद्धलाई हेरौं। के यो शुद्ध व्यापार युद्ध मात्रै हो त? के अमेरिकाले चीनसँगको व्यापारमा घाटा भएर मात्रै यसो गरेको हो त? पक्कै होइन। मेरो विचारमा यसको अन्तर्य अर्कै छ। चीनले ‘मेक इन चाइना २०२५'  घोषणा गरेको छ। चीन २०२५ सम्म विकासशील देशबाट विकसित देश बन्न चाहन्छ जुन गलत होइन। सबैले समृद्ध हुने सपना देख्न पाउनुपर्छ। आर्थिक रुपमा जतिसुकै विकास गरे पनि चीनको प्रतिव्यक्ति आय अझै १० हजार डलर पुग्न सकेको छैन। चीनले देखेको सपना साकार हुँदा अमेरिकाले आफूलाई खतरा हुने महसुस गरेर व्यापार युद्ध छेडेको बुझ्न गाह्रो छैन।  

यी सबै कुरा थाहा हुँदाहुँदै पनि एसियन देशहरु किन साझा सपनाको लागि प्रतिबद्ध हुन सक्दैनन्?
हाम्रो समस्या यही नै त हो। हामी सबै एसियन शताब्दीको साझा सपना देख्छौं। तर मिलेर कसरी अघि जान सकिन्छ भनेर सल्लाह गर्दैनौं अनि हामीलाई अघि बढ्न नदिने राष्ट्रको नेतृत्वमा बनेको समूहको सदस्य बन्छौं। ग्याङ अफ फोओमा कुनकुन राष्ट्रहरु छन्? एसियाका देशहरु एसियातिर फर्किने वा फुटाऔं र राज गर भन्ने उपनिवेशकालीन रणनीतिको पक्षधर हुने भन्ने विषय महत्वपूर्ण हो। एउटा समुहविरुद्ध अर्को समूह बनाएर यो निरन्तर चलिरहने युद्धले हामीलाई कतै पनि लैजाँदैन। एसियन नेताको नेतृत्व परीक्षणको सान्दर्भिक समय आएको छ जस्तो मलाई लाग्छ। 

मौसम अनुसार आफूलाई कसरी परिर्वतन गर्दा उपयुक्त हुन्छ भन्ने कुरा नेपालले राम्ररी बुझेको छ जस्तो मलाई लाग्छ।

तपाईं एसियन सपनाका लागि एसियन देश एक ठाउँमा आउनुको विकल्प छैन भन्नुहुन्छ तर चिनियाँ राष्ट्रपति जिङफिङले नेतृत्व गरेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मा तपाईंको आफनै देश सिंगापुर, थाइल्यान्ड लगायतका देशहरु सहभागी भएका छैनन्…
सिंगापुर एउटा सानो टापु देश हो, जहाँ हामीलाई फलफूल रोप्ने ठाउँसम्म छैन। आवश्यक पर्ने न्यूनतम विकास सिंगापुर आफैले गरेको छ। चिनियाँ लगानीको ठूलो परियोजना लगेर त्यहाँ लगानी गर्ने ठाउँ पनि छैन। अनि गत वर्षको बिआरआई सम्मेलनमा सिंगापुर सहभागी नभएको तपाईंको प्रश्न छ, सिंगापुरलाई समारोहको निमन्त्रण नै थिएन। त्यसको फरक पाटो होला। तर बिआरआईका विषयमा विभिन्न माध्यममा आउने टिप्पणी कुत्सित मनसायले आएका हुन् भन्ने मलाई लाग्छ। जस्तै: केही दिनपहिला त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको एक कार्यक्रममा बोल्दै थाइल्यान्डका एक प्रध्यापकले बिआरआई अन्तर्गतको ब्याजदर जुन २.५ प्रतिशत तोकिएको छ, त्यो धेरै भयो भनेका थिए। उनले भने जस्तै यदि यही ब्याजदर हो भने त्यो विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषले लिनेभन्दा कम हो। अहिले कसैले कसैलाई ढाँट्न सजिलो छैन। विभिन्न आँकडा खोजेर पढे हुन्छ। विश्वबैंक र आइफमएफले प्रदान गर्ने ऋणको ब्याजदर ३.५ प्रतिशतभन्दा कम छैन। शिक्षित मानिसहरुले सजिलै आँकडालाई तुलनात्मक अध्ययन गर्न सक्छन्। त्योसँगै उनीहरुले लगाउने राजनीतिक सर्तको कुरै बेग्लै छ। कम्तीमा चीनले राजनीतिक सर्त लगाउँदैन भन्ने मलाई लाग्छ। यस्तो योजना देशलाई आवश्यक छ/छैन भन्ने विषयमा कुनै पनि देशले आफै बुझ्नुपर्छ र पूर्वसम्भाव्यता अध्ययन भने गर्नुपर्छ।

तेस्रो विश्व हुँदै आज सिंगापुर पहिलो विश्वको राष्ट्र भएको छ। देशले हासिल गरेको प्रगतिको अनुभव सुनाउँदै हिँड्न पाउँदा कस्तो अनुभव हुन्छ?
म नेपाल आउनुको एउटा मात्रै कारण छ। म एसियाका अरु विकासशील देशहरुमा पनि आफनो अनुभव सुनाउन गएको छु। ती देशमा सिंगापुरको प्रगतिबारे सुनाउन पाउँदा मलाई अत्यन्त खुसी लाग्छ। मैले साटेको अनुभवको केही प्रतिशत मात्रै कसैलाई उपयोगी भएको अवस्थामा म खुसी हुनेछु।

तपाईंले अन्तर्वार्ताको सुरुवातमै भन्नुभएको थियो- सिंगापुरलाई भौगोलिक रणनीतिका कारण विकास र समृद्धिको आफ्नो स्वार्थलाई प्राप्त गर्न छिमेकीहरुसँग जोगिएर अघि बढ्नुको विकल्प छैन। नेपाल पनि दुई ठूला उदीयमान देशबीचमा रहेका रणनीतिक महत्वको राष्ट्र हो। नेपालले आफ्नो राष्ट्रिय स्वार्थ प्राप्त गर्न कसरी अघि बढ्नुपर्ला?
त्यो परिस्थिति अनुसार फरक पर्ने कुरा हो। समयको माग अनुसार चल्नु नै सबैभन्दा उत्तम विकल्प हो। राष्ट्रिय अस्तित्व र सार्वभौमसत्तालाई कायम राख्दै आफ्नो अनुकूलतालाई परिभाषित गर्दै अघि बढ्नुपर्छ। यो अवस्थामा यही नै गर्नुपर्छ भन्ने हुँदैन। तर मौसम अनुसार आफूलाई कसरी परिर्वतन गर्दा उपयुक्त हुन्छ भन्ने कुरा नेपालले राम्ररी बुझेको छ जस्तो मलाई लाग्छ।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार