काठमाडौं- देशभर अवैध हतियारको बिगबिगी बढ्दो छ। प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार वैशाखदेखि साउनसम्म चार महिनाको अवधिमा देशका विभिन्न स्थानबाट १ सय ३ थान हतियार र १ सय ६९ थान गोली बरामद भएको प्रहरीले जानकारी दिएको छ। यति ठूलो मात्रामा हतियार बरामद हुनुले ठूलो सुरुक्षा चुनौती थपिएको देखाउँछ। अझ नजिकिँदै गरेको चाडपर्वका समयमा यस्ता हतियारबाट बढी चुनौती हुने प्रहरीको विश्लेषण छ।
_x000D__x000D_
चार महिनाको अवधिमा प्रहरीले हतियार र गोलीसहित १ सय ५३ जनालाई पक्राउ गरेको छ। जसमा ४ जना विदेशी नागरिक समेत छन्। पक्राउ पर्ने सबै पुरुष हुन्।
_x000D__x000D_
वैशाख महिनामा ३४ थान हतियार र ७२ थान गोली बरामद भएको थियो। जेठमा २० थान हतियार र १३ थान गोली, असारमा ३६ थान हतियार र ७५ गोली बरामद भएको थियो भने साउनमा १३ थान हतियार र ९ थान गोली बरामद भएको प्रहरी प्रवक्ता शैलेस थापा क्षेत्रीले जानकारी दिए। गत वर्षको यही चार महिनामा ७५ थान हतियार र ८६ थान गोली बरामद भएको थियो।
_x000D__x000D_
साढे ३३ किलो सुन तस्करी काण्डमा महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी दिवेश लोहनी पक्राउ परेपछि जिम्मेवारी सम्हाल्न आइपुगेका एसएसपी धिरजप्रताप सिंहले साना हतियार सुरक्षाका लागि सबैभन्दा बढी चुनौतीपूर्ण रहेको बताउँदै हतियार नियन्त्रण अभियान नै चलाउने बताएका थिए। पछि, समाज असुरक्षित भएको भन्दै महाशाखाले लाइसेन्स लिएर राखिएका हतियारले समेत लाइसेन्स खारेज गर्न लगाउँदै बरामद गरेको थियो।
_x000D__x000D_
त्यसपछि पनि उपत्यकामा फाट्ट-फुट्ट अवैध हतियार बरामद भइरहेका छन्। बरामद गरिएका केही हतियार नेपालमै बनेका भरुवा बन्दुक हुन् भने बाँकी सबै हतियार खुल्ला सीमा नाकाको फाइदा उठाउँदै भारतबाट ल्याइएका हुन्।
_x000D__x000D_
सबैभन्दा बढी हतियार काठमाडौं उपत्यकाबाट बरामद भएका छन्। त्यसपछि तराईका जिल्लाबाट बढी हतियार बरामद भएको प्रहरीले जनाएको छ। अहिलेको मुख्य चुनौती भनेकै दक्षिणी सीमा नाकाबाट भित्रिएका साना हतियार रहेको प्रहरीले जनाएको छ।
_x000D__x000D_
साना हतियार शरीरमा लुकाएर बोक्न सजिलो हुने भएकाले हतियारकै भरमा आपराधिक क्रियाकलाप हुने गरेकाले सुरक्षामा चुनौती थपिदै गएको छ। चाडपर्वलाई आपराधिक क्रियाकलापमा लागेका व्यक्तिले अवसरका रुपमा लिने गरेकाले साना हतियार यतिबेला झनै चुनौती बनेको छन्। साना हतियारबाट हुने अपराध नियन्त्रण गर्न प्रहरीले सुरक्षा योजना बनाएर लागू गर्ने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।