संविधानजस्तो कुरामा मजाक गरियो : राजेन्द्र महतो [अन्तर्वार्ता]

Nepal Live

०७२ जेठ २५ गते राति मुख्य चार राजनीतिक दल(नेपाली कांग्रेस, तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) तथा फाेरम लोकतान्त्रिक) बीच १६ बुँदे सहमति भएपछि दुई नेता खास चर्चामा रहे– केपी शर्मा ओली र राजेन्द्र महतो। कतिसम्म भने उनीहरु दुवै जना आफ्नो समुदायका लागि आशा र अर्को समुदायको लागि विरोधको केन्द्रमा रहे। १६ बुँदेबाट असन्तुष्ट मधेस केन्द्रित दलहरु सडक आन्दोलन हुँदै सीमा अवरोधसम्म पुगे। त्यतिबेला सबैभन्दा कडा मानिएको विरगञ्ज नाका अवरोधको नेतृत्व उनै महतोले गरेका थिए।

सडक आन्दोलनदेखि सीमा अवरोधसम्मको मधेस आन्दोलनलाई उनै महतोले कसरी सम्झिन्छन्? त्यो संघर्षप्रति उनको कुनै पश्चाताप वा उत्साह बाँकी छ? संविधान दिवसको दिन गर्ने भनिएको ‘ब्ल्याक आउट’को औचित्य के हो? लगायतका विषयमा नेपाल लाइभका लागि किशोर दहालले महतोसँग कुराकानी गरेका छन्।

२०७२ जेठ २५ गते राति चार राजनीतिक दलहरुले १६ बुँदे सहमति गरे। त्यसै दिन बिहान उनीहरुबीच त्यसको सैद्धान्तिक सहमति भएको थियो। र दिउँसो माओवादी अध्यक्ष प्रचण्ड एवम् तपाईंहरु सम्मिलित ३० दलीय मोर्चाको बैठक बस्यो। त्यसपछि ३० दलीय मोर्चा फुट्यो पनि। खासमा प्रचण्डले तपाईंहरुलाई के भन्नुभएको थियो? तपाईंहरुले के प्रतिक्रिया दिनुभएको थियो?

जुन प्रयोजनका लागि ३० दलीय मोर्चा गठन भएको थियो। त्यसको भावना विपरित १६ बुँदे सहमति हुँदै थियो। संविधानमा पहिचान र अधिकारका निम्ति जुन प्रावधानहरु राख्नुपर्छ भनेर भन्नुहुन्थ्यो, प्रचण्डजी त्यसकै विपरितमा जानुभयो। कांग्रेस, एमालेसँग मिल्नका लागि उहाँ ३० दलीय मोर्चा छाड्दै हुनुहुन्थ्यो। हामी भने त्यस सहमतिको विरोधमा लागिरह्यौं।

प्रचण्ड चाहिँ किन बदलिनुभयो भन्ने लाग्छ?

यो प्रश्नको जवाफ प्रचण्डजीले नै दिने हो, मैले होइन। किन फेरिनुभयो, किन छाडेर जानुभयो भन्ने कारण उहाँसँग होला।

त्यत्रा जनता सडकमा मरिरहेका छन्, यस्तो अवस्थामा प्रमुख दलहरु कसरी अगाडि बढ्लान् भन्ने लागेको थियो। तर पनि उनीहरु गए। हामीहरुलाई ‘बाइपास’ गरेर अगाडि बढे। जनताको आन्दोलन र सहादतलाई अवमूल्यन गरे। आखिरमा असोज ३ गते संविधान जारी गरे। त्यसैले हामी असोज ३ गते विरोध दिवस मनाइरहेका छौं।

मधेससँग विगतमा जुन खालका सहमति भएका थिए, त्यसैको विपरित हुने भनिएको सहमति त्यतिबेला दलहरुले किन गरे भन्ने लाग्छ?

नियत ठीक नभएपछि यस्तो हुन्छ। नियत ठीक नभएपछि सम्झौता गरे पनि त्यसको उल्लंघन हुनसक्छ।

१६ बुँदे सहमतिपछि पनि केही समय संविधानसभामै हुनुहुन्थ्यो। पछि सभा नै छोडेर सडकमै उत्रिनुभयो। सडकमै नउत्री हुँदैन भन्ने किन लाग्यो?

१६ बुँदेकै जगमा संविधान निर्माण हुँदै थियो। त्यसमै बेइमानी भइसकेको थियो। धोकाधडी सुरु भयो। एउटा धोका प्रचण्डजीबाट भयो, उहाँले ३० दलीय मोर्चाको भावना विपरित गएर १६ बुँदेमा सहमति गर्नुभयो। त्यो सम्झौता ०६४ फागुन १६ गते हामीसँग गरिएको ८ बुँदेको विपरित थियो। त्यसैले १६ बुँदे सहमति हुनेबित्तिकै हामी त्यसको विरुद्धमा उभिएका थियौं। त्यसैको परिणामस्वरुप ६ महिनाभन्दा लामो मधेस आन्दोलन भयो। त्यो नाकाबन्दीसम्म पुग्यो।

तपाईंहरु सडकमा हुनुहुन्थ्यो। यता केही दल संविधान निर्माण प्रक्रियालाई पनि गति दिइरहेका थिए। दलहरुले प्रक्रिया रोकेर तपाईंहरुलाई पनि समेट्लान् भन्ने आशा लागेको थियो?

१६ बुँदे त भर्इ नै सकेको थियो। तर जनताको आवाज सुन्नुपर्छ, त्यो आवाज नसुनेर कसरी बेइमानी गर्लान्, जनताको अगाडि गरेको विगतको सम्झौताको विरुद्धमा त कसरी जालान् भन्ने त लागेको थियो। त्यत्रा जनता सडकमा मरिरहेका छन्, यस्तो अवस्थामा प्रमुख दलहरु कसरी अगाडि बढ्लान् भन्ने लागेको थियो। तर पनि उनीहरु गए। हामीहरुलाई ‘बाइपास’ गरेर अगाडि बढे। जनताको आन्दोलन र सहादतलाई अवमूल्यन गरे। आखिरमा असोज ३ गते संविधान जारी गरे। त्यसैले हामी असोज ३ गते विरोध दिवस मनाइरहेका छौं। यो विरोध राजपाले बाध्य भएर गर्नु परिरहेको छ।

संविधान पूर्णरुपमा मान्दै मान्दैनौं भनेर हामीले कहिल्यै भनेका थिएनौं। हामीले संविधानमा भएका जनताको अधिकारको विपक्ष हुने प्रावधानको विरोधमा बोलेका थियौं। जुन–जुन प्रावधान गलत छन्, त्यसको विरोध गरेका हौं।

तपाईंहरुले ‘ब्ल्याक आउट’ गर्ने भनिसक्नुभएको छ। विगतमा तपाईंहरु सँगै रहेर संविधानको विरोध गरेको दल संघीय समाजवादी फोरमले विरोध नगर्ने भनेको छ। तपाईंहरुबीच किन यसरी फरक बुझाइ आयो?

फोरमको कुरा त उनीहरुले नै भन्लान्। उनीहरु सरकारमा पनि छन्। उसले संविधान जारी हुने बेला ‘ब्ल्याक आउट’ गरेको थियो। सँगै गोली खाइरहेको थियो। जुन कुराको लागि सँगै आन्दोलन गरियो, गोली खाइयो त्यो आन्दोलनको एजेन्डा पूरा भयो त? यस्ता कुराको उत्तर सायद फोरमले देला।

तर, तपाईंहरु पनि संविधान अनुसारको सबै प्रक्रियामा सामेल भइसक्नुभएको छ। प्रदेश २ को सरकारमै सामेल हुनुभएको छ। संघीय सरकारमै जाने पनि कुरा चलेको थियो। तपाईंहरुलाई मात्रै विरोध गर्नुपर्ने बाध्यता के छ त?

संविधानलाई हामीले ‘रिजेक्ट’ गरेको छैन भन्ने कुरा दुनियाँलाई थाहा छ। राजपाले त संविधानको पुनर्लेखन गर्नुपर्छ पनि भनेको थिएन। अर्थात्, संविधान पूर्णरुपमा मान्दै मान्दैनौं भनेर हामीले कहिल्यै भनेका थिएनौं। हामीले संविधानमा भएका जनताको अधिकारको विपक्ष हुने प्रावधानको विरोधमा बोलेका थियौं। जुन–जुन प्रावधान गलत छन्, त्यसको विरोध गरेका हौं। यही संविधानको कतिपय धाराहरु राम्रो पनि छ। कतिपय गलत छन्। ठीकलाई ठीक र गलतलाई गलत भनेका हौं। विभेदकारी प्रावधानको विरुद्धमा कार्यक्रम गरेका हौं।

सत्ताधारी संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षधर हुन् भने जनताको माग अनुसार संविधान संशोधन हुन्छ, ती उपलब्धीको पक्षधर होइनन् भने हुँदैन।

त्यसोभए सम्पूर्ण संविधानको होइन, संविधानको केही प्रावधानको विरोधमा मात्रै ‘ब्ल्याक आउट’ गर्नुभएको भनेर बुझ्ने?

हो। भन्ने बेलामा त संविधानको विरोध भनिन्छ, संविधानको फलानो–फलानो धाराको विरोधमा ‘ब्ल्याक आउट’ भनिँदैन। संविधानले पूर्णता पाएको छैन, किनकि यसमा विभेदकारी व्यवस्था अझै छन्। त्यस्ता व्यवस्था रहुन्जेल हामी विरोध पनि गरिरहन्छौं।

तपाईंहरु विगतदेखि नै संविधान संशोधन भनिरहनुभएको छ। विकसित घटनाक्रम हेर्दा अब संविधान संशोधन होला भन्ने लाग्छ?

नगरेर सुख छ? गर्नै पर्छ। संविधानलाई बाइबल, कुरान वा महाभारत बनायो भने त संविधान नै सकिन्छ। त्यसैले सत्ताधारी संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षधर हुन् भने जनताको माग अनुसार संविधान संशोधन हुन्छ, ती उपलब्धीको पक्षधर होइनन् भने हुँदैन।

संविधान जारी गर्नेबेला मुख्य दलहरुले ‘अहिले जारी नगरे कहिल्यै जारी गर्न सकिँदैन’ भनेका थिए। त्यस्तो परिस्थिति थियो?

त्यो झुट बोलेका हुन्। भ्रमको खेती गरेका थिए। हतार–हतारमा गलत काम गर्ने भन्ने पनि हुन्छ त? संविधानजस्तो कुरामा मजाक गरियो। त्यतिबेला जारी नभएको भए पछि किन जारी हुँदैनथ्यो? अझ राम्रो संविधान बन्थ्यो कि। रातारात संविधान जारी भएको संविधानको कारणले जनताले दुःख पाए। नाकाबन्दी भयो। देशले नोक्सान भोग्यो। फास्ट ट्र्याकको नाममा गलत बाटो अपनाइयो, गलत प्रावधान राखियो। त्यो देश र जनताको हितमा त थिएन नि। त्यसैले त्यतिबेला जे भनियो, त्यो गलत सोचाइ र बुझाइको प्रतिफल थियो।

सीमा नाकामा बस्नु भनेको नाकाबन्दी नै हो। हामी नाकामा बस्नुको मतलब सामानहरु नआउनु हो। त्यो बेला हजारौं जनताले सीमामा अवरोध गरेका थिए। जनताले नै नाकामा अवरोध गरेपछि नाकाबन्दी भइहाल्यो नि।

संविधानको विरोध गर्दै तपाईंहरुले आन्दोलन गर्नुभयो। सीमा नाकामा धर्ना पनि दिनुभयो। नाकाबन्दी पनि भयो। यसले गर्दा धेरै जनताले दुःख पाए। अहिले सोच्दा, त्यतिसम्म चाहिँ नगरेको भए पनि हुन्थ्यो जस्तो लाग्छ कि लाग्दैन?

विल्कुल लाग्दैन। हामी त बाध्यतावश सीमामा गएर बसेका थियौं। राज्यले जब आन्दोलनकारीलाई अन्धाधुन्ध गोली चलायो, त्यसपछि सीमामा गएर बसेका थियौं। हामीले त राज्यलाई दबाव दिन सीमा अवरोध गरेका थियौं। तर, हाम्रा विरोधीहरुले ‘खोकला’ राष्ट्रवादको नारा लगाइदिए। त्यस्ता राष्ट्रवादीलाई आफ्नो विरुद्धमा भएको भनेर प्रचार गरिदिए।

मधेसको आन्दोलन कोही जनताको विरोधमा, कुनै क्षेत्र, समुदाय वा देशको विरुद्धमा थिएन। तर, गलत प्रचार गरियो। मधेसी जनताले राज्यलाई दबाव दिन सीमा अवरुद्ध गरेका थिए। तर, राज्यलाई दबाव होइन, आन्दोलनकारीलाई नै दबाव पुग्ने परिस्थिति बन्यो। मधेसको विरुद्धमा काठमाडौंलाई भड्काइयो। मधेस आन्दोलनलाई गलत ढंगले बुझ्ने काम काठमाडौंले गर्‍यो। यसको इतिहासले सही मूल्यांकन गर्छ।

भारतको सहयोग समर्थन थियो। दुनियाँको सहयोग समर्थन थियो, हाम्रो आन्दोलनमा।

सीमाको धर्ना र नाकाबन्दीबीचको दूरी कति हो? अर्थात्, तपाईंहरुको धर्ना र नाकाबन्दी दुई फरक घटना हो कि एउटै हो?

सीमा नाकामा बस्नु भनेको नाकाबन्दी नै हो। हामी नाकामा बस्नुको मतलब सामानहरु नआउनु हो। त्यो नाकाबन्दी जस्तै हो। नाकाबन्दी नै हो। त्यो बेला हजारौं जनताले सीमामा अवरोध गरेका थिए। जनताले नै नाकामा अवरोध गरेपछि नाकाबन्दी भइहाल्यो नि।

तपाईंहरुले त अवरोध मात्रै गर्नुभयो। नाकाबन्दी चाहिँ भारतले लगायो भनिन्छ नि त?

यो त नालायकीपन हो। बेइमानी हो। घटिया स्तरको बेइमानी हो, राज्य पक्षको। यस्तो कुरा मधेस आन्दोलन र सवाललाई न्युनिकरण गर्न र दुनियाँलाई छल्न राज्य पक्षले गरेको प्रचार हो। नाकाबन्दी त हामीले गरेको हो। के भारतले सीमामा आएर डोजर चलाउनुपर्थ्यो? डोजर चलाएर नाकाबन्दी खोलिदिनुपर्थ्यो? नाकाबन्दी त मधेसीले गरेका थिए, उनीहरुलाई भारतीय जनता भन्न खोजिएको हो? नत्र कुन भारतीय आएर नाकामा अवरोध गरेको थियो र? यस्तै मानसिकताले मुलुक बिग्रेको हो।

भारतको सहयोग समर्थन थियो। दुनियाँको सहयोग समर्थन थियो, हाम्रो आन्दोलनमा। हामीले पनि दुनियाँसँग सहयोग समर्थन मागेका थियौं। ०४७ सालमा पञ्चायतको विरुद्धमा नेपालमा नाकाबन्दी गरिदेऊ भनेर आन्दोलनकारीले भनेका थिए। त्यतिबेलाको नाकाबन्दी राष्ट्रवादी थियो। मधेसीले गर्दाचाहिँ भारतीयले गर्‍यो भन्नु बेइमानी हो।

०७२ असोज ५ गतेबाट भारतले नाकाबन्दी सुरु गर्‍यो, तपाईंहरुले ७ गते मात्रै राजबिराजमा बैठक बसेर नाकाबन्दी गर्ने निर्णय गर्नुभयो। त्यस्तै, माघ २२ गतेदेखि सीमा खुला भयो, तपाईंहरुले २५ गते वक्तव्य निकालेर नाकाबन्दी खोल्ने भन्नुभयो। अनि तपाईंहरुमाथि शंका सुई घुम्नुलाई अत्युक्ति मान्न सकिएला र?

यो गलत कुरा हो। म त्यसमा ‘इन्भल्ब’ भएको र बिरगञ्ज नाकाको त नेतृत्व गरेको मान्छे हुँ। तर, सबै नाका बन्द भएन। नाकाबन्दी सफल भएन। त्यतिबेलै मैले भनेको थिएँ– कि सबै नाका बन्द गरौं कि सबै खोलौं। निर्णय अनुसार सबै नाका बन्द नगर्ने हो भने विरगञ्ज नाकामात्रै बन्द गरेर केही फाइदा छैन भनेर मैले नै भनेको हुँ। त्यो जनताको कुरा हो। त्यसैले जनताले नाका पनि खुला गरिदिए। पछि पार्टीको निर्धारित समयमा बैठक बस्यो र औपचारिकता दियो। मैले नै बोलेको कुरा भयो। मैले नै खोल्नुपर्छ भनेपछि नाका खुल्यो। यहाँ भारतको कुरा कहाँबाट आयो?

यहाँ त भारतलाई गाली गर्‍यो भने राष्ट्रवादी भइन्छ र मधेसलाई पनि ऊसँग जोड्यो भने गाली गर्न पाइन्छ भन्ने मानसिकता छ। त्यही ‘खोकला’ राष्ट्रवादले पो मुलुक बिग्रेको छ। यस्तो सोचले देश र जनतालाई राम्रो गर्दैन।

तपाईंले विरगञ्ज नाकाको जिम्मा लिनुभयो। ‘सफल’ पनि हुनुभयो। अन्य नाकाको जिम्मा लिनेहरुले खासै कडाइ गरेनन्। मोर्चाभित्रै नाकाबन्दी गर्ने विषयमा अन्तर्विरोध थियो कि? तपाईंहरुको निर्णयप्रति सबै प्रतिवद्ध नहुँदा त्यो संघर्ष असफल भयो भन्न मिल्छ?

यो कुरालाई इतिहासमै छाडिदियौं। इतिहासमा त्यस कुराको समीक्षा र मूल्यांकन हुँदै गर्छ। नाकाबन्दी सफल नहुनुको कारणमा जुन हिसाबले निर्णय गरियो, त्यही हिसाबले कार्यान्वयन नहुनु नै थियो। निर्णय अनुसार सबै नाका ठप्प पार्न सकिएन। राज्यलाई दबाव दिन सकिएन। त्यसैले पनि नाकाबन्दी फिर्ता लिनुपर्‍यो।

अघि तपाईंले संकेत गर्नुभयो– हामीले सबैसँग सहयोग र समर्थन मागेका थियौं। नाकाबन्दीको लागि पनि भारतसँग सल्लाह र सहयोग मागिएको थियो र?

थिएन। भारतसँग किन सल्लाह गर्नुपर्‍यो र? हाम्रो पार्टीमा सल्लाह गरेका थियौं। हामीले विरोधका सबै कार्यक्रमहरु गर्नुपर्छ भन्ने एकमत भएको थियो। हामीले विरोधका जुनसुकै कार्यक्रम गर्न सक्ने भनेका थियौं। त्यसैले पनि राजविराजको बैठकबाट सीमा अवरोध गर्ने भन्ने निर्णय गर्‍यौं। म त काठमाडौंमै हुँदा नै सीमा अवरोधसम्म गर्नुपर्छ भन्नेमा छलफल भइरहेको थियो।

तर, यहाँ त भारतलाई गाली गर्‍यो भने राष्ट्रवादी भइन्छ र मधेसलाई पनि ऊसँग जोड्यो भने गाली गर्न पाइन्छ भन्ने मानसिकता छ। त्यही ‘खोकला’ राष्ट्रवादले पो मुलुक बिग्रेको छ। यस्तो सोचले देश र जनतालाई राम्रो गर्दैन।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार