बन्द हुँदै टक्सारका धातु उद्योग

Nepal Live

भोजपुर– ऐतिहासिक टक्सार बजारमा रहेका धातु उद्योग दक्ष जनशक्ति र कच्चापदार्थको अभावका कारण संकटमा पर्दै गएको छ। 

पञ्चायतदेखि बहुदलीय व्यवस्था आउँदासमेत लाखौँ मूल्यको धातुको सामग्री उत्पादन हुँदै आएका भोजपुरको टक्सारका धातु उद्योग अहिले आवश्यक स्थानीय स्रोत र साधनको अभावका कारण र दक्ष जनशक्ति पलायन हुँदै गएपछि संकटमा पर्दै गएका हुन्।

देशकै पुरानो धातु उद्योगमध्येको यहाँको धातु उद्योग १५ वर्षअघिसम्म करिब एक सय भएकामा अहिले ६ वटा मात्रै छन्। 

धातु उद्योगले कच्चा पदार्थ कोइला (गोल), मैन र दक्ष जनशक्तिको अभाव झेलिरहेका छन्। राणाशासन, पञ्चायती शासनकालदेखि धातु उद्योगले प्रसिद्ध कमाएको टक्सारका उद्योग बन्दसँगै बजार क्षेत्रका मानिस पनि पलायन भएपछि टक्सार बजारसमेत सुनसान भएको छ।

अहिले रहेका धातु उद्योगले भोजपुरको मागलाई समेत पूरा गर्न सकेका छैनन्। 

४६ वर्षदेखि धातुको सामग्री बनाउँदै आएका टक्सारका ७५ वर्षीय ज्ञानबहादुर शाक्य आवश्यक स्रोत साधन नहुँदा र बजार नपाउँदा धातु उद्योग नचलेकाले गर्दा सबै धातु व्यवसाय नै छाडेर बाहिर गएको बताउँछन्।

आवश्यक कच्चा पदार्थको अभावले बाँकी उद्यमी पनि पलायन हुने अवस्था छ। धातु उद्योगलाई अहिले कोइला, मैन र दक्ष जनशक्तिको खाँचो रहेको व्यवसायीको भनाइ छ।

टक्सारको धातु उद्योग र यहाँको मौलिक पहिचानलाई जीवित गराउन पलायन भएका व्यवसायीलाई स्थानीयस्तरबाट पुनःअभिप्रेरित गराउनुपर्ने तथा मौलिक कला र उद्योगको संरक्षणका लागि आवश्यक साधनस्रोत उपलब्ध गराउन जरुरी रहेको विमलकुमार शाक्य ले बताए।

खानी स्थापनासँगै धातुका सामग्री डाडुपन्यू, कसौँडी, अम्खोरा, करुवा, कन्ती, बटुका, थाल, डबका, तामा एवम् पित्तलका गाग्री, खँड्कुला, तसला आदि बनाइन्थ्यो।

धातु उद्योग सञ्चालनका लागि कोइला, मैन र धातुको अभाव खड्किएपछि धातुको सामान उत्पादनमा ९० प्रतिशतभन्दा बढी ह्रास आएको व्यवसायीको भनाइ छ। रासस

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार