काठमाडौं– उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले काठमाडौं–निजगढ ‘फास्ट ट्रयाक’को निरीक्षण गरेका छन्। मंगलबार मन्त्री पोखरेलले लेनडाँडास्थित फास्ट ट्रयाकको निरीक्षण गरेका हुन्। सो क्रममा उनले आयोजना अन्तर्गत पर्ने सुरुङ मार्गको हवाई र वेसक्याम्पको स्थलगत निरीक्षण गरेका नेपाली सेनाले जनाएको छ।
निरीक्षणमा उनीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, प्रधानसेनापति पूर्णचन्द्र थापा, रक्षा सचिव विष्णु प्रसाद लम्साल, भौतिक पूर्वाधार तथा यातायात सचिव मधुसुदन अधिकारी, सेनाका रथीहरुलगायतको सहभागिता थियो।
निरीक्षणका क्रममा ‘फास्ट ट्रयाक’ निर्माण कार्यदलका आयोजना प्रमुख प्राविधिक उपरथी श्री योगेन्द्र बहादुर खाँडले आयोजनाको हालसम्मको प्रगति विवरण प्रस्तुत गरेका थिए। ‘फास्ट ट्रयाक’मा सेनाले उल्लेख्य काम गरेको बताएको छ।
निरीक्षणपछि रक्षामन्त्रीसहितको टोली आजै काठमाडौं फर्किएको छ।
‘फास्ट ट्रयाक’ अवलाेकनका क्रममा देखिएकाे तस्बिर। तस्बिर : नेपाली सेना
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।