काठमाडौं- मलेसियामा विषाक्त रक्सी सेवन गर्दा चार नेपालीसहित सात जनाको मृत्यु भएको छ। मृत्यु हुने चार नेपालीमध्ये दुई जनाकाे नाम पुष्टि भएकाे छ।
मलेसियाको राजधानी क्वालालम्पुर नजिकै सेलेङ्गाेर सहरमा बस्दै अाएका सञ्जय उराव र विशाल बुढाथोकीकाे मृत्यु भएकाे मलेसियास्थित नेपाली दूतावासले जानकारी दिएकाे छ। अन्य दुई जना नेपाली आधिकारिक विवरण लिने प्रयास जारी रहेकाे कार्यवाहक राजदूत कुमारराज खरेलले जानकारी दिएका छन्।
मृत्यु हुनेमा एक जना भारतीय, एक बंगलादेशी र एक मलेसियाली नागरिक रहेका छन्।
विषाक्त रक्सी सेवनका कारण १६ जना बिरामी परेका छन्। तीमध्ये १३ जना नेपाली कामदार रहेका दूतावासले बताएकाे छ। उनीहरुकाे मलेसियाका तीन वटा सरकारी अस्पतालमा उपचार भइरहकाे छ। बिरामीकाे अवस्था सामान्य रहेकाे अस्पतालले दूतावासलाई जानकारी गराएकाे खरेलकाे भनाइ छ।
मृतकको पोस्टमार्टम रिपोर्ट आइनसकेको र घटनाबारे थप जानकारी लिइरहेकाे दूतावासले उल्लेख गरेकाे छ।
नेपाली कामदारको मृत्युका विषयमा मलेसियास्थित नेपाली दूतवासले जानकारी लिइरहेकाे बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।