भैरहवा– रुपन्देहीको भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)मा रहेका भू–बहाल शुल्क नबुझाउने उद्योगहरुको अनुमति पत्र खारेज गर्ने तयारी थालिएको छ।
विशेष आर्थिक क्षेत्र प्राधिकरणले एक हप्ताको अल्टिमेटम सहितको सूचना जारी गर्दै उक्त समयावधि भित्र भू–बहाल शुल्क नबुझाए सञ्चालनको अनुमति लिएका उद्योगहरुको अनुमति पत्र खारेज गरिने चेतावनी दिएको हो।
सेजमा उद्योग सञ्चालनका लागि २४ वटा उद्योगहरुले अनुमति लिएका थिए। जसमध्ये १८ वटा उद्योगले सञ्चालनका लागि सम्झौता गर्दै भु–बहाल शुल्क बुझाएका छन् भने अन्य ६ वटाले बुझाएका छैनन्। त्यस्ता उद्योगहरुलाई एक साता भित्र भू–बहाल शुल्क बुझाएर सञ्चालनको सम्झौता गर्न पनि आग्रह गरिएको प्राधिकरणका कार्यकारी निर्देशक चन्डीका प्रसाद भट्टले जानकारी दिए। उनले भू–बहाल शुल्क बुझाउन २ दिन समय रहेको र उक्त समयावधि भित्र शुल्क नबुझाए ती उद्योगहरुको अनुमति खारेज गरिने स्पष्ट पारे।
‘७ दिनको म्याद दिएर सूचना जारी गरेका थियौँ, अब २ दिन मात्र बाँकी छ’, उनले भने, ‘यदि यो २ दिन भित्र पनि उद्योगहरु सम्झौता गर्न नआए उनीहरुको अनुमति खारेज गर्नेछौँ।’ उनले सम्झौता नगर्ने उद्योगहरुको अनुमति पत्र खारेज गरेर नयाँ आवेदन माग गरिने पनि जानकारी दिए।
भू–बहाल शुल्क नबुझाउनेहरुमा किरण सुज म्यानुफ्याक्चर्स, एसियन थाई फुड्स प्रालि, एक्सेल गार्मेन्ट प्रोसेसिङ इन्डस्ट्रिज प्रालि, श्याम कुमार लोनिया एन्ड वरुण लोनिया उद्योग, जगदम्बा सिन्थेटिक प्रालि र मिनरल वाटर इन्डस्ट्रिज गरी ६ वटा उद्योगहरु रहेका छन्। यी उद्योगहरुको सेजमा २ अर्ब रुपैयाँको लगानी हुने भनिएको थियो। सेजको २५ वटा प्लटमा यी उद्योगहरुले उद्योग स्थापनाका लागि सम्झौता गरेका थिए।
यीमध्ये सेजमा सबैभन्दा धेरै लगानीमा किरण सूजको उद्योग स्थापना हुने तयारी थियो। ‘हामीले उद्योग स्थापनाका लागि भू–बहाल शुल्क बुझाउन उद्योगीहरुलाई पटक–पटक सम्पर्क गर्ने प्रयास गर्यौँ तर उनीहरु हाम्रो सम्पर्क आएनन्।’, प्राधिकरणका प्रवक्ता सुन्दर थापाले भने, ‘अब उनीहरुको अनुमति पत्र खारेज गरेर नयाँ आवेदन माग गर्नु बाहेक अन्य विकल्प छैन।’
बाँकी भु–बहाल शुल्क बुझाएका १८ वटा उद्योगहरुले सेजमा उद्योग स्थापनाको तयारी गरिरहेका छन् भने एउटा शक्ति मिनरल्स उद्योगले निर्माण कार्य जारी राखेको छ। उनका अनुसार उद्योग स्थापनाको तयारी थालिएका १८ वटा उद्योगबाट सेजमा कुल ८ अर्ब लगानी हुने भएको छ। सेज पूर्णरुपमा सञ्चालनमा आउँदा झन्डै ५ हजार जनाले रोजगारी पाउने छन् भने १० अर्ब बढीको लगानी हुने प्राधिकरणका कार्यकारी निर्देशक भट्टको दाबी छ।
उनले अवको ३ महिनाभित्र शक्ति मिनरल्स उद्योग सञ्चालनमा आउने बताए। आगमी दुई वर्षभित्र सेज भित्रका सम्पूर्ण उद्योग सञ्चालनमा आउने बताउँदै कार्यकारी निर्देशक भट्टले सम्झौता गरेका उद्योगहरुले पूर्वाधार निर्माणको ‘डिजाइन’ गर्न सुरु गरेको बताए। सेजमा उद्योगको पूर्वाधार निर्माणका लागि आवश्यक विद्युतको समेत प्रबन्ध मिलाइएकाले पूर्वाधार निर्माणमा ढिलाई नहुने उनले प्रष्ट पारे।
उनले सेजमा पूर्वाधार निर्माणको लागि एक मेगावट विद्युत आवश्यक रहेपनि हाल ६ मेगावाट विद्युत उपलब्ध रहेको जानकारी दिए। पूर्वाधार निर्माण अवधि भित्र उद्योग सञ्चालनको लागि आवश्यक विद्युतसमेत उपलब्ध हुने विशेष आर्थिक क्षेत्र प्राधिकरणले जनाएको छ।
रुपन्देहीको रोहिणी गाउँपालिकाको बगाहामा ५२ बिघा क्षेत्रफलमा फैलिएको सेजमा १४ सय देखि ३७ सय वर्गमिटर सम्मका ६९ वटा प्लटहरु रहेका छन्।
के हो विशेष आर्थिक क्षेत्र?
विशेष आर्थिक क्षेत्र नेपाल सरकारले देशमा भएका रुग्ण तथा नेपाली बजारमा उत्पादन भएर पनि विदेशमा माग बढी भएका समानहरु उत्पादन गर्ने उद्योगहरुलाई प्रोत्साहन गर्नको लागि ल्याएको नीति हो।
यो क्षेत्रमा स्थापना हुने उद्योगहरुको लागि प्रारम्भिक आधारभुत विकास निर्माणको काम नेपाल सरकारले नै गर्छ। यो क्षेत्रमा स्थापना भएका जुनसुकै उद्योगहरुले आफ्नो उत्पादनको ७५ प्रतिशत सामान विदेश निर्यात गर्नु पर्छ।
कस्ता उद्योग रहन्छन्?
विशेष आर्थिक क्षेत्रमा मूलतः वातावरणलाई असर नगर्ने खालका उद्योगहरु सञ्चालनमा आउनेछन्।
सेजमा विशेष गरी खाद्य उद्योग तथा कृषिजन्य उद्योग, हर्वल प्रोडक्ट, छालाका वस्तु, तयारी पोसाक, गलैचा तथा ऊनबाट उत्पादन हुने सामान, पस्मिना तथा रेसमबाट तयार वस्तु गरी १७ किसिमका उद्योगहरु सेजमा रहने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।