काठमाडौं– रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर तिहारअघि नै बन्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बताएको छ।
संघीय संसद, प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा प्राधिकरणले आगामी असोज मसान्तसम्ममा रानीपोखरीको मन्दिर बनाउन सकिने जवाफ दिएको हो।
‘हाल पुरातत्व विभागले रानीपोखरीस्थित मन्दिर बनाउन लगाएको छ भने आगामी तिहारअगाडि मन्दिर बन्ने सम्भावना देखिएको छ,’ प्राधिकरणले समितिमा दिएको जवाफमा उल्लेख छ। मन्दिर बाहेकका बाहिरी संरचनाको निर्माण कार्य भने सुरु नभएको प्राधिकरणले जनाएको छ।
समितिले भने तिहारमा मन्दिर दर्शन र टिका लगाउने वातावरण बनाउन प्राधिकरणलाई निर्देशन दिएको छ।
रानीपोखरी पुनर्निर्माण सम्बन्धी गठित समितिले रानीपोखरी पुनर्निर्माण गर्दा आधुनिकीकरण गर्न नहुने, मौलिक संरचना हुबहु हुनुपर्ने, परम्परागत निर्माण सामग्री प्रयोग गर्नुपर्ने लगायतका सुझाव दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।