निर्मला हत्या प्रकरण : सिआइबीका पूर्वप्रमुखको प्रश्न– अब कसले गर्छ अनुसन्धान?

'क्राइम सिन'मै समस्या

Nepal Live

काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ५५ दिन पुगेको छ। साउन १० गते घरबाट हराएकी उनको शव भोलिपल्ट बिहान उखुबारीमा भेटिएको थियो। उनको बलात्कारपछि हत्या भएको पुष्टि भइसकेको छ। 

तर घटना भएको २ महिना पुग्न लाग्दासमेत हत्यारा पत्ता लाग्न सकेको छैन। घटनाको अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) बाट डिएसपी अंगुर जिसीसहितको टोली कञ्चनपुर पुगेको थियो। डिएसपी जिसी र कञ्चनपुर प्रहरीले हत्याको आरोपमा स्थानीय दिलिप विष्टलाई पक्राउ गरेको थियो। पछि डिएनए परीक्षणबाट निर्दोष साबित भएपछि उनी रिहा भए। उनीसँगै पक्राउ परेका रोशनी बम र बबिता बम (दिदीबहिनी) पनि रिहा भए। 

घटनाको छानबिन गर्न गृह मन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा एउटा टोली गठन गरेको थियो। टोलीले मन्त्रालयमा प्रारम्भिक प्रतिवेदनसमेत पेस गरिसकेको बताइएको छ। उक्त प्रतिवेदनपछि कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट, सिआइबीका डिएसपी अंगुर जिसीसहित ५ जना प्रहरीलाई निलम्बन गरेर उनीहरुमाथि अनुसन्धान भइरहेको छ।

अहिले पुन: अपराध अनुसन्धान विभागका डिआइजी धीरु बस्न्यातको नेतृत्वमा ९ सदस्यीय अनुसन्धान टोली गठन गरिएको छ। टोलीले अनुसन्धान गरिरहेको छ। 

अपराधी पत्ता लगाउने अहिले एउटा मात्रै बाटो खुल्ला छ– पन्तको भेजाइनल स्वाब (योनीभित्रको तरल वस्तु) । शंका गरिएका व्यक्तिको डिएनए परीक्षण गरेर स्वाबसँग मिले मात्रै अपराध पुष्टि हुन्छ। 

अपराधको अनुसन्धान घटनास्थलबाट सुरु हुन्छ। तर पन्त हत्या घटनाका अरु सबै प्रमाण नष्ट भएका छन्। घटनास्थलको प्रमाण नष्ट हुँदा अनुसन्धान जटिल बनेको छ। 

प्रहरी घटनास्थल पुग्दा ९० प्रतिशत प्रमाण नष्ट भइसकेका हुन्छन्। बाँकी १० प्रतिशत प्रमाणबाट प्रहरीले अनुसन्धान गर्नुपर्ने हुन्छ। ती १० प्रतिशत प्रमाण पनि नष्ट गरिएकाले अपराधी पत्ता लगाउन समस्या भएको एक पूर्व अधिकारीले बताए। 

'क्राइम सिन'मै समस्या
अपराध अनुसन्धानमा घटनास्थलको सबुत पहिलो प्रमाण हुने भए पनि अनुसन्धानमा विशेषज्ञता भएका प्रहरी घटनास्थल नपुग्ने भएकाले अपराधी पत्ता नलाग्ने गरेको नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्ल बताउँछन्।

‘क्राइम सिन अपराध अनुसन्धानको पहिलो प्रमाण हो। घटनास्थलको सबुत कसरी जुटाइन्छ र त्यसको अवस्थाको विश्लेषण कसरी गरिन्छ? यसको असर अनुसन्धानको अन्तिम बिन्दुसम्म देखापर्छ,’ उनी भन्छन्। 

निर्मला पन्तको केसमा जानेर वा नजानेर प्रमाण नष्ट भएको अनुसन्धानमा विज्ञ मानिने सिआइबीका पूर्वप्रमुख समेत रहेका मल्लले बताए। 

अपराध अनुसन्धानको पहिलो सिँढी हो 'सिन अफ क्राइम इन्भेस्टिकेसन अफिसर' (सोको टिम)। यसमा घटनास्थललाई सुरक्षित राखेर सोको टिमले रगत, कपडा, हतियार, चप्पल लगायतका सबुत प्रमाण जुटाउने काम गर्छ। 

सिन अफ क्राइम संकलनमै कमजोरी भयो भने वर्षौंसम्म पनि अपराधी पत्ता लाग्न सक्दैन। उक्त टिमसँग भएको सोको किटमार्फत यस्ता प्रमाण संकलन गरी ल्याब टेस्टका लागि पठाइन्छ। तर निर्मलाको केसमा त्यो लागू भएको देखिन्न। 

घटनास्थललाई सुरक्षित राख्न विकसित मुलकमा 'क्राइम सिन प्रोटेक्सन' विधि हुने विज्ञहरु बताउँछन्। यसमा घटनास्थलमा एउटा टेन्ट खडा गरिन्छ। र चारैतिरबाट घटनास्थललाई घेरेर सुरक्षित बनाइन्छ। यही टेन्टभित्रबाट प्रविधिमार्फत घटनाको सबुत प्रमाण जुटाइन्छ। 'प्रहरीलाई अनुसन्धान गर् मात्रै भन्ने तर यस्ता प्रविधिमा ध्यान नदिँदाको परिणाम अहिले देखिएको' एक पूर्वप्रहरी अधिकारीले बताए।

विकसित मुलुकमा भने 'क्राइम सिन भ्यान' हुन्छ। यसमा सोको किट टिम र क्राइम सिन प्रोटेक्सनको टोली हुन्छ। यो टिमले घटनास्थलका सबुत प्रमाणलाई सुरक्षितसँग ल्याब टेस्टमा पठाउँछ। तर नेपालमा यस्तो आधारभूत प्रयास पनि भएको पाइँदैन। नेपाल प्रहरीसँग सोको किट टिम देशभर भए पनि क्राइम सिन प्रोटेक्सन र क्राइम सिन भ्यान छैन। जसका कारण सोको किट टिमले राम्रोसँग काम गर्न नसक्दा अपराधी पत्ता नलागेको प्रहरी अधिकारीले बताउने गरेका छन्। अपराध अनुसन्धानको मेरुदण्ड मानिने क्राइम सिनमै त्रुटि भएपछि अपराधी पत्ता लाग्न समस्या हुन्छ।

दबाबले अनुसन्धान हुँदैन, स्वतन्त्र छोड्नुपर्छ
प्रहरी घटनास्थल पुग्नुअगावै धेरै प्रमाण नष्ट भइसकेकाले सानो प्रमाणलाई आधार बनाएर प्रहरीले अनुसन्धान गर्नुपर्ने हुन्छ। अनुसन्धान जस्तो जटिल काममा दबाब दिनु हुँदैन, स्वतन्त्र रुपमा छोड्नुपर्न भन्ने मान्यता छ। तर निर्मलाको केसमा त्यो लागू नभएको अनुसन्धानमै खटिएका प्रहरी अधिकारीले बताउँछन्।

‘जतिसक्दो छिटो अपराधी पक्राउ गर् भनेर दबाब मात्रै दिएपछि अनुसन्धानमा त्रुटि भएको हुन पनि सक्छ,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने।

पूर्वडिआइजी मल्ल भने जतिसक्दो छिटो अपराधी पक्राउ गर् भनेर टोलीलाई  स्थानीय बासिन्दा, मातहतको प्रहरी निकाय, आइजिपी, गृहमन्त्री, प्रधानमन्त्री लगायतबाट आउने दबाबका कारण वास्तविक अपराधी पक्राउ गर्न ढिलाइ भएको हुन सक्ने बताउँछन्।

दबाब दिएर अनुसन्धान गर्न लगाउने र उल्टै अनुसन्धान गर्ने प्रहरी अधिकारीलाई निलम्बन गरेपछि अब कसले अनुसन्धान गर्ने भन्ने गम्भीर प्रश्न उठेको मल्ल बताउँछन्। ‘मैले निर्मलाको केसमा मात्रै भनेको होइन। अनुसन्धान गर्नेलाई नै कारबाही हुन थालेपछि यसपछिका अपराध अनुसन्धान गर्न को प्रहरी अगाडि सर्छ?’ उनले प्रश्न गरे। अनुसन्धानमा सानो विज्ञ टिम बनाएर दबाब नदिई काम गर्न दिने हो भने निर्मलाका हत्यारा चाँडै पत्ता लाग्ने मल्लले सुझाव दिए।

प्राप्त प्रतिकृयाहरू

Dipendra kanu
Other ways to find out about the rapist and murderer are almost hopeless. The only way is DNA test report of the suspects done by an authentic body. How long will it take to bring out the results of DNA?? There must not be delay in approaching the suspects involved in this case.

Shekhar Rijal
DNA मा पनि संका छ अब गृहमन्त्री माथिनै छानबिन हुनुपर्छ ।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार