मेलम्ची - सिन्धुपाल्चोकका विभिन्न नदीमा अवैधरुपमा गिट्टी, बालुवा निकाल्नेबाट जरिवानास्वरुप दुई महिनामा रु ३८ लाख ५२ हजार ५० असुल गरिएको छ।
असारदेखि भदौ महिनासम्म नदीबाट गिट्टी बालुवा निकाल्न नपाइने नियम छ। तर पनि लुकिछिपी अवैध काम गर्नेलाई प्रहरीको सहायतामा पक्राउ गरी कारबाहीको दायरामा ल्याइएको हाे।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार अहिलेसम्म ३६ टिपर, १८ मिनिट्रक, १३ स्काभेटर, दुई डोजर, १२ ट्याक्टर, एक जेसिभी नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।त्यसैगरी, एक ट्याक्टर, दुई स्काभेटर र दुई मिनि टिपर कारबाहीको क्रममा रहेको पनि प्रहरीले जानकारी दिएको छ। प्रहरी नै तस्करसँग मिलेको आरोप लाग्न थालेपछि केही प्रहरीमाथि विभागीय अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी वरिष्ठ उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिए। उनले आरोप पुष्टि भए कडा कारबाही गरिने साथै तस्करलाई सजिलै उन्मुक्ति नदिने पनि बताए।
जिल्ला समन्वय समितिको खातामा जरिवानास्वरुप उठाएको रकम जम्मा भएपनि खाता भने बन्द छ। प्रदेश सरकारले खाता सञ्चालनको लागि नयाँ कार्यविधि नबनाएकाले सो रकम सञ्चालन गर्न नसकिएको जिल्ला समन्वय समितिका संयोजक कृष्णगोपाल तामाङले बताए।
बर्खाका तीन महिना नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने नियम भएपनि जिल्लाका सानाठूला सबैजसो नदीमा तस्करले गिट्टी, बालुवा निकाल्ने गरेका छन्। उनीहरुले नदीको धार नै परिवर्तन हुने गरी जथाभावी नदीजन्य पदार्थ निकाल्ने गरेका छन्। यसले नदी आसपासका बस्ती, विद्यालय, पुलसमेत जोखिममा परेका छन्। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।