काठमाडौं- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपीडितलाई प्रदान गर्ने अनुदानको समयतालिका सार्वजनिक गरेको छ। उक्त समयतालिका अनुसार २०७६ जेठभित्र सबै भूकम्पपीडितले अनुदानका सबै किस्ता पाउनेछन्।
पहिलो किस्तासमेत नपाएका लाभग्राहीलाई आगामी कात्तिकभित्र रकम प्रदान गरिने प्राधिकरणले जनाएको छ। पहिलो किस्ताबापत लाभग्राहीले ५० हजार रुपैयाँ पाउँछन्।
त्यस्तै, गत असार मसान्तसम्म प्रथम किस्ता प्राप्त गर्ने निजी लाभग्राहीलाई आगामी पुस मसान्तसम्म दोस्रो किस्ताबापतको रकम प्रदान गरिसक्ने योजना प्राधिकरणको छ। सरकारले दोस्रो किस्ताबापत भूकम्पपीडितलाई एक लाख रुपैयाँ दिन्छ।
उक्त समयतालिका अनुसार पुस मसान्तभित्र दोस्रो किस्ता प्राप्त गर्ने लाभग्राहीले आगामी बैसाख मसान्तसम्म तेस्रो किस्ता प्राप्त गर्नेछन्।
यसैगरी पहिलो किस्तासमेत लिन बाँकी लाभग्राहीको हकमा आगामी माघ मसान्तसम्म दोस्रो किस्ता प्रदान गरिने प्राधिकरणले जनाएको छ। माघ मसान्तसम्म दोस्रो किस्ता प्राप्त गरेका ती लाभग्राहीले आगामी जेठ मसान्तभित्र तेस्रो किस्ता प्राप्त गर्नेछन्।
गुनासो सुनुवाइबाट आएका, पुनर्सर्वेक्षणबाट छनोट भएका, जोखिमयुक्त वर्ग, परम्परागत बस्ती एवं बस्ती स्थानान्तरणबाट आउने लाभग्राहीका हकमा भने कार्यकारी समितिले अनुदान किस्ताको समयावधि निर्धारण गर्ने प्राधिकरणले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।