काठमाडौं- लौहपुरुषको उपमा पाएका २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको स्मृति दिवस आज मनाइँदै छ।
स्व सिंहको २१औँ स्मृति दिवसका अवसरमा आज बिहान गणेशमान सिंह फाउन्डेसनले शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा स्व सिंहको शालिकमा माल्यार्पण गरिएको छ। कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्व सिंहको महत्वपूर्ण भूमिका रहेको चर्चा गरे। 'स्व सिंह सङ्घर्षशील, त्यागी र प्रजातान्त्रिक आन्दोलनलाई सहज ढङ्गले नेतृत्व गर्ने नेता हुनुहुन्थ्यो,' उनले भने।
नेता सिंहले मुलुकमा अलगअलग धारमा विभाजित कम्युनिस्टलाई एक ठाउँमा ल्याउन स्व सिंहले महत्वपूर्ण भूमिका खेलेको बताए। 'एकदलीय शासन व्यवस्थामा विश्वास गर्ने कम्युनिस्टलाई बहुदलीय प्रजातन्त्रमा ल्याउन त्यतिवेला स्व सिंहको महत्वपूर्ण योगदान छ,' उनले भने, 'काङ्ग्रेस स्व सिंहकै विचारलाई अनुसरण गरेर अगाडि बढिरहेको छ।'
कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशी, सुरेन्द्र पाण्डे, बद्री पाण्डे, काठमाडौँ पार्टी सभापति सबुज बानियाँ, भ्रातृ संस्थाका अध्यक्ष एवं पदाधिकारीको उपस्थिति रहेको थियो।
विसं १९७२ कात्तिक २४ गते जन्मिएका सिंहको २०५४ असोज २ गते निधन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।