धनगढी–
पहिलो घटना– गत फागुन १० गते कैलालीको मोहन्याल गाउँपालिका कुइनेका अन्दाजी २६ वर्षीय रमेश बटालाले एक युवतीमाथि बलात्कार गरेको आरोप लाग्यो। बलात्कारको सो घटना बाहिर ल्याउन नदिन प्रहरीले नै मिलापत्र गराउने प्रयास गर्यो।
दोस्रो घटना– कैलालीकै लम्की चुहा नगरपालिका–२ मा बस्ने एक दृष्टिविहीन महिलालाई दीपक थापा मगरले जबरजस्ती करणी गरेको आरोप लाग्यो। मगरलाई कारबाही गर्न आफन्तले उजुरी दिए पनि उनी हालसम्म पक्राउ पर्न सकेका छैनन्। प्रहरीले अहिले वास्तविक अपराधी पक्राउ गर्न छोडी घटनाका साक्षीलाई सोधपुछ गरिरहेको स्थानीयको आरोप छ।
माथिका दुई घटना केही उदाहरण मात्रै हुन्।
समाजमा भइरहेका यस्ता कतिपय जघन्य घटनाहरुमा प्रहरीकै लापरबाहीले दोषी उम्कने गरेको पाइन्छ भने अझै धेरै घटना मिलापत्रमै टुङ्ग्याउने गरिएको छ। प्रहरी प्रशासनले दोषीलाई कारबाहीको दायरामा ल्याउनुको साटो उम्काउने खेल खेल्दा न्याय र न्याय दिलाउने प्रशासनमाथिको जनविश्वास गुम्दै जाने तथा समाजमा आपराधिक मानसिकता मौलाउने सम्भावना रहन्छ। कतिपय पीडितहरुलाई समाजमा रहनसक्ने अवस्था नभएर विस्तापित हुनुपर्ने तथा कतिपयले भने आत्महत्याको बाटोसमेत अंगाल्ने गरेको प्रशस्तै उदाहरण हामीमाझ छन्।
यस्तै अवस्थाको सिकार भएकी हुन् मोहन्यालमा बटालाले बलात्कार गरिएको भनिएकी युवती।
समाजमा अपहेलना सहन नसकेपछि उनी हाल गाउँघर छोडेर चितवनको नारायणघाटमा विस्थापित हुनुपरेको छ। भने उनका बुवा जीतेन्द्र माझीले गत साउन २ गते आत्महत्या गरे। प्रहरीले दोषीलाई कारबाही नगरेको भन्दै उनले आत्महत्या गरेको आफन्त बताउँछन्। एक आफन्त भन्छन्, ‘प्रहरीले दोषीलाई कारबाहीको दायरामा नल्याउँदा यस्तो अवस्था आएको हो। पीडित परिवारलाई झन् पीडा थपिएको हो।’
यस्ता घटनालाई प्रशासन तथा समाजले संवेदनशील ढंगले लिनुपर्ने बताउँछन् कैलालीका प्रदेशसभा सांसद रतनबहादुर थापा। ‘छोरीको बलात्कार गर्नेलाई कारबाही नभएपछि बुबाले आत्महत्या गरेको बताइन्छ। सोपश्चात् बलात्कार घटनालाई पनि दबाइएको कुरा बाहिर आएको छ,' सांसद थापाले भने, ‘पछि आरोपी बटाला पनि पीडित युवती बस्दै आएको नारायणघाट पुगेको र त्यहाँ पनि थप सास्ती दिएका थिए।’
चितवन गएर बटाला युवती बस्दै आएको घर नजिकैको एक होटलमा १५ दिनसम्म बसेको प्रहरी बताउँछ। तर, त्यहाँ पनि शंकास्पद व्यवहार देखाएपछि होटल सञ्चालकले चितवन प्रहरीलाई खबर गरी उनलाई पक्राउ गरिएको थियो। हाल उनी जिल्ला प्रहरी कार्यालय चितवनको थुनामा छन्।
त्यस्तै, लम्कीकी दृष्टिविहीन महिलालाई बलात्कार गरेको आरोप लागेका मगरलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन। प्रहरीले उल्टै पीडितका श्रीमान् तथा छरछिमेकका मानिसलाइ पटकपटक सोधपुछ गरिरहेको पीडित जयकान्त चौधरी (नाम परिवर्तन) ले बताए। उनले भने, ‘प्रहरीले सुरुमा हाम्रो उजुरी नै लिन मानेन। विभिन्न व्यक्तिको दबावमा पछि प्रहरीले उजुरी त लियो तर, दोषीलाई पक्राउ गर्न सकेको छैन।’ उनले पीडक मगरको साइकल अझै आफ्नो घरमा रहेको बताए।
इलाका प्रहरी कार्यालय लम्कीका इन्स्पेक्टर सुरेन्द्रप्रसाद जोशीले अभियुक्त बटालालाई पक्राउ गरी मुद्दा चलाइसकिएको र मगरको खोजी कार्य जारी रहेको जानकारी दिए। ‘मगरको आफन्तमा भाइ मात्र भएकोले घटना भएदेखि उनी घरतिर आएका छैनन्,' उनले भने, ‘खोजीका लागि कञ्चनपुर प्रहरी कार्यालयमा हुलियासहित पत्राचार गरिसकेका छौं।’
घटनाका दोषीहरुलाई प्रहरीबाटै उम्काउने प्रयास भएको स्थानीयको आरोप छ नि भन्ने जिज्ञासामा जोशीले भने, ‘यस्ता जघन्य घटनामा प्रहरीले दोषीलाई उम्काउने काम गर्दैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।