काठमाडौं- विराटनगरस्थित नोबेल मेडिकल कलेजमा अध्ययनरत सौरभ उप्रेतीको हत्या गरिएको आफन्तले दाबी गरेका छन्। रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले प्रहरीले अपराधीलाई उन्मुक्ति दिएको र प्रमाण नष्ट गरेको दाबी गरेका हुन्।
मृतकका बुबा अर्जुन उप्रेतीले प्रेस विज्ञप्ती वाचन गर्दै छोराको हत्यामा संलग्न अपराधीलाई कानुन अनुसार कारबाही गर्न सरकार असफल भएको आरोप लगाए। मृतक उप्रेतीकी आमा गोपिनी सापकोटाले बुढेसकालको एकमात्र छोराका हत्यारालाई सरकारले कारबाही नगरेको भन्दै आपत्ति प्रकट गरेकी छिन्। उनले प्रहरीले किटानी जाहेरी दिँदा पनि उजुरी दर्ता गर्न नमानेको बताइन्।
साउन १५ गते राति सौरभको हत्या गरिएको आरोप लगाउँदै उनका मामाका छोरा श्याम सापकोटाले शक्तिशाली अनुसन्धान आयोग गठन गर्न सरकारसँग माग गरे। 'मोरङ एसपी मनोज केसीसहितको टोलीले यस घट्नालाई गम्भीर लिएको पाईँदैन, ४८ दिनसम्म पनि हामीले न्याय नपाउने र दोषी खुलेआम हिँड्ने हो भने यस देशमा कसरी न्याय सम्प्रभुताको अनुभव गर्ने?’ उनले प्रश्न गरे।
घटनास्थानमा भेटिएका छुरा र काँडे लठ्ठी समेत प्रहरीले बरामद नगरेको भन्दै मृतकका आफन्तले न्यायका लागि संघर्ष सुरु गर्ने चेतावनीसमेत दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।