कैलाली– प्रदेश ७ सत्तापक्षकै सांसद रतनबहादुर थापाले कैलाली र कञ्चनपुरमा बढ्दै गएको हत्या, बलात्कार जस्ता घटना न्यूनीकरण र दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रदेशको गृह मन्त्रालयले कुनै भूमिका नखेलेको आरोप लगाएका छन्। उनले भने, ‘अपराध र बलात्कारका घटना बढ्दै गएको छ। यस्तो अवस्थामा गृह मन्त्रालय किन र के का लागि चाहियो?’
सोमबार बसेको प्रदेशसभाका बैठकको शून्य समयमा सरकार गठन भएयता आफ्नो निर्वाचन क्षेत्रमा घटेका जघन्य अपराधको उदाहरण दिंदै सांसद थापाले भने, ‘यो सरकारले जनताको शान्ति सुरक्षा भएको अनुभुति गराउ“छ भनेर चुप बसेको थिएँ। तर, झन जघन्य अपराधहरु बढ्दै गएको छ। अपराध न्यूनिकरण गर्न दोषीलाई कानुनी दायरामा ल्याउनुपर्छ तर, यहाँ त प्रहरी प्रशासनमै कमोजोरी देखियो।’ उनले प्रहरीनै अपराधी उम्काउने खेलमा लागेको आरोपसमेत लगाए।
उनले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तकोे हत्या प्रकरणदेखि विभिन्न घटनामा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पर्याप्त कदम चाल्न नसकेको दाबी गरे।
उनले भने, ‘यो प्रहरी हेर्ने मन्त्रालय किन राख्ने, यसले केही पनि काम गरेको मैले देखिन।’ प्रदेश गृह मन्त्रालयको काम नभएकाले हटाएर ६ वटा मन्त्रालय मात्र राख्न उनले सुझाव दिए।
उनले बालिकालाई बलात्कार गरेर मार्ने घटना बढ्दै जानुमा कुनै गिरोह त सक्रिय छैन भन्नेतर्फ समेत सरकारलाई सचेत गराए।
त्यस्तै नेपाली कांग्रेसका सांसद गोविन्दराज बोहराले सरकारले निर्मला पन्तको हत्यारा अहिलेसम्म पत्ता लगाउन नसकेकोमा विरोध गरे। ‘निर्मलाको हत्यामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन गृह मन्त्रालयले के गरेको छ? अहिलेसम्म मन्त्रालयले कुनै कदम नै चालेको देखिएन’, उनले भने, ‘एक हप्ताभित्र कानुन मन्त्रालयलाई निर्मला पन्तको घटनाको सत्यतथ्य बाहिर ल्याउन समय दिन्छौं। त्यसपछि हामीले हाम्रो हिसाबले कारबाही प्रक्रिया अघि बढाउ“छौं।’
अर्का सांसद लालबहादुर खड्काले कञ्चनपुरमा हात्ती आतंकले किसानहरु मारमा परेको जानकारी गराउ“दै तत्काल हात्तीको आतंकबाट भइरहेको क्षति रोक्न आवश्यक कदम चाल्न सरकारसँग माग गरे। उनले शक्तिशाली ट्रच, दाउरा, ट्याक्टर बत्ती लगायतको नजिक हात्ती नआउने बताउ“दै भने, ‘प्रदेश सरकारले त्यहाँ जनतालाई यी सामान उपलब्ध गराओस्।’ उनले हात्तीले वर्षेनी धानबालीमा क्षति पुर्याइरहेकोले त्यसको दीर्घकालिन योजना बनाउन पनि आवश्यक रहेको बताए।
सांसद हर्कबहादुर बोहराले अछाममा पहिरोका कारण विस्थापित भएका परिवारले क्षतिपुर्ति पाउन नसकेको बताउ“दै राहत र क्षतिपुर्ति प्रदेश सरकारले तत्काल उपलब्ध गराउने वातावरण बनाउन माग गरे। उनले अछाम र बाजुरा जोड्ने सडक पनि पहिरोका कारण बिग्रेकोले मर्मतका लागि पहल गर्न आग्रह गरे।
सांसद शुशिला बुढाथोकीले हुलाकी सडकको अवस्था दयनीय बन्दै गएकोले मर्मतका लागि प्रदेश सरकारलाई चासो दिन आग्रह गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।