काठमाडौं– संस्थागत स्थिरताबिना कुनैपनि देशको विकास सम्भव नभएको सिंगापुर नेसनल विश्वविद्यालयका प्रध्यापक ग्यारी लिटले बताएका छन्। मदन भण्डारी फाउन्डेसनद्वारा काठमाडौँमा आयोजित एक कार्यक्रममा तेस्रो विश्वबाट सिंगापुरले विकासित हुँदै कसरी पहिलो विश्वमा आइपुग्यो भन्ने अनुभव सुनाउँदै प्रध्यापक लिटले उक्त कुरा बताएका हुन्।
‘फलफूल फलाउने ठाउँसम्म नभएको सिंगापुर आज विश्वबजारको केन्द्र भएको छ। राजनीतिक नेतृत्वमा देश विकासका लागि दृढ इच्छाशक्ति र सपना साकार बनाउने उत्कट चाहना हुनु पर्छ,’ लिटले भने, ‘त्यही इच्छा शक्ति र उत्कट चाहना लि क्यान युमा हुँदा सिंगापुर आज समृद्ध मुलुक बनेको छ।’ यु सिंगापुरका सुधारवादी नेता थिए, जसको नेतृत्वमा सिंगापुरले आर्थिक प्रगति हासिल गरेको होे। उनको २०१५मा निधन भएको थियो।
एक पुस्ताको प्रयासले मात्रैले पनि विकास देख्न सम्भव छ भन्ने उदाहरण पेस गरेको दक्षिण पूर्वी एसियाली मुलुक सिंगापुरमा हाल विश्वभरका ७ हजार बहुराष्ट्रिय कम्पनीहरु रहेका छन्। यस्तै, ४ हजार विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुको कार्यालय त्यहाँ रहेको लिटले जानकारी दिए।
‘ठूला देशहरुको भौगोलिक अवस्थितिबीच रहेको सिंगापुर एक टापु हो,’ उनले थपे, ‘यसरी शक्तिशाली छिमेकी देशहरुलाई व्यवस्थित गर्दै कसरी विकास गर्न सम्भव छ भन्ने जान्न मन भएमा सिंगापुर त्यसको सफल उदाहण हो।’
साम्राज्यवादी ब्रिटेनबाट शिक्षा, राष्ट्रिय नीति र व्यापारका विषयमा विरासतमा ज्ञान हासिल भएको बताउँदै उनले प्राप्त ज्ञानलाई राष्ट्र हितमा प्रयोग गर्दा नै सफलता प्राप्त भएको उनको भनाइ थियो। ‘आर्थिक समृद्धि हासिल गर्न भौगोलिक हिसाबमा देश ठूलो हुन पर्दैन,’ उनले भने, ‘साना देशहरुमा भौगोलिक कारणले लघुताभाष आउन हुँदैन। आज विश्वमा आर्थिक रुपमा सम्पन्न रहेका देशहरु स्वीजरल्यान्ड, लक्जम्वर्ग, सिंगापुर सबै साना देशहरु नै हुन्।’
नेपालको बढ्दो युवाशक्ति नेपालको समृद्धिको कारण हुुन सक्ने उनले बताए। विश्वमा हाल वृद्धहरुको जनसंख्या बढ्दै गएको छ। जापान, चीन, सिंगापुर जस्ता विकसित र विकाशील दुवै राष्ट्रहरुमा युवा जनशक्तिको संख्या घट्दो छ। नेपालमा रहेको युवा जनशक्तिको उचित व्यवस्थापन गर्न सक्ने हो भने नेपाल समृद्ध देश बन्ने उनले दावी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।