काठमाडौं– देशभर बलात्कारविरुद्ध आन्दोलन चर्किरहेका बेला राजधानीमै प्रति दुई दिनमा एक महिला बलात्कृत हुने गरेकाे तथ्यांक सार्वजनिक भएको छ। महानगरीय प्रहरी कार्यालयका अनुसार उपत्यकामा भदौं महिनामा १६ महिला बलात्कृत भएका छन्। साउनमा बलात्कृत हुने महिलाको संख्या २६ पुगेको देखिएको छ।
उपत्यकामा साउन र भदौंमा मात्र ४२ वटा बलात्कारका घटना भएको र तीमध्ये २८ घटना काठमाडौं जिल्लामा मात्र घटेका महानगरीय प्रहरीको तथ्यांकमा उल्लेख छ।
उपत्यकामा साउन महिनामा भन्दा भदौंमा बलात्कारका घटनामा कमी आएको देखिए पनि बलात्कारका घटना बढ्दो क्रममा रहेको छ। उपत्यकामा मात्र आर्थिक वर्ष २०७३/०७४ मा १ सय ३४ जना महिला बलात्कृत भएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ। गत आव २०७४/०७५ मा यो संख्या बढेर १ सय ८६ पुगेको छ। आव २०७३/०७४ मा काठमाडौं जिल्लामा मात्र १ सय १४ वटा बलात्कारका घटना भएका छन्।
यसैगरी आव २०७४/०७५ मा उपत्यकामा १ सय ४९ वटा बलात्कारका घटना भएको तथ्यांकमा उल्लेख छ। प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार आव २०७४/०७५ मा देशभर १ हजार ४ सय ८० महिलामाथि बलात्कार भएको छ।
निर्मला पन्तको बलात्कारपछि भएको हत्या र हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै देश आन्दोलनमा होमिएको छ। निर्मला पन्तको हत्या लगत्तै बलात्कारीविरुद्ध देशमा आक्रोशको आगो फैलिएको छ।
देशभर बलात्कार विरुद्धको आन्दोलन चर्किएपनि बलात्कारीको मनोबलमा भने कमी आएको देखाउँदैन। बलात्कारको डरलाग्दो श्रृङ्खलापछि बलात्कारीलाई फाँसी दिनुपर्ने आवाज उठिरहेकै समयमा बलात्कारका घटना बढ्दै जानुले राज्यको सुरक्षा संयन्त्रमाथि पनि प्रश्न चिन्ह खडा गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।