इटहरी- स्थानीय तह भएयता इटहरीमा पहिलो पटक विद्यालयहरुमा दरबन्दी मिलान गरिने भएको छ।
दरबन्दी मिलानका लागि प्रतिवेदन तयार गर्न १५ दिनको समयसीमा तोकेर शिक्षा महाशाखा प्रमुख भुपेन्द्र कोइरालाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ। दरबन्दी मिलान गर्दा ५० विद्यार्थी बराबर एक शिक्षक कायम गरिने कोइरालाले जानकारी दिए।
अहिले इटहरीका विद्यालयहरुमा विद्यार्थीहरुको अनुपातमा शिक्षक संख्या बढी रहेको पाइएको छ।
यसैगरी इटहरी उपमहानगरले संस्थागत विद्यालयले अनिवार्य दिनुपर्ने १० प्रतिशत छात्रवृत्तिलाई कडाइका साथ कार्यावन्यन गर्ने प्रक्रिया अघि बढाएको छ। त्यसका लागि जेहेन्दार, विपन्न, दलित, गरिब विद्यार्थीले छात्रवृतिका लागि उपमहानगरको शिक्षा महाशाखामा निवेदन दिने अवधि असोज १५ गतेसम्मका लागि थप गरिएको शिक्षा महाशाखाले जनाएको छ। यसअघि भदौ ३१ गतेसम्मका लागि समय तोकिएको थियो।
शिक्षा महाशाखामा आएका निवेदनहरु छानबिन गरी संस्थागत विद्यालयहरुलाई छात्रवृतिका लागि सिफारिस गरिने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।