बझाङ- अव्यवस्थित तरिकाले सडक निर्माण गरिँदा बझाङमा खेतीयोग्य जमिन मासिँदै गएको भन्दै स्थानीयले चिन्ता व्यक्त गर्न थालेका छन्।
जयपृथ्वी नगरपालिका, कैलाश तथा सदरमुकाम चैनपुरकै सबैभन्दा उर्वर क्षेत्र सुवेडा लगायत जिल्लाका १२ वटै स्थानीय तहमा १३५ वटा सडक खनिएका छन्। तर निर्माण कार्य समयमै नसक्दा सडक नजिकका खेतीयोग्य जमिनमा समेत असर परेको उनीहरुको भनाइ छ।
सडक निर्माणमा लागि जिल्लामा हाल ५३ वटा डोजर चलाइएको छ। ठेकदारहरुले डोजर चलाउँदा शुल्कसमेत आफूखुसी लिने गरेका छन्। प्रतिघन्टा ५ हजार छ भने कतै ७ हजारसम्म लिने गरिएको छ।
'मापदण्डविपरीत सडक निर्माणको काम रोकिनुपर्छ,' पाथिभेरा गाउँपालिका अध्यक्ष अक्कल धामी भन्छन्, 'अव्यवस्थित कटान हुँदा गाउँहरु नै जोखिममा परेका छन्।'
सदरमुखकामदेखि रुवतोलाको १८ किलोमिटर सडक खण्ड राजेन्द्र निर्माण सेवा प्रालिले २२ करोडमा ठेक्का लिएको छ। तर ६० प्रतिशत काम बाँकी नै छ।
चैनपुर सिमखेतदेखि सुर्मा दौलिचौर जोड्ने ३५ किलोमिटर सडकको अवस्था पनि उस्तै रहेको छ। लोहनी एन्ड ब्रदर्श कम्पनीले करिब ८ करोडमा ठेक्का लिएको यो सडक २०७६ असारमा सक्नुपर्ने सम्झौता छ। तर कछुवा गतिको निर्माण कार्यले सडक समयमै नसकिने निश्चित छ।
९० करोडको लागतमा सडक निर्माण थालिए पनि दीर्घकालीन असरबारे नसोचिँदा जनधनको थप क्षति हुन सक्नेमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।
सडक निर्माणका क्रममा बर्खाको बेला खेतबारीमा ढुंगामाटो बगेर आउँदा समस्या परेको खप्तड छान्ना गाउँपालिकाका स्थानीय तिलक खड्काले बताए।
गत बैसाखमा पानीले माटो बगाएर ल्याउँदा जयपृथ्वी नगरपालिकाको गुइयाँ खोलाले जिप बगाउँदा तीन जनाको ज्यान गएको थियो। त्यसयता पहिरोका कारण जिल्लामा १८ भन्दा बढीको ज्यान गएको छ। पहिरो जानुमा सडक निर्माणकै असर भएको जयपृथ्बी नगरपालिकाका १ का महेन्द्रबहादुर सिंह बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।